मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर २४ शुक्रबार
  • Wednesday, 18 December, 2024
अजित अधिकारी काठमाडाैं
२o७८ मङ्सिर २४ शुक्रबार o९:२९:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

उखुको मूल्य प्रतिक्विन्टल ६ सय ५० रुपैयाँ तोक्न किसानको माग

Read Time : > 2 मिनेट
अजित अधिकारी, काठमाडाैं
नयाँ पत्रिका
२o७८ मङ्सिर २४ शुक्रबार o९:२९:oo
  • तीन वर्षदेखि मूल्य निर्धारण रोकिएकाले यस वर्ष ठूलो अन्तरले बढाउनुपर्ने उखु किसानको माग
  • तीन वर्षअघि प्रतिक्विन्टल पाँच सय ३६ निर्धारण गरिएकोमा गत वर्ष जम्मा पाँच सय ४४ पुर्‍याइयो

यस वर्षका लागि उखुको न्यूनतम समर्थन मूल्य ६ सय ५० रुपैयाँ प्रतिक्विन्टल गर्न उखु किसानहरूले माग गरेका छन् । सरकारले उखुको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने गृहकार्य अघि बढाइरहेको मौकामा किसानहरूले आफ्नो माग अघि बढाएका हुन् । कृषि तथा पशुपक्षी विकासमन्त्री महेन्द्र राय यादवले बिहीबार उखु किसानका प्रतिनिधिसँग छलफल गरी मूल्य निर्धारणको प्रक्रिया अघि बढाएका हुन् । छलफलमा मन्त्री यादवले किसान तथा चिनी उद्योगीको सुझाब र मन्त्रालयले गरेको अध्ययनका आधारमा उखुको न्यूनतम समर्थन मूल्य सिफारिस गर्ने जानकारी दिए । कृषिले लागत मूल्यांकन यकिन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सिफारिस गर्नेे र उद्योग मन्त्रालयले मन्त्रिपरिषद्मा निर्णयका लागि पठाउने व्यवस्था छ ।

मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले एक हप्ताभित्रै उखुको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने गरी गृहकार्य भइरहेको बताए । ‘चिनी उद्योगीले उखु क्रसिङ गर्ने वेला भइसकेको बताउँदै छिटो मूल्य निर्धारण गर्न आग्रह गरेका छन्,’ सञ्जेलले भने, ‘आवश्यक गृहकार्य सकेर एक हप्ताभित्र मूल्य निर्धारण हुने अपेक्षा छ ।’

उखु उत्पादक कृषक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले तीन वर्षदेखि मूल्य निर्धारण रोकिएकाले यो वर्ष ठूलो अन्तरले बढाउनुको विकल्प नरहेको बताए । ‘तीन वर्षअघि उखुको न्यूनतम समर्थन मूल्य पाँच सय ३६ रुपैयाँ थियो । यसलाई धिमा गतिमा बढाएर गत वर्ष पाँच सय ४४ रुपैयाँ पुर्‍याइएको थियो,’ मैनालीले भने, ‘हामीले गत वर्षसम्म घाटा खाएरै उखु बेचेका हौँ, तर अब त लागत उठाउन भए पनि प्रतिक्विन्टल ६ सय ५० रुपैयाँ तोकिनुपर्छ ।’

उनले चिनीको बढ्दो भाउको हिस्सा किसानसम्मलाई वितरण गर्ने गरी प्रणाली विकास गर्ने हो भने आफूहरूले मागेको रकम दिन कुनै समस्या नहुने उनले बताए । त्यस्तै लागत पनि बढ्दै गएकाले साबिकको तुलनामा प्रतिक्विन्टल एक सय रुपैयाँसम्म मूल्यवृद्धि हुनुपर्ने उनको भनाइ छ । ‘दुई वर्षअघि उखु काट्ने मजदुरलाई दैनिक ८ घन्टा काम गर्दा चार सय २० रुपैयाँ ज्याला निर्धारण भएको थियो । यो वर्षका लागि पाँच सय २८ रुपैयाँ ज्याला निर्धारण भएको छ,’ मैनालीले भने । उनका अनुसार उखु ढुवानी लागत पनि प्रति १० किलोमिटरको ४० रुपैयाँ प्रतिक्विन्टल पुगेको छ । दुई वर्षअघि यस्तो लागत २५ रुपैयाँ प्रतिक्विन्टल थियो । चिनीको बढेको भाउको ७० प्रतिशतसम्मको हिस्सा किसानले पाउनुपर्ने, ९० प्रतिशत भ्याट फिर्ताको रकम पनि बढ्नेलगायतका कारण प्रतिक्विन्टल ६ सय ५० रुपैयाँसम्म मूल्य निर्धारण हुनुपर्ने आवाज उठाएको मैनालीले जानकारी दिए ।

उखु र चिनी उत्पादनमा ह्रास
चार वर्षअघि मुलुकभर दुई करोड ९० क्विन्टल उखु उत्पादन भएको थियो । त्यस लगत्तै चिनी उद्योगले समयमै भुक्तानी दिन ढिलाइ गरे, जसकारण पाकिस्तानबाट समेत सस्तो चिनी आएर नेपाली बजारले प्रतिस्पर्धा गर्न सकेन । त्यसपछि आयातमा कडाइ गरेर भए पनि स्वदेशी चिनी बिक्री गरिएको थियो । उद्योगीको चिनी भए पनि किसानले बर्सेनि भुक्तानीसम्बन्धी समस्या खेप्न थालेपछि उत्पादनमा अहिले ठूलो अन्तरले ह्रास आएको छ ।

गत वर्ष देशभर एक करोड २० लाख क्विन्टल मात्रै उखु उत्पादन भएको उखु उत्पादक कृषक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले जानकारी दिए । ‘गत वर्ष सबैभन्दा थोरै उखु उत्पादन भयो र जसकारण चिनी पनि थोरै उत्पादन भएकाले स्वदेशी चिनी ५–६ महिनामै सकियो,’ उनले भने, ‘यद्यपि, गत वर्ष भुक्तानीमा केही सुधार भएकाले यो वर्ष उत्पादनमा सुधार हुने देखिएको छ ।’

‘यो वर्ष एक करोड ४० लाख क्विन्टलसम्म उखु उत्पादन हुन्छ कि भन्ने अनुमान छ । कञ्चनपुर, महेन्द्रनगरमा भारतको राम्रो गुणस्तरको बिउ ल्याएर उखु रोपिएको छ । त्यहाँको उत्पादनले पनि समग्र उत्पादन वृद्धिमा केही सघाउँछ,’ मैनालीले भने । यो वर्ष करिब डेढ लाख मेट्रिकटन चिनी उत्पादन हुने अनुमान गरिएको छ । मुलुकभर वार्षिक दुई लाख ५० हजार टन चिनीको माग छ । तर, उत्पादन यो वर्ष बढीमा डेढ लाख टन हुने अनुमान भएकाले थप एक लाख टन चिनी आयातमा निर्भर हुनुपर्ने देखिन्छ । 

प्रतिक्विन्टल ५० रुपैयाँसम्म बढाए उद्योगीलाई मान्य

मुलुकमा उखु क्रसिङ गरी चिनी उत्पादन गर्ने १४ उद्योग छन् । तर, यसमध्ये १० उद्योग क्रियाशील छन् । गत वर्ष भने आठ उद्योग मात्रै सञ्चालन भएका थिए । उद्योगीहरूले पछिल्लो दुई तीन वर्षदेखि उखुको मूल्यमा खासै वृद्धि नभएको, तर चिनीको भाउ ठूलो अन्तरले बढेको स्विकार्दै उखुको मूल्य प्रतिक्विन्टल ४०–५० रुपैयाँसम्म वृद्धि हुँदा खासै फरक नपर्ने धारणा राखेका छन् । चिनी उद्योग संघका उपाध्यक्ष तथा रिलायन्स चिनी मिलका सञ्चालक राजकुमार अग्रवालले बजार प्रणालीले पनि उखुको मूल्य केही बढ्नुपर्ने देखिएको बताए ।

‘अहिलेको बजार प्रणालीले उखुको मूल्य प्रतिक्विन्टल ४०–५० रुपैयाँसम्म बढ्न सक्ने देखाएको छ । त्यसैले यो दरमा बढ्यो भने हामीलाई पनि फरक पर्दैन,’ उनले भने, ‘तर, सय रुपैयाँभन्दा बढी भयो भने चिनीको भाउ कहाँ पुग्ला ? उपभोक्ताले कति रुपैयाँसम्म तिर्नुपर्ला भन्ने कुराको पनि विचार गर्नुपर्छ ।’ अहिले आयातीत चिनीको बजार मूल्य सय रुपैयाँ प्रतिकिलो पुगिसकेको छ । सरकारले उखुको मूल्य गत वर्षको तुलनामा प्रतिक्विन्टल सय रुपैयाँभन्दा बढीले बढाउन सिफारिस ग¥यो भने काठमाडौंको खुद्रा मूल्य नै सय रुपैयाँ नाघ्ने उनले बताए ।