विराटनगरमा उपचार गराउन आएका बिरामीलाई ठग्ने विचौलियाहरूको बिगबिगी अझै निरुत्साहित हुन सकेको छैन। अस्पताल र औषधि पसलले दिने कमिसनका लागि उपचार गराउन आउने सोझा बिरामी ठग्नेहरूलाई मोरङ प्रहरीले पक्राउ गरी कारबाही गर्न थाले पनि यस्ता ठगहरुको बिगबिगी निरुत्साहित हुन सकेको छैन। राम्रो डाक्टर छ उपचार राम्रो हुन्छ, औषधी सस्तो पाईन्छ भन्दै आफ्नो सम्पर्कको अस्पताल र फार्मेसीमा लगेर ठगी गर्ने बिचौलियाहरू अझै सक्रिय छन्।
उपचार गराउन आएका बिरामी र आफन्तलाई ठगी गरेको आरोपमा प्रहरीले पछिल्लो पटक २९ मंसिरमा विराटनगर महानगरपालिका–७ बाट विराटनगर–१९ का ४६ वर्षीय विनोद राय, विराटनगर–५ का ६० वर्षीय रामा सुनुवार, ४५ वर्षीय दिलीप साह र विराटनगर–१२ का ३९ वर्षीय शिवकुमार कामतलाई पक्राउ गरेको छ। मोरङ प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार पक्राउ परेका विचौलियाहरू सबैलाई अभद्र व्यवहारमा मुद्दा दर्ता गराइएको छ। यसअघि चालू वर्षमा मोरङ प्रहरीले पटक–पटक गरेर १७ बिचौलियालाई पक्राउ गरेर कानुनी कारबाही गराइसकेको छ।
विराटनगरका निजी अस्पतालहरुले एम्बुलेन्स, अटोरिक्साचालक, विभिन्न हेल्थकेयर सेन्टर, उपचार क्लिनिक र औषधि पसलमा काम गर्ने बिचौलियाहरूलाई कमिसन दिएर बिरामी उपचारको बहानामा महँगो शुल्क असुल्ने गरेका छन्।