नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा रक्षामन्त्री मीनेन्द्र रिजालले कांग्रेसमा हारेपछि विकल्पको नेता बन्ने सोचले काम गरेको बताएका छन्। उनले संस्थापनइतर समूहबाट साझा उम्मेदवार तय हुन नसकेको विषयलाई लिएर यस्तो बताएका हुन्।
पत्रकार भेटघाटमा उनले संस्थापनइतर पक्षबाट साझा उम्मेदवार तय हुन नसक्दा नेतृत्वको खोजी भइरहेको बताए। ‘मैले मभन्दा माथिका नेताहरूलाई अपमानित गर्न खोजेको होइन। म शिर खोजिरहेको छु,’रिजालले भने,‘कांग्रेसमा विकल्पको नेता हारेपछि हुँदोरहेछ। शेरबहादुर देउवा र रामचन्द्र पौडेल चाहिन्छ, नत्र कांग्रेस चल्दैन भन्ने होइन सिटौला पनि चाहिन्छ भन्ने जुन भाष्य चलेको छ काहीँ न काहीँ अर्धचेतन मनमा त्यो भएर हामीले एक अर्कालाई स्वीकार गर्न नसकेर एउटा शिर निर्माण गर्न नसकेका हौँ कि जस्तो लाग्छ।’
रिजालले पार्टी सभापति शेरबहादुर देउवाको विकल्प दिन इतर समूहबाट साझा उम्मेदवार तय गर्ने प्रयास अझै जारी रहेको बताए। तर, नेताहरूको आपसी अडानका कारण इतर समूहबाट साझा उम्मेदवार तय हुन नसकेको उनको भनाइ थियो।
‘देउवाइतरको नियति कस्तो खालको देखिन थाल्यो भने, नमिल्यो भने आफू फस्ट भइँदैनजस्तो छ। सेकेन्ड राउन्ड त जान्छ नै। सेकेन्ड राउन्ड गयो भने मै पो हुन्छु कि भन्ने एउटा अथवा सेकेन्ड राउन्ड गयो भने पनि देउवाको भूमिकामा नभए पनि रामचन्द्र पौडेल वा कृष्ण सिटौलाको भूमिकामा पुग्नुपर्छ भन्नेजस्तो देखियो,’ रिजालले भने।
कुराकानीका क्रममा उनले सभापतिको मतगणनापछि देउवा निवर्तमान हुने दाबी गरे। यसका लागि इतर समूहबाट साझा उम्मेदवार उठाउने प्रयास अन्तिमसम्म पनि रहने उनको भनाइ थियो। साथै उनले महाधिवेशनपछि नयाँ अनुहारका साथ ताजा जनादेशमा जानुपर्ने बताए। पुरानै अनुहार देखाएर आमनिर्वाचनमा होमिने अवस्था नरहेकाले कांग्रेसमा नेतृत्व परिवर्तन अनिवार्य रहेको जिकिर गरे। ‘अहिले देखिएको अनुहार लिएर आमजनतामा जाने अवस्था छैन। निर्वाचनमा जाँदा कांग्रेसको फरक खालको अनुहार देखिनुपर्छ नभए पत्याँउदैनन। त्यसैले पार्टीको नेतृत्वमा परिवर्तन हुनुपर्छ। हिजोका सबै परिस्थिति परिवर्तन भइसकेको छन्,’उनले भने।
देउवा नेतृत्वको वर्तमान सरकार संक्रलमणकालीन सरकारको रूपमा परिणत भइसकेको उनको भनाइ थियो।‘कानुनी र प्राविधिक रूपले होइन राजनीतिक रूपमा यो सरकार संक्रमणकालीन सरकार भइसकेको छ। एउटा आदेश दिएर प्रतिनिधिसभा आएको थियो। त्यो आदेश बोकेर आएका पार्टीहरू पनि सग्लो रहन सकेनन्। जनताबाट ने आदेश आएको थियो त्यो छिन्नभिन्न भएको छ। त्यसैले कसको भागमा कति प्रतिशत जनादेश छ भन्ने थाहा छैन।’