१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर २५ शनिबार
  • Saturday, 28 September, 2024
१४औँ महाधिवेशन उद्घाटनस्थल भृकुटीमण्डपमा कांग्रेस नेता–कार्यकर्ता  । तस्बिर : अमुल थापा/नयाँ पत्रिका
हिमाल पौडेल काठमाडाैं
दिपेश शाही काठमाडाैं
२o७८ मङ्सिर २५ शनिबार o६:११:oo
Read Time : > 7 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

देउवा–सिटौला एक ठाउँ, इतर समूह छलफलमै

Read Time : > 7 मिनेट
हिमाल पौडेल, काठमाडाैं
दिपेश शाही, काठमाडाैं
नयाँ पत्रिका
२o७८ मङ्सिर २५ शनिबार o६:११:oo

महाधिवेशन उद्घाटन मात्रै होइन, बन्दसत्र सकिँदासमेत संस्थापन र इतर समूहले पदाधिकारीका उम्मेदवारको टुंगो लगाउन सकेका छैनन्, देउवाले महामन्त्री र सहमहामन्त्री दिएर सिटौला समूहसँग सहमति गरेका छन्, तर आफ्नै समूहका अरू पदाधिकारीको टुंगो लगाउन सकेका छैनन्, इतर समूहले त सभापतिको साझा उम्मेदवारसमेत छान्न सकेको छैन

कांग्रेसको १४औँ महाधिवेशन भृकुटीमण्डपमा सुरु भएको छ । ‘उत्साह, एकता, रूपान्तरण : सफल बनाऔँ १४औँ महाधिवेशन’ भन्ने मूल नाराका साथ महाधिवेशन सुरु भएको हो । उद्घाटन सत्र सकिएपछि साँझ सुरु भएको बन्दसत्र राति नै सकिएको छ । 

महाधिवेशनको उद्घाटनमा देशका प्रमुख पार्टीका नेता, विदेशी प्रतिनिधि र कांग्रेसका शीर्ष नेताले सम्बोधन गरेका छन् । कांग्रेसले १४औँ महाधिवेशनबाट आगामी पाँच वर्षका लागि नेतृत्व चयन गर्दै छ । यसअघि नेतृत्व चयन र नीति तथा कार्यक्रम एकैपटक सम्पन्न गर्दै आएको कांग्रेसले यसपटक समय अभावको कारण देखाउँदै छुट्टाछुट्टै प्रक्रियाबाट टुंग्याउने निर्णय लिएको छ । 

पटक–पटक सर्दै आएको कांग्रेसको महाधिवेशन पाचौँपटकमा सुरु भएको हो । २० देखि २३ फागुन ०७२ मा तेह्रौँ महाधिवेशन गरेको कांग्रेसले विधानअनुसार २३ फागुन ०७६ मा चौधौँ महाधिवेशन गर्नुपर्ने थियो । तर, विधानमा व्यवस्था भएको विशेष अवस्थामा सभापतिले एक वर्ष लम्ब्याउन सक्ने प्रावधानअनुसार ७ देखि १० फागुन ०७७ का लागि मिति तोकेका थिए । क्रियाशील सदस्यता विवाद लम्बिएपछि कांग्रेसले संविधानमा भएको व्यवस्थाअनुसार ६ महिना सारेर ७ देखि १० भदौ ०७८ का लागि दोस्रोपटक मिति सारेको थियो । क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान हुन नसकेपछि पुनः १६ देखि १९ भदौका लागि तेस्रोपटक मिति तोकेको थियो । विवाद नसुल्झिएपछि कांग्रेसले पुनः चौथोपटक ९ देखि १३ मंसिर ०७८ का लागि मिति तोक्यो । अझै विवाद नसुल्झिएपछि २४ देखि २७ मंसिरमा महाधिवेशन सम्पन्न गर्ने अन्तिम कार्यतालिका सार्वजनिक गरेको थियो ।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति शेरबहादुर देउवाले आफूलाई पुनः नेतृत्वमा जिताउन महाधिवेशन प्रतिनिधिलाई अपिल गरेका छन् । आफू सभापतिमा निर्वाचित भए देश र जनतालाई अब पनि ‘ओली शासन’बाट मुक्त गराएर स्थानीय तहदेखि केन्द्रसम्म कांग्रेसको नेतृत्वमा सरकार बनाउने दाबी गरे । 

‘मेरो नेतृत्वको सरकार बन्नुअगाडिसम्म देशमा डरत्रास थियो । म प्रधानमन्त्री बनेको भोलिपल्टै सारा मान्छेले मुक्ति पाएजस्तो भयो । सबैले ओलीको शासनबाट मुक्ति पाए । अब हाम्रो अगाडि त्यो मुक्तिलाई बचाउने कि नबचाउने भन्ने प्रश्न छ । त्यो महाधिवेशनले तय गर्छ । महाधिवेशनले डरत्रासबाट मुक्त समाज र फेरि कुनै पनि किसिमबाट तानाशाही सरकार नआओस् भन्नका लागि निर्णय गर्नुपर्छ । निर्णय गरे आउँदो सरकार कांग्रेसको हुन्छ– गाउँदेखि माथिसम्म । त्यो मेरो जिम्मा भयो,’ उनले भने । 

देउवाले आगामी निर्वाचनमा जितका लागि महाधिवेशन सबै किसिमका मनमुटावबाट मुक्त हुनुपर्ने अवस्था रहेको बताए । ‘अहिले हाम्रो आन्तरिक निर्वाचनले आउने स्थानीय तहको निर्वाचन र राष्ट्रिय तहको निर्वाचनमा समस्या नआओस् । त्यसका लागि अहिलेदेखि नै हामीले मिलेर अगाडि बढ्नु छ । अहिले कांग्रेस सरकार रहिरह्यो भने स्थानीय सरकार कांग्रेसको हुनेछ, राष्ट्रिय सरकार कांग्रेसको हुनेछ । त्यसका लागि मलाई यसपटक जिताइदिनुहोस् । कुनै पनि हालतमा डरत्रासबाट मुक्त शासन ल्याएरै छाड्छु । ओली शासनजस्तो डरत्रासबाट मुक्त गराएर निर्धक्क कांग्रेसको सरकार बनाउँछु, हामी बनाउँछौँ । तपाईंहरू मलाई साथ दिनुहोस्,’ उनले भने । 

वरिष्ठ नेता रामचन्द्र पौडेलले अब कार्यकर्ताले पनि नेतृत्वको मूल्यांकन गर्ने हैसियत राख्नुपर्ने बताए । ‘कांग्रेस बहुसंख्यक जनताको प्रतिनिधि पार्टी भएकाले बहुसंख्यक मतदाताको मत प्राप्त गर्ने हैसियतमा रहनुपर्ने हो । तर, किन ३०, ३१ प्रतिशतभन्दा माथि हाम्रो हैसियत बढ्न सकेन ? हाम्रा राम्रा सिद्धान्त छन् । आजको युगको सिद्धान्त नै लोकतन्त्र हो । लोकतन्त्रको विकल्प छैन । लोकतन्त्रको विकल्प त उन्नत लोकतन्त्र हो । त्यस्तो लोकतन्त्रको सिद्धान्तका लागि लडेको हाम्रो पार्टी किन पछाडि छ भनेर आत्मसमीक्षा गर्न जरुरी छ,’ पौडेलले भने, ‘हामीभित्रका कुन कमजोरीले पछाडि पारेको छ ? त्यसको समीक्षा गर्ने साहस गर्नुपर्छ । हामीले पार्टीभित्र मूल्यांकनको परिपाटी बसाल्नुपर्छ । नेतृत्वले कार्यकर्ताको मूल्यांकन गर्नुपर्छ । तर, कार्यकर्ताले पनि नेतृत्वको मूल्यांकन गर्ने हैसियत राख्नुपर्छ । नेताको मूल्यांकन गर्ने साहस र आँट भयो भने हामी अगाडि बढ्न सक्छौँ ।’ 

उपसभापति विमलेन्द्र निधिले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई लिकमा ल्याउन निर्वाचनमा कांग्रेस विजयी हुनुपर्ने बताए । ‘१४औँ महाधिवेशनपछि सबैभन्दा महत्वपूर्ण जिम्मेवारी आगामी निर्वाचनमा सबै तहमा नेपाली कांग्रेसको एकलौटी सरकार बनाउने हो । हामी सबै तहमा कांग्रेसको सरकार बनाउन चाहन्छौँ । आगामी चुनावमा नेपाली कांग्रेसलाई विजयी गराउनु नै १४औँ महाधिवेशनको सार्थकता र सफलता रहनेछ,’ उनले भने ।

महामन्त्री डा. शशांक कोइरालाले नीतिलाई छाडेर नेतृत्वका विषयमा मात्रै महाधिवेशन हुनु सही नभएको बताए । ‘नयाँ रक्तसञ्चार गर्न हामीले महाधिवेशन गर्छौं । तर, दुर्भाग्यवश अहिले पनि हामी अधिवेशन गर्दा खालि नेतृत्वको विषयमा मात्र कुरा गर्छौं, नीतिको बारेमा गर्दैनौँ । यो अधिवेशन गर्नुभन्दा अगाडि हामीले सोच्नुपथ्र्याे, हाम्रो रणनीति के हो ? हामी कतातिर गइरहेका छौँ ? हाम्रो शक्ति के छ ?’ उनले भने, ‘६० प्रतिशत व्यक्ति ४० वर्षमुनिका छन्, यही हाम्रो शक्ति हो । उनीहरूलाई कसरी समृद्ध देश बनाउन प्रयोग गर्ने भन्नेबारे सोच्नुपर्ने हो । सिद्धान्तको लडाइँ नयाँ संविधान आएसँगै समाप्त भयो । त्यही संविधानमा अडेर हामी अगाडि बढ्नुपर्छ ।’

पूर्वमहामन्त्री कृष्ण सिटौलाले राजनीतिक वृत्त मैलो भएकाले सफा गर्ने मूल दायित्व कांग्रेसको काँधमा रहेको बताए । ‘लोकतन्त्र र लोकतान्त्रिक शासन पद्धतिको रक्षाका लागि पार्टीभित्र आचरण, व्यवहार, शैली र पार्टीभित्र हुने मूल्यांकन पद्धति सुधारकोे आवश्यकता छ । हामीले पार्टीलाई जनताको नजरमा सुधार गरेर नयाँ भरोसा र नयाँ आशाको केन्द्रबिन्दुमा राख्न सक्नुपर्छ,’ उनले भने, ‘हामी कांग्रेसमा संगठित भएको कांग्रेसमार्फत राष्ट्रको सेवा गर्न, जनतालाई सेवा दिन र जनतालाई बलियो बनाउन हो । जनताको अधिकार बलियो बनाउनु हाम्रो पार्टीको अभियान हो । निजी स्वार्थबाट माथि उठ्न सक्यौँ भने देश कांग्रेस पार्टीले राम्रै बनाउनेछ । अरूले बनाउन सक्दैनन् ।’ 

नेता विजयकुमार गच्छदारले पार्टीभित्र प्रतिशोधात्मक प्रतिस्पर्धा देखिएको भन्दै गुनासो गरे । ‘मैले तीन वर्षअगाडि दुइटा नेतालाई एकताको सन्देश दिनुस्, एकता भएन भने कांग्रेसले कम्युनिस्टसँग मुकाबिला गर्न सक्दैन त्यसैले प्रतिशोधात्मक प्रतिस्पर्धा नगर्नुस् भनेको थिएँ । तर, दुःखका साथ भन्नुपर्छ, अहिले कांग्रेसभित्र प्रतिशोधात्मक प्रतिस्पर्धा देखिएको छ,’ उनले भने, ‘नेताहरूलाई स्वस्थ प्रतिस्पर्धा गरेर पार्टीभित्र लोकतान्त्रिक र स्वस्थ प्रतिस्पर्धा स्थापना गर्दिनुस् । प्रतिशोधात्मक प्रतिस्पर्धा गरेर नेपाली कांग्रेसलाई छताछुल्ल नबनाउनुस् ।’ 

बन्दसत्रमा तीनवटा प्रतिवेदन पारित
उद्घाटन सत्र सकिएपछि राति ९ बजेदेखि सुरु बन्द सत्रले तीनवटा प्रतिवेदन पारित गरेको छ । पार्टी उपसभापति विमलेन्द्र निधिले पेश गरेको नीति, प्रशिक्षण तथा अनुसन्धान प्रतिष्ठानको प्रतिवेदन, महामन्त्रीद्वय पूर्णबहादुर खड्का र शशांक कोइरालाको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष सीतादेवी यादवले पेश गरेको लेखा समितिको प्रतिवेदन पारित गरेको हो । 

तीनवटै प्रतिबेदर पारित गरेर बन्दसत्र सकिएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । वरिष्ठ नेता पौडेल पक्ष सस्थापनइतरबाट सभापतिको साँझा उम्मेदवार तय गर्न छलफलमा जुटेकाले बन्दसत्रमा उपस्थित भएन । 

शुक्रबारै महाधिवेशन प्रतिनिधिहरूको अन्तिम नामावली पनि प्रकाशित भएको छ । देशभरका १६५ निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्क गरी कुल चार हजार सात सय ४३ महाधिवेशन प्रतिनिधि छन् ।

महाधिवेशनको समय तालिकाअनुसार शनिबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवार मनोनयन दर्ता, साँझ ५ देखि ७ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ तथा साँझ ७ देखि ९ बजेसम्म दाबी विरोधउपर निर्णय हुने निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार उम्मेदवारको पहिलो नामावली प्रकाशन साँझ ९ बजेदेखि १२ बजेसम्म हुनेछ । आइतबार बिहान ११ बजेसम्म मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने छ भने दिउँसो १२:१५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । मंगलबार बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ । सबै पदाधिकारीका लागि मतदान सकिएपछि मतगणना सुरु हुनेछ । 

निर्वाचन समितिका अनुसार पहिलो चरणमा सभापतिमा ५१ प्रतिशत मत प्राप्त हुन नसकेर दोस्रो चरणको निर्वाचन गर्नु पर्ने अवस्था आए पहिलो चरणको मतगणनालगत्तै राष्ट्रिय सभा गृह र भृकुटी मण्डपमा पुनः मतदान हुनेछ । दोस्रो चरणको निर्वाचन सम्वन्धी थप कार्यक्रम मतदान स्थलमै जानकारी गराईनेछ । समितिले सभापति वाहेकका पदाधिकारी र सदस्यहरूको मतगणना कांग्रेस केन्द्रीय कार्यालय सानेपामा हुने जानकारी दिएको छ । 

कांग्रेस निर्वाचन समितिले महाधिवेशनका उम्मेदवार र प्रतिनिधिका लागि आचारसंहिता यसअघि नै जारी गरिसकेको छ । समितिले मतदानस्थलमा मोबाइल लैजान नपाउने लगाायतका प्रावधान सहितका आचारसंहिता जारी गरेको थियो । समिति संयोजक गोपालकृष्ण घिमिरेले जारी गरेको आचारसंहितामा उम्मेदवारीको प्रचार प्रसार गर्नु पर्दा भिजिटिङ कार्ड र सामान्य अपिल वितरण मात्र पाईने उल्लेख छ । त्यस्तै, व्यक्तिगत चरित्रमा लान्छना लाग्ने गरी प्रचार गर्न र शान्तिपूर्ण तरिकाले निर्वाचन प्रचार गर्न समितिले अनुरोध गरेको छ । 

निर्वाचन प्रक्रिया सुरु, आज उम्मेदवार मनोनयन दर्ता
१४औँ महाधिवेशनबाट निर्वाचित हुने १३ पदाधिकारीसहित कुल एक सय ३४ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार शुक्रबार साँझ मतदाताको अन्तिम नामावली (चार हजार ७४३ जना) प्रकाशित भइसकेको छ । शनिबार उम्मेदवार मनोनयन दर्ताका लागि बिहान १० देखि साँझ ५ बजेसम्मको समय तोकिएको छ । 

उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ शनिबार साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय शनिबार साँझ ७ देखि ९ बजेसम्म हुनेछ । उम्मेदवारको पहिलो नामावली प्रकाशन शनिबार राति ९ देखि १२ बजेसम्म, मनोनयनपत्र फिर्ता लिइसक्नुपर्ने समय आइतबार बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन आइतबार दिउँसो १२ः१५ बजे र मतदान सोमबार बिहान ८ बजेदेखि हुनेछ । 

कांग्रेसले केन्द्रीय पदाधिकारीको निर्वाचनका लागि २९ प्रकारका मतपत्रको व्यवस्था गरेको छ । मतदानका क्रममा सयभन्दा बढी उम्मेदवार रहने भएकाले मतदान गर्न एक व्यक्तिलाई एक घन्टाभन्दा बढी समय लाग्ने अनुमान छ । शनिबार उम्मेदवारी प्रक्रिया टुंग्याइनेछ भने आइतबार मतदान र मतगणनाको कार्यक्रम छ । भृकुटीमण्डपमा उद्घाटन गरेपछि केन्द्रीय पदाधिकारीका लागि मतदान भृकुटीमण्डप, महेन्द्र पुलिस क्लब र राष्ट्रिय सभागृहमा गर्ने कार्यतालिका छ । 

मतदान समाप्त भएपछि सभापति पदको मतगणना हुनेछ । सभापति पदको दोस्रो चरणको निर्वाचन गर्नुपर्ने भएमा राष्ट्रिय सभागृह, भृकुटीमण्डपमा लगत्तै गरिनेछ र सो निर्वाचनसम्बन्धी थप कार्यक्रम मतदानस्थलमा नै प्रकाशन गरिनेछ । सभापतिबाहेक अन्य पदाधिकारी र सदस्य पदको मतदान समाप्त भएपछि उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिको रोहवरमा मतपेटिका सिलबन्दी गरी पार्टी केन्द्रीय कार्यालयमा सुरक्षित राखिनेछ । सभापति पदबाहेक बाँकी पदाधिकारी र सदस्यको मतगणना केन्द्रीय कार्यालय सानेपामा हुनेछ ।

कांग्रेस महाधिवेशनमा चार हजार सात सय ४३ मतदाता
कांग्रेसको १४औँ महाधिवेशनका लागि चार हजार सात सय ४३ मतदाता तय भएका छन् । कांग्रेसको निर्वाचन समितिले निर्वाचन कार्यतालिकाअनुसार शुक्रबार साँझ महाधिवेशनका लागि मतदाताको अन्तिम नामावली प्रकाशित गरेको छ ।

काठमाडौँ समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार अन्तिम नामावली सूचीमा देशभरिबाट निर्वाचित प्रतिनिधिहरू, भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिसमेत गरी मतदाताको संख्या चार हजार सात सय ४३ पुगेको हो ।

यसअघि बुधबार कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पार्टीको वेबसाइटमार्फत चार हजार तीन सय १९ जना महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक गरेको थियो । कांग्रेसका महाधिवेशन प्रतिनिधिले पार्टीको केन्द्रीय नेतृत्व चयन गर्छन् ।

सिटौला समूहलाई महामन्त्री र सहमहामन्त्री दिन देउवा तयार

कांग्रेस महाधिवेशनमा वर्तमान सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला समूहबीच सहकार्यको प्रारम्भिक सहमति बनेको छ । सिटौला समूहलाई महामन्त्री र सहमहामन्त्री दिन देउवा तयार भएका छन् । सिटौलाले महामन्त्रीमा युवानेता प्रदीप पौडेल र सहमहामन्त्रीमा उमाकान्त चौधरीलाई अघि सारेका छन् । 

१३औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बनेका सिटौलाले दोस्रो चरणमा निर्वाचन गएपछि देउवालाई सघाएका थिए । उनकै सहयोगमा देउवा सभापति बनेका थिए । महामन्त्री र सहमहामन्त्रीसहित सदस्यहरू लिएर देउवाको समूहसँग सहकार्यको अन्तिम टुंगो लागेमा सिटौला यसपटक उम्मेदवार बन्नेछैनन् । 

स्रोतका अनुसार महामन्त्री र सहमहामन्त्रीको प्रारम्भिक सहमति हो, सिटौलाले अन्य सदस्यबारे पनि प्रस्ट सहमति गर्नुपर्ने प्रस्ताव गरेका छन् । तर, यसबारे देउवाले निर्णय दिएका छैनन् । ‘महामन्त्री र सहमहामन्त्रीका विषयमा एक किसमको छलफल–सहमति भएको हो । तर, त्यो अन्तिम हो भन्न सकिन्न । किनभने, सदस्यका विषयमा कुरा मिलेन भने दुईजना पदाधिकारी मात्रै जाने कुरा पनि हुँदैन,’ सिटौलानिकट एक नेताले भने । स्रोतका अनुसार शुक्रबार बिहान सभापति देउवाले यस विषयमा नेता सिटौलासँग छलफल गरेका थिए । त्यही प्रारम्भिक सहमति बनेको थियो ।

महामन्त्रीका लागि संस्थापन खेमामै नेताहरूबीच चर्को प्रतिस्पर्धा छ । डा. प्रकाशशरण महत, बालकृष्ण खाड, एनपी सावद, ज्ञानेन्द्रबहादुर कार्की, विश्वप्रकाश शर्मालगायतले महामन्त्रीमा दाबी गरेका छन् । त्यस्तै, आठ सहमहामन्त्रीका लागि झन्डै दुई दर्जन नेताहरूले दाबी गरिरहेका छन् । दुई महामन्त्रीमा एक सिटौला खेमालाई दिँदा आफ्नो समूहमा नेताहरूलाई व्यवस्थापन गर्न देउवालाई झन् धेरै सकस हुने देखिन्छ । कांग्रेस विधानमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ । कोषाध्यक्ष भने केन्द्रीय सदस्यहरूले आफूमध्येबाट निर्वाचित गर्ने व्यवस्था छ । 

इतर समूहमा भएन  सहमति, आज फेरि छलफल

इतर समूहले अझै सभापतिको साझा उम्मेदवार चयन गर्न सकेको छैन । बरु, नेताबीच तिक्तता बढ्दै छ । शुक्रबार साँझ भएको छलफलमा पनि नेताहरू सहमतिमा आउन सकेनन् । सभापतिमा दाबी गरिरहेका प्रकाशमान सिंह र डा. शेखर कोइरालाले पछि नहट्ने अडान राखेपछि शुक्रबार ‘राजनीतिबाटै बिदा लिन्छु’ भन्दै नैराश्य प्रकट गरेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई शनिबार बिहान केही युवा नेताले ‘अघि बढ्न’ ढाडस दिएका छन् । तर, उनी सहमतिमा मात्रै अघि बढ्न चाहेका छन् । पौडेलका लागि मैदान खाली गर्न सिंह तयार छैनन् ।

शुक्रबार साँझ अनुपम फुड ल्यान्डमा भएको छलफलमा नेता सिंहले आफू कुनै पनि हालतमा पछि नहट्ने बताएका छन् । उनको अडानले रुष्ट बनेका नेता शेखर बैठक नै छाडेर हिँडेका थिए । पछि गगन थापालगायत नेताको आग्रहमा उनी फर्किएका थिए । स्रोतका अनुसार शेखरले पनि वरिष्ठ नेता पौडेलको नाममा सहमति जनाउने संकेत गरेका छन् । तर, प्रकाशमान अझै अडिग छन् । इतर समूह एक भएर चुनावी प्रतिस्पर्धामा जान्छ वा टुक्रिएर भन्ने यकिन भइसकेको छैन । यो समूहले पदाधिकारीका अन्य उम्मेदवारबारे अझै छलफल नै गरेको छैन ।