१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर १७ शुक्रबार
  • Monday, 01 July, 2024
२o७८ मङ्सिर १७ शुक्रबार १७:२६:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

चिसो बढेसँगै बेँसी झारिए लमजुङका भेडीगोठ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर १७ शुक्रबार १७:२६:oo

लमजुङको उच्च हिमाली भेग र लेकाली क्षेत्रका भेडीगोठहरू यतिवेला बेँसी झारिएका छन् । जाडो बढेपछि चिसो मौसम बढेसँगै बेँसी झर्न सुरु गरेका भेडीगोठ अहिले गाउँ र बस्तीनजिकैका डाँडाकाँडामा आइपुगेका छन् । उच्च पहाडी क्षेत्रमा चिसो बढेकाले सबै भेडीगोठ अहिले बेँसी झरिसकेको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र लमजुङका प्रमुख डा.रूपेश श्रेष्ठले बताए ।

उनका अनुसार भदौदेखि मंसिर पहिलो हप्तासम्ममा सबै भेडीगोठ बेँसी झरिसक्छन् । चिसो मौसम सुरु भएसँगै माथि लेकमा चरनको अभाव हुने भएकाले यो समयमा भेडीगोठ बेँसी सारिन्छन् । उनका अनुसार चिसो मौसममा लेकमा हिउँ पर्छ । हिउँले घाँस पुर्छ । चिसोमा चरनको अभाव हुनुका साथै भेडी गोठालालाई पनि बस्न असहज हुन्छ।

घलेगाउँको भेडीगोठ लेकबाट झरेर गाउँमै आइपुगेको घलेगाउँका गंगाबहादुर घलेले बताए। घुम्ती गोठमा पालिएका गाई–भैँसी, भेडा–बाख्रा चराउँदै लमजुङका गोठालाहरू बर्सेनि बौद्ध हिमाल, माछापुच्छ्रे हिमाल, मनास्लु हिमाल, हिमचुली हिमाल, लमजुङ हिमाललगायतका थुप्रै हिमालको काखैमा पुग्छन् । घुम्ती भेडीगोठहरू चार हजार मिटर उचाइसम्ममा पुग्छन् । घुम्ती गाई–भैँसी गोठ भने तीन हजार मिटर उचाइसम्म मात्रै पुग्छन् । परम्परागत रूपमा घुम्ती भेडीगोठमा भेडा पाल्ने परम्परा लमजुङमा अझै कायमै छ। भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका अनुसार लमजुङको भोजे, पसगाउँ, घनपोखरा, घेर्मु, ताघ्रिङ, बाहुनडाँडा, भुलभुले, फलेनी, बन्सार, पाचोक गौँडा, कोल्की, इलमपोखरी, दूधपोखरीलगायतका ठाउँमा घुम्ती भेडीगोठ रहेका छन् ।

डा. श्रेष्ठका अनुसार लमजुङमा ९० वटा घुम्ती भेडीगोठ रहेका छन् । ती भेठीगोठमा झन्डै १५ हजार ‘वरुवाल’ जातका भेडा रहेका छन् भने झन्डै ६ हजार ‘सिन्हाल’ जातका बाख्रा पालिएका छन् । घुम्ती भेडीगोठमा पालिएका भेडाहरूबाट वार्षिक दुई सय मेट्रिक टन मासु उत्पादन हुने गरेको छ। जिल्लामा भेडाको मासु बिक्रीबाट मात्रै वार्षिक झन्डै १२ करोड रुपैयाँ आम्दानी हुँदै आएको छ। विशेष गरी गुरुङ समुदायको पुर्खौली  पेसाका रूपमा भेडीगोठलाई लिइन्छ । पुर्ख्याैली चलन र पेसा पहिलेभन्दा केही घटे पनि लमजुङमा अझै भेडीगोठ छन् । 

भेडीगोठ ६ महिना लेक र ६ महिना बेँसी
लमजुङमा भेडीगोठ ६ महिना लेक र ६ महिना बेँसीमा रहन्छन् । अहिले झरेका भेडीगोठ फाल्गुनदेखि पुनः लेक फर्कन्छन् । पर्याप्त मात्रामा घाँसेमैदान र खर्कहरूको व्यवस्था भए पनि गाउँका युवाशक्तिले चासो नदेखाउँदा भेडापालन व्यवसाय लोप हुँदै गएको छ । भेडाको ऊन र मासुको माग बढी छ । प्रायः परिवारको कुनै एक सदस्य मात्रै भए पनि भेडीगोठमा बस्ने गर्छन् । भेडीगोठमा बस्दा जुकाले निकै सताउने ताघ्रिङका अमरजङ गुरुङले बताए । लेकमा बस्दा भेडीगोठसँगै भैँसी पनि राखिन्छ । लेकमा रहँदा भैँसीेले दिएको दूधबाट प्रशस्त घिउ, मोहीको रोटीलगायतका अन्य दूधको परिकार बनाउने गरिन्छ । हिउँदमा बेँसी झारिएका भेडीगोठले खेतबारी मल्ने काम गरिन्छ । परम्परागत भेडीगोठ पछिल्लो समय दुर्लभ हुन पुगे पनि पर्यटकको आर्कषण भने बनिरहेको छ । 


 

ad
ad
ad
ad