बागमती प्रदेशमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको छ। मन्त्रालय टुक्राएर १४ वटा बनाएपछि भने, पहिलोपटक मन्त्रिपरिषद् विस्तार गर्न लागिएको हो। सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) बीच भागबन्डा मिलाउन मन्त्रालय फुटाएरपछि मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्। मन्त्रीका आकांक्षीको नाम टुंगो लगाएर नियुक्तसँगै आज दिउँसो ५ बजेका लागि शपथग्रहणको तयारी अघि बढाइएको छ।
मन्त्री बन्ने दौडमा रहेका माओवादीबाट दोलखाका विशाल खड्का, चितवनका घनश्याम दाहाल र काभ्रेका रत्न ढकालले शपथग्रहण गर्ने बुझिएको छ। सरकारको नेतृत्व गरिरहेको नेकपा (एस) को तर्फबाट सिन्धुपाल्चोककी इन्द्रमाया गुरुङ, काभ्रेका वसुन्धरा हुमागाईं र काठमाडौंका वसन्त मानन्धरको चर्चा छ।
नेकपा एसबाट मन्त्री टुंग्याउने जिम्मा मुख्यमन्त्री पाण्डेलाई दिइएको छ। सत्तारुढ गठबन्धनमा रहेको कांग्रेसबाट भने, को–को मन्त्री बन्ने टुंगिएको छैन। कांग्रेसले महाधिवेशनपछि मात्र मन्त्रीको नाम ट्ंग्याउने भएपछि माओवादी केन्द्र र नेकपा एसले आफ्ना आकांक्षीहरूको नाम अघि सारेको छ। पहिलो चरणमा कात्तिक ११ गते चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेका पाण्डेले दोस्रोपटक कात्तिक २५ गते पुनः दुईजनालाई मन्त्री नियुक्त गरेका थिए।