मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर २८ मंगलबार
  • Thursday, 26 December, 2024
शंकरप्रसाद भेटवाल
२o७८ मङ्सिर २८ मंगलबार o६:४७:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

निर्वाचन आयोगका पदाधिकारीको आचारसंहिता

Read Time : > 2 मिनेट
शंकरप्रसाद भेटवाल
नयाँ पत्रिका
२o७८ मङ्सिर २८ मंगलबार o६:४७:oo

निर्वाचन आयोगका पदाधिकारीको आचरण खराब भयो भने खराब जनप्रतिनिधि चुनिन्छन्, जसबाट देश र जनताले दुःख पाउँछन्


आचारसंहिता भनेको नियमको संग्रह हो । जसले कुनै पनि निकायका पदाधिकारीको काम, कारबाही र व्यवहारलाई नैतिकवान् बनाउन सहयोग गर्छ । आचारसंहिताले विशेष रूपमा व्यवहारलाई नै इंगित गर्छ । कुनै पनि निकायमा काम गर्ने पदाधिकारीलाई निर्णय प्रक्रियामा दक्षता अभिवृद्धि गरी नैतिक बल प्रदान गर्न यसले प्रेरित गर्छ । आचारसंहिता सुशासन कायम गर्ने एउटा महत्वपूर्ण खम्बा हो । यसले सार्वजनिक सेवा प्रवाहमा समेत नैतिक आचरण कायम गर्न बल पुर्‍याउँछ । साथै यसले सरकारी पदाधिकारीलाई मानवअधिकार, कानुनी राज्य, उत्तरदायित्व र पारदर्शिता कायम गर्न सहयोग पुर्‍याउँछ ।

निर्वाचन आयोगको आचारसंहितामा के छ ? ः स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी, मितव्ययी तथा प्रभावकारी निर्वाचन व्यवस्थापन तथा सञ्चालनका माध्यमबाट सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न निर्वाचनप्रतिको जनआस्था, विश्वास र प्रतिष्ठालाई उच्च राख्न आयोगका पदाधिकारीको आचरण तथा व्यवहार विषयमा आधारभूत सिद्धान्त तथा मानक निर्धारण गरी अन्तर्राष्ट्रियस्तरका विकसित निर्वाचन व्यवस्थापनसम्बन्धी विद्यमान प्रचलन, व्यवहार, सिद्धान्त र निर्वाचनका मूल्य–मान्यतासमेतलाई समेटी पदाधिकारीको आचारसंहिता बनाउन वाञ्छनीय भएकाले भन्ने प्रस्तावनामै उल्लेख भएकाले आचारसंहिताको महत्व स्वतः प्रस्ट हुन्छ । निर्वाचन आयोगले आचारसंहितालाई ६ भागमा वर्गीकरण गरेको छ, स्वतन्त्रता, निष्पक्षता, निष्ठा, सदाचार, समानता, सक्षमता र लगनशीलतासम्बन्धी आचरणहरू । 

स्वतन्त्रतासम्बन्धी आचरण निर्वाचनमा प्रत्यक्ष वा परोक्ष रूपमा आउने प्रभाव, दबाब, भनसुन, धम्की आग्रह आदिबाट प्रेरित वा प्रभावित नहुने, दलसम्बन्धी विवादमा स्वतन्त्र रहने र विवादको स्वतन्त्र निरूपण गर्ने, आयोगको स्वायत्तता अभिवृद्धि गर्ने, आयोगप्रति आमजनतामा आस्था र विश्वसनीयता अभिवृद्धि गर्ने, आलोचक र प्रशंसाबाट टाढै रहने जस्ता व्यवहार पर्छन् । निष्पक्षतासम्बन्धी आचरणमा काम, कर्तव्य र अधिकारमा निष्पक्षता कायम गर्ने, निर्वाचनसँग सम्बन्धित सरोकारवालाको व्यवहार निस्पक्ष राख्ने, कोहीसँग पनि अनावश्यक सम्पर्क नबढाउने, सामाजिक सञ्जालमा कुनै टीका–टिप्पणी नगर्ने, निर्वाचन विवादलाई निष्पक्षसाथ निरुपण गर्ने, निर्वाचन कसुरमा कानुनको सही प्रयोग गर्ने, दल र उम्मेदवारलाई समान अवसर र व्यवहार गर्ने, कार्यपालिका र व्यवस्थापिका पदाधिकारी सदस्यसँग अनुपयुक्त सम्पर्क नगर्ने आदि पर्छन् ।

निष्ठासम्बन्धी आचरणमा राष्ट्रिय स्वाभिमानको संरक्षण गर्ने, राष्ट्रविरुद्ध हुने कुनै पनि क्रियाकलाप नगर्ने, सदैव राष्ट्र र जनताको बृहत् हितलाई ध्यानमा राख्ने आफ्नो व्यवहार अनिन्दनीय बनाउने, उच्च नैतिकताउन्मुख भई कार्य गर्ने निष्ठा र आचरणमा दृढ संकल्पित रहने आदि पर्छन् । सदाचारसम्बन्धी आचरणमा हरेक कार्य सदाचारपूर्वक गर्ने, निर्वाचनमा अनुचित कार्य हुन नदिने, आफूले निर्वाह गर्ने विषयबाहेक अन्यमा छलफल भेटघाट नगर्ने, कानुनबमोजिम व्यक्ति वा पारिवारिक आर्थिक कारोबार र स्वार्थबारे जानकारी राख्ने उचित प्रयास गर्ने, कुनै पनि किसिमले अनुचित प्रभाव पर्न नदिने, पदीय हैसियत दुरुपयोग नगर्ने, कर्तव्य पालनाबाहेक अन्यमा गोप्य सूचना चुहावट नगर्ने, पदाधिकारी र पदाधिकारीका परिवारले कुनै आतिथ्य स्वीकार गर्न वा दानदातव्य, उपहार, इच्छापत्र, ऋण वा आर्थिक वा नैतिक लाभ माग गर्न वा स्वीकार गर्न गराउन नहुने र अनुमति दिन पनि नहुने व्यवस्था गरिएको छ । 

सम्भावित असमान स्थितिप्रति सधैँ सचेत रहने, दल र उमेदवारमा समान व्यवहार गर्ने, कसैप्रति पनि पक्षपात वा पूर्वाग्रहपूर्ण व्यवहार नगर्ने, कसैलाई भेदभावपूर्ण व्यवहार नगर्ने, संविधान तथा कानुनतः सकारात्मक विभेदको नीतिबमोजिम गरिने व्यवहारबाहेक निर्वाचनमा घरेलु हिंसा र भेदभावका घटना लुकाउने, गोप्य राख्ने जस्ता कार्य नगर्नू, नगराउनु समानतासम्बन्धी आचरण हुन् । सक्षमता र लगनशीलता आचरणमा आयोगलाई स्वायत्त, सक्षम र सुदृढ बनाउने गरी काम गर्ने, व्यवस्थापन कार्यको कुशल सञ्चालनका लागि क्षमता अभिवृद्धि वा कार्यक्रम सञ्चालन गर्ने, निर्वाचनसम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा विकसित नवीनतम सिद्धान्तप्रति सुसूचित रहने, कार्य छिटो–छरितो गर्ने, सबैले शालीन, सौम्य र नम्र व्यवहार गर्ने जस्ता व्यवहार पर्छन् ।

आजको समाजलाई सर्वाधिक खाँचो भएको बिषय मानवीय आचरण नै हो । आचरण यस्तो अनुशासन हो, जुन प्रत्येक ज्ञान अनुशासनमा नितान्त रुपले आवश्यक पर्छ । आचरणविनाको जीवनको अर्थ हुँदैन । त्यसैले प्रत्येक सर्वसाधारणलाई त आचरणको विशेष महत्व छ भने सार्वजनिक ओहदामा बस्ने पदाधिकारीका लागि त आचरण झनै बढी महत्वपूर्ण हुन्छ । किनकि पदाधिकारीमा खराब आचरण भयो भने राष्ट्र र जनतामा नैराश्य उत्पन्न हुन्छ । झन् निर्वाचन आयोगका पदाधिकारीमा खराब आचरण भयो भने खराब जनप्रतिनिधि चुनिन्छन्, जसबाट देश र जनताले दुख पाउँछन् । त्यसैले आयोगका पदाधिकारीको आचरण राम्रो हुनुपर्छ । (भेटवाल नेपाल सरकारका पूर्वउपसचिव हुन्)