१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ पौष ४ आइतबार ०७:०२:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

२३ सयमा टेवा खोज्दै नेप्से : घट्दो बजारमा वित्त, जीवन बिमा र होटेल क्षेत्रमा लगानी बढाउँदै लगानीकर्ता  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ पौष ४ आइतबार ०७:०२:००

गत साता मंगलबार एकै दिन एक सय ३७ अंकले नेप्से बढेर लगानीकर्तामा आशा जगाएको बजारमा वृद्धि टिकाउन भएसँगै लगानीकर्ता अन्योलमा देखिएका छन् ।लगातार घटिरहेको नेप्सेले साता अन्त्यमा कायम गरेको बिन्दु करिब एक वर्षयताकै न्यून हो । यसअघि ८ माघ ०७७ मा नेप्से दुई हजार तीन सय ७४ बिन्दुमा थियो । गत साता अन्तिम दिन पनि नेप्से दुई हजार तीन सय ७६ मा आइपुगेको छ । यसअघि पनि नेप्सेले पटक–पटक दुई हजार तीन सय आसपासबाट टेवा पाएको थियो । नेप्से परिसूचकले अहिले यही बिन्दुमा टेवा खोजिरहेको छ । 

अर्थतन्त्रमा बाह्य दबाब परेको, सरकारले खर्च गर्न नसकिरहेका कारणसमेत बैंकिङ प्रणालीमा रहेको तरलतामा दबाब परेको, कर्जाको ब्याजदर बढिरहेको र लाभांश प्राप्त गर्ने अवसर घट्दै गएका कारण पनि बजारले सकारात्मक दिशा समात्न सकेको छैन । अर्कोतर्फ सत्ता साझेदार गरिरहेको दलबाट पुँजी बजारसमेत वित्तीय साम्राज्यवादको एउटा स्वरूप भएको र यसबाट धनीलाई थप धन जम्मा गर्ने आधार बनिरहेको टिप्पणीले पनि लगानीकर्ताको खस्किँदो मनस्थिति थप गिराएको छ । 

धेरैले यो अभिव्यक्तिको विरोध गरिरहेका भए पनि केहीले भने राम्ररी अध्ययन र विश्लेषणसहित गरिएको लगानीमा डराउनुपर्ने अवस्था नरहेको भन्दै लगानीकर्ताको हौसला बढाउने प्रयत्न गरिरहेका छन् । 

घट्दो बजारमा वित्त कम्पनी, जीवन बिमा र होटेल तथा पर्यटन क्षेत्रमा लगानी बढाउन खोजिरहेका देखिन्छन् । वित्त कम्पनी समूहको कारोबार रकम सबैभन्दा धेरै ३१ प्रतिशतले बढेर एक अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । होटेल समूहको कारोबार रकम ४ दशमलव ३४ प्रतिशतले बढेर आठ करोड ५२ लाख रुपैयाँ पुगेको छ । जीवन बिमा समूहको कारोबार रकम भने १ दशमलव ७५ प्रतिशतले बढेर ७२ करोड आठ लाख रुपैयाँको कारोबार भएको हो । समूहगत आधारमा भने निर्जीवन बिमाको परिसूचक सबैभन्दा धेरै ५ दशमलव ८० प्रतिशतले घटेको छ । सबै समूहगत परिसूचक घटेर कारोबार भएको छ । 

प्राविधिक विश्लेषण
बजार बुलिस प्रवृत्तिमा जाने प्रयास असफल भएको संकेत मैनबत्ती चित्रले देखाएको छ । साताको पहिलो तीन दिनमा सुरुका दुई दिन कालो (रातो) मैनबत्ती र तेस्रो दिन हरियो (सेतो) मैनबत्ती आकृति बनेको छ । हरियो मैनबत्तीको आकृतिले त्यसअघिका दुई दिनको रातो मैनबत्तीबीचको दूरीलाई ढाकेको छ । यसले डाउन साइड ग्याप थ्री मेथड्स आकृति बनाएको छ । यसले बजार घट्न सक्ने मध्यम संकेत गर्छ । सुरुका तीन दिन पनि चौथो दिन डोजी आकृति र त्यसपछि पुनः सानो शरीर भएको कालो मैनबत्ती आकृति बनेको छ । यसले बजार केही दिन थप घट्न सक्ने संकेत नै गरिरहेको छ । 

नेप्सेको आरएसआई सूचक स्केल ११ सम्म पुगेको भए पनि त्यसमा सुधारको प्रयास देखिएको छ । हाल यो सूचक २७ दशमलव ९८ मा छ । माग केही बढेको भए पनि अझै बजारमा अधिक बिक्रीकै अवस्था कायम रहेको यसले देखाउँछ । यो सूचक स्केल ३० मुनि भए बजारमा अधिक बिक्री रहेको, ३० देखि ७० सम्म रहे बजार सन्तुलित र ७० माथि भए बजारमा अधिक खरिद रहेको विश्लेषण गरिन्छ ।

नेप्सेको २१ दिने मुभिङ एभरेज रेखाले सातदिने रेखालाई काटेर माथि लागेकै अवस्थामा दूरी बनाइरहेको छ । यसले बजार बियरिस प्रवृत्तिमै रहेको संकेत गर्छ । यद्यपि, केही समय पर्खनु सही हुन्छ । यसमा चाँडो–चाँडो प्रवृत्ति परिवर्तन भइरहेकाले पनि यसलाई ध्यान दिनुपर्नेछ । 

पिभट विश्लेषणले भने आगामी साता दुई हजार दुई सय ६० मा पहिलो टेवा प्रप्त गर्न सक्ने र यसले बजार बढ्न थालेमा भने दुई हजार चार सय ९१ मा पहिलो प्रतिरोध हुने देखिएको छ ।