१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर २८ मंगलबार
  • Monday, 30 September, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o७८ मङ्सिर २८ मंगलबार १५:१९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बसाइ सिन्धुपाल्चोक, नागरिकता काभ्रेको हुँदा स्थानीय पीडित

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o७८ मङ्सिर २८ मंगलबार १५:१९:oo

सुनकोसी बगरमा बालुवाको काम गर्ने सुन्दर माझीदम्पतीसँग काभ्रेपलाञ्चोक जिल्लाको नागरिकता छ । घरजग्गा र बसाइ सिन्धुपाल्चोकमा । घरजग्गाको लालपुर्जा छैन तिरो तिरेको रसिद मात्रै छ । उनको जग्गा कुनै गुठी वा सरकारी पनि होइन । जग्गाधनी प्रमाण नभएकाले उनलाई थुप्रै समस्या आइलाग्ने गर्छ ।

सुन्दरदम्पतीले जस्तै समस्या भोगिरहेका छन् यहाँका १२० घरपरिवारले । सिन्धुपाल्चोक र काभ्रे जिल्लाको दोसाँधमा रहेका बेलडाँडा, दोलालघाट, बन्देउटार र डुम्रेबेँसीका स्थानीयको पीडा दुवै जिल्लाले सुनुवाइ गरेको छैन । सुनकोसी र इन्द्रावती नदीले सिमाना बनाएको बीचको भागमा पर्ने यो क्षेत्र अरनिको राजमार्गभित्र र केही घर त्यसभन्दा माथि छन्। उनीहरूसँग नागरिकता, मतदाता, परिचयपत्र र तिरो तिरेको रसिद काभ्रेको छ, तर घरजग्गाको नक्सा भने सिन्धुपाल्चोकमा । सीमा विवादका कारण उनीहरूले भोगेको पीडा आफ्नो क्षेत्राधिकार भनेर दाबी गरिरहेका सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका र काभ्रेको भुम्लु गाउँपालिका दुवैले सुल्झाउन सकेका छैनन् । लालपुर्जा नहुँदा वर्षौँदेखि भोगचलन गर्दै आएको जग्गा बिक्रीमा समस्या आउने गरेको छ । पीडितले हलोपाटे र माटो मुरी बिजनका आधारमा भुम्लु गाउँपालिका गएर तिरो तिरिरहेका छन्।

यसरी सुरु भयो सीमा विवाद
स्थानीय प्रशासन ऐन २०२८ को दफा ३ ले दिएको अधिकार प्रयोग गरेर तुलसी गिरी प्रधानमन्त्री हुँदा ०३३ साल माघ २८ गते मन्त्रिपरिषद्को निर्णय राजपत्रमा प्रकाशित भयो। सुनकोसी र इन्द्रावती नदीलाई सिमाना मानेर वारिपारि सिन्धुपाल्चोक र काभ्रे हुने स्पष्ट निर्णय मन्त्रिपरिषद्ले गरेको थियो। ०३८ सालमा तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य गोविन्द उप्रेतीले मन्त्रिपरिषद्को निर्णयविपरीत ती गाउँलाई काभ्रेको भूभाग भनी दाबी गरे। तर, सरकारको निर्णयपछि स्थलगत अध्ययन र नापी गरेर २०४३ सालमा नापी महाशाखाले सुनकोसी र इन्द्रावती नदीवारिका बेलडाँडा, दोलालघाट, बन्देउटार र डुम्रेबेँसीलाई सिन्धुपाल्चोकको क्षेत्राधिकारभित्र राख्यो।

त्यसवेला सिन्धुपाल्चोक साँगाचोकका प्रधानपञ्च जनक गिरीले उप्रेतीसँग पटक–पटक संघर्ष गरे । आफ्नो क्षेत्राधिकारमा पर्ने भूमिबारे आवाज उठाउँदा उप्रेतीसँग उनको पटक–पटक झगडासमेत भयाे। तर, शक्तिको पछाडि सत्य पराजित भयो । ०४३ सालमा नापीले यी गाउँ सिन्धुपाल्चोकभित्र पर्छन् भनेर स्पष्ट नक्सा दिँदा पनि राष्ट्रिय पञ्चायतमा रहेका उप्रेतीले ०४५ सालदेखि कित्ता नापी गर्ने सरकारी अभियानलाई रोक्का गरिदिए । त्यसयता यो क्षेत्रमा थप कित्ता नापी भएको छैन ।

सीमा विवाद समाधान गर्न पहल गरिँदै
दोसाँधमा रहेका स्थानीयको पीडालाई महसुस गरेर जनक गिरीका छोरा रोशन गिरीले सीमा विवाद अन्त्य गर्न पहल सुरु गरेका छन्। उनको अभियानलाई जिल्लाले साथ दिएको छ। पीडित स्थानीयले सीमा विवाद छिट्टै वारपार हुनुपर्नेमा आशावादी देखिन्छन् । गिरीले पीडितलाई साथमा लिएर ०३३ सालको मन्त्रिपरिषद् निर्णय कार्यान्वयन गराउन जिल्लास्थित सबै सरकारी कार्यालय तथा राजनीतिक दलको ढोका ढकढक्याउन थालेको तीन वर्ष भयो। ‘सिमाना स्पष्ट भएकाले विवाद छिटो सल्टिनुपर्छ र पीडितले लालपुर्जा पाउनुपर्छ भन्ने हाम्रो भनाइ हो,’ गिरीले भने । पीडित बसिरहेको ठाउँ सिन्धुपाल्चोक भएकाले त्यहीअनुसार लालपुर्जा दिलाउन माग गर्दै भूमिव्यवस्था तथा सहकारीमन्त्री शशी श्रेष्ठ र पहल गरिदिन सभामुख अग्निप्रसाद सापकोटालाई अनुरोध गरेको उनले बताए । पीडितको आवाज सुनुवाइ भएन भने आन्दोलनमा जाने उनले चेतावनी दिएका छन्।