१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष २ शुक्रबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ पौष २ शुक्रबार १६:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अख्तियारको कार्यशैली फितलो बन्यो : पूर्वप्रमुख आयुक्त उपाध्याय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ पौष २ शुक्रबार १६:५९:oo

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले अख्तियारको कार्यशैली फितलो बन्दै जाँदा भ्रष्टाचार बढेको बताएका छन्। राष्ट्रिय बौद्धिक केन्द्र ललितपुरले शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भ्रष्टाचारको जरो उखेल्ने तागत अख्तियारले राख्न नसकेको टिप्पणी गरेका हुन्।

‘म आयुक्त हुँदा भ्रष्टाचारका कैयौँ पात्रलाई कारबाही गरेँ, तर भ्रष्टाचारको जालो निकै जेलिएको रहेछ। कतिलाई कारबाही गर्नु, थोरै भए पो कारबाही गर्न सकिन्छ,’ उनले भने, ‘जहाँतहीँ भ्रष्टाचार हुनु दुर्भाग्य हो।’ उनले पछिल्लो समय राज्यसत्ताबाटै कैयौँ भ्रष्टाचार र कानुनविपरीतका कामकारबाही भए पनि अख्तियारले जिम्मेवार भएर काम गर्न नसकेको बताए। संसद्को समिति, कार्यापालिका समिति र न्यायपालिकाभित्र भएका गलत क्रियाकलाप र भ्रष्टाचारलाई अख्तियारले छुने अधिकार नभएकोले ती क्षेत्रबाट बढी भ्रष्टाचार हुने गरेको उनको भनाइ छ।

केन्द्रका संयोजक पवन श्रीवास्तवले राजनीतिक अस्थिरताका कारण भ्रष्टाचार बढेको बताए। उनले सबैभन्दा बढी भ्रष्टाचार सरकारी निकायमा बढेकाले त्यसलाई रोक्न सरकार जिम्मेवार बन्नुपर्ने बताए। राजनीतिक व्यक्तिकै संरक्षण र संलग्नतामा ठुल्ठूला भ्रष्टाचार हुने भन्दै उनले सरकारको नेतृत्व गरेको पार्टी यसमा बढी जिम्मेवार हुनुपर्ने धारणा राखे।