मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर २६ आइतबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर २६ आइतबार o७:४६:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

२४ सय अंकमा टेवा खोज्दै नेप्से : ‘पर्ख र हेर’को अवस्थामा बस्न उचित 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर २६ आइतबार o७:४६:oo

लगातार घट्दो प्रवृत्तिमा देखिएको नेप्सेले साताभरमा एक सय ३६ अंक गुमाएको छ ।  बिहीबार ५ दशमलव ८४ अंक गुमाएर दुई हजार चार सय ४९ बिन्दुमा आएपछि बजार बन्द भएको हो । घट्दो कारोबार रकमले लगानीकर्ता अझै ‘पर्ख र हेर’को अवस्थामा रहेको संकेत गर्छ । 

नेप्सेले हाल दुई हजार चार सयको बिन्दुमा टेवा परीक्षण गरिरहेको छ । यसअघि १ चैत ०७७ र १८ माघ ०७७ मा नेप्सेले दुईपटकसम्म यही बिन्दुमा टेवा पाएर केही समय बढ्न सफल भएको थियो । पहिलोपटक यो बिन्दुमा टेवा पाएर दुई सय अंक जोडेको थियो । त्यसपछिको सोभन्दा माथिल्लो तहमै पटक–पटक टेवा पाएर भने सात सय अंकसम्म बढ्न सफल भएको थियो । 

यस्तो समयमा अल्पकालीन रूपमा लगानी गर्नेहरूले केही समय पर्ख र हेरकै रणनीति अँगाल्नु सही हुन्छ । दीर्घकालीन लगानीकर्ताले भने क्रमिक रूपमा सानो–सानो परिमाणमा खरिददारी बढाउन सक्छन् । विशेषतः लाभांश प्राप्त गर्ने अवसर बाँकी रहेका र मूल्य सन्तुलित देखिएका कम्पनीहरूको खरिददारी बढाउनु सही हुन्छ । बजारका आधारभूत पक्षहरूमा भने खासै परिवर्तन नभएकाले पर्ख र हेरको रणनीति अख्तियार गर्नु सही हुने देखिन्छ । बैंक तथा वित्तीय संस्थाहरूमा तरलता दबाब कायमै रहेको, लाभांश प्राप्तको अवधि लगभग अन्त्य हुँदै गएकाले पनि यो रणनीति सही हुन्छ । 

साताभरमा भने कारोबार रकम १० दशमलव ४३ प्रतिशतले घटेर १७ अर्ब नौ करोड रुपैयाँमा सीमित भएको छ । एकै सातामा लगानीकर्ताको सम्पत्तिको मूल्य करिब दुई खर्बले घटेको छ । अघिल्लो साता अन्त्यमा ३६ खर्ब ३५ अर्ब रुपैयाँ रहेकोमा गत साता ३४ खर्ब ४४ अर्बमा सीमित भएको छ । 

सातामा सबै समूहगत परिसूचक घटेका छन् भने सबैभन्दा धेरै वित्त र व्यापारमूलक समूहमा गिरावट आएको छ । लक्ष्मी इक्विटी फन्डका लगानीकर्ताले सबैभन्दा धेरै करिब ८ प्रतिशत कमाएका छन् भने ग्लोबल आइएमई समुन्नत योजना १ का इकाइधनीले सबैभन्दा धेरै करिब ५० प्रतिशत गुमाएका छन् । 

७० करोड रुपैयाँको कारोबार भएको नेसनल हाइड्रो कारोबार रकमका आधारमा सबैभन्दा अग्रस्थानमा छ भने कारोबारमा आएका सेयर वा इकाइ संख्याका आधारमा ग्लोबल आइएमई समुन्नत योजना १ अग्रस्थानमा छ । ३० लाख ९० हजार इकाइ कारोबार भएको हो । 

बियरिस प्रवृत्ति थामिने प्रयास 
अल्पकालीन विश्लेषण औजार मैनबत्ती चित्रअनुसार गत बुधबारयता नेप्सेको बियरिस प्रवृत्ति थामिने प्रयासमा रहेको संकेत गर्छ । बिहीबार नेप्सेले डोजी मैनबत्ती आकृति बनाएको छ । यसले बजार घट्न थामिने संकेत गर्छ, तर यो मात्र दरिलो संकेत भने होइन । आइतबार बजार बढेर सेतो (हरियो) लामो शरीरसहितको मैनबत्ती आकृति बनेमा भने केही समय बजार बढ्न सक्ने संकेत गर्छ । 

दीर्घकालीन प्रक्षेपणको एक औजार मुभिङ एभरेज रेखाले भने नेप्से बियरिस प्रवृत्तिमै रहेको संकेत गर्छ । केही दिनअघि नेप्सेको सातदिने मुभिङ रेखालाई २१ दिने मुभिङ रेखाले काटेको छ भने यी दुई रेखाबीच दूरी नै कायम छ । छोटो–छोटो अवधिमा यसको प्रवृत्तिमा परिवर्तन हुन थालेकाले यसमा ध्यान दिन भने जरुरी छ । सातदिने रेखा माथि हुँदा बजार बुलिस रहेको मानिन्छ भने यदि २१ दिने रेखा माथि रहेमा बजार बियरिस प्रवृत्तिमा रहेको विश्लेषण गरिन्छ । 

१४ दिने आरएसआई सूचकले पनि पछिल्लो समय बजारमा अधिक बिक्रीको क्षेत्रमा आएको संकेत गर्छ । गत बिहीबार यो सूचक स्केलको ११ दशमलव ७५ बिन्दुमा छ । बुधबार यो ११ दशमलव ५८ थियो । यो स्केलमा माथि लाग्ने प्रयासमा छ । बजार यो अवधिको न्यूनतम बिन्दुमा आएकाले छिट्टै फर्किने प्रयासमा छ । यो सूचक स्केल ३० मुनि रहे बजारमा अधिक बिक्री भइरहेको, ३० देखि ७० मा रहे माग र आपूर्ति सन्तुलित र ७० माथि रहे अधिक खरिद क्षेत्रमा आएको विश्लेषण गरिन्छ । 

गत साताका लागि न्यून बिन्दु दुई हजार चार सय २८ बनाएको नेप्सेको पिभट विश्लेषणअनुसार आगामी एक सातामा दुई हजार तीन सय ९० मा पहिलो टेवा पाउनेछ । यसबाट टेवा पाएर बढेमा पहिलो प्रतिरोध दुई हजार पाँच सय ४८ हुनेछ ।