नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टीमा पुस्तान्तरण र रूपान्तरण कठिन हुँदै गएको बताएका छन्। नयाँ पत्रिकासँग कुरा गर्दै उनले नेताहरूले एकले अर्कोलाई नछोड्दा यस्तो समस्या आएको बताए। वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट कांग्रेसको १४औँ महाधिवेशनमा उपसभापतिमा उम्मेदवारी घोषणा गरेका भण्डारीले आफूहरूको विचार समूहमा सभापतिको उम्मेदवारीमा सहमति जुटाउन कठिन भएको पनि बताए।
अब सोच चिन्तनलाई परिवर्तन नगरी पार्टी अगाडि बढ्न नसक्ने उनको भनाइ छ। पुस्तान्तरण र रूपान्तरण पार्टीको आवश्यकता भएको उनले बताए। ‘अहिलेको झगडा र गुटउपगुट हेर्दा पुस्तान्तरण र रूपान्तरण नारा मात्रै बन्ला जस्तो भएको छ,’ उनले भने, ‘यसलाई निकास दिन सकिएन भने हामीले फरक तरिकाबाट उम्मेदवारी दिने सोचेका छौँ।’ पार्टी र नेतृत्व असल भएन भने त्यसको प्रभाव समाजमा पर्ने हुनाले अहिलेको समयअनुसारको नेतृत्व आवश्यक भएको उनले बताए। महाधिवेशनमा नेताहरू निर्वाचनतर्फ लागेकाले पार्टीको विधान अधिवेशनको विषय आएको उनले प्रस्ट पारे।
पार्टीको तल्लो तहमा परिवर्तन उत्साहजनक देखिएको भए पनि माथिल्लो तहमा सधैं एउटै नेतृत्व रहेको उनले बताए। माथिल्लो नेतृत्व कमजोर महसुस गर्दा गुट बनाउने पार्टी फुटाउने प्रवृत्ति नेपाली राजनीतिमा देखिएको उनको विष्लेषण छ। गुटउपगुटले गर्दा, लामो समय सत्तामा बसेका व्यक्तिहरू, कारोबारी व्यक्तिहरूका कारण रूपान्तरणमा प्रभाव पारेको भण्डारीले बताए। प्रजातन्त्रको मापन निर्वाचनले मात्र गर्न नसक्ने उनले बताए। चुनावको जितमा पनि महत्वाकांक्षा राख्ने र हारलाई पनि स्विकार्न नसक्ने प्रवृत्तिले लोकतन्त्रलाई खतरा बनाएको उनको बुझाइ छ। नेतृत्व छान्दा सोचविचार गर्न उनले आग्रह गरे।
पुरानो पुस्ताको व्यवस्थापनका लागि नयाँ पुस्ताले त्याग गर्नुपर्ने कठिन परिस्थिति रहनु दुर्भाग्य भएको उनले बताए। नयाँ पुस्ता अनुभव गर्दागर्दै रिटायर्ड हुने त होइन भन्ने चिन्ता बढेको छ। भाषणमा मात्र होइन परिणाममा काम गर्नुपर्ने उनले बताए।