१० दिनअघि काठमाडौंको बाफलमा जलेको अवस्थामा भेटिएको शवको सनाखत गरी प्रहरीले अनुसन्धान सल्टाएको छ । मृतक काभ्रेका हर्कबहादुर बाँनिया भएको र हत्यामा संलग्न आशिष शर्मालाई प्रहरीले पक्राउ गरेको हो ।
मृतकको अनुहारसमेत जलेकाले शवको सनाखत गराउनै निकै हैरान भएको यो घटनाको अनुसन्धान निकै जटिल र निष्कर्ष नाटकीय हुन पुग्यो । मृतकका भतिजको सहयोगले प्रहरीले उनको सनाखत गरी अभियुक्तलाई पक्राउ गर्न सफल भएको हो । मृतक बाँनिया बाफल क्षेत्रमा माग्ने व्यक्ति हुन् । गत ४ मंसिरमा उनको एक्कासि आफ्ना भतिजसँग बाटोमा भेट भयो । मलेसियाबाट फर्किएका भतिजले आफू पत्रकार भएको नाटक गरेर भिडियो खिचेर उनीसँग कुराकानी गरे । पछि मात्र आफू भतिज भएको जानकारी दिए । त्यसपछि काका–भतिजबीच रमाइला कुराकानी भए । जुन दृश्य छेउमा रहेका आशिषले देखिरहेका थिए ।
डेरा नभएकाले उनीहरू विभिन्न ठाउँमा सुत्दथे । त्यो दिन आशिषले बाँनियालाई आफू सुत्ने गरेको गाईबाख्रा चोकस्थित एउटा खण्डहर घरमा लिएर गए । भतिज भेट भएकाले टन्न पैसा दिएको हुन सक्ने भएकाले सुतेको वेला चोर्ने योजना बनाएका थिए । बेलुका सुतेपछि खल्तीबाट ५० को नोट निकाल्दै बाँनियाले थाहा भए । त्यसपछि दुईबीच विवाद भयो । टाउकोको पछिल्लो भागमा हानेर अर्धबेहोस बनाएपछि उनले बाँनियाले ओडेको कपडामा आगो लगाएर त्यहाँबाट निस्किएका थिए । त्यसको तीन दिनपछि प्रहरीले उनको शव फेला पारेको थियो । शव आधा जलेकाले केही पत्ता लगाउन सकेन । स्थानीयलाई सोध्दा पनि कसैले मृतकलाई नचिनेको बताए ।
घटनाको भोलिपल्ट आशिषका साथी त्यहाँ पुगे, तर शव जलेको अवस्थामा देखेपछि उनी डराएर फर्किए । त्यहाँ आशिषकै त्यसरी मृत्यु भएको उनलाई लाग्यो । पछि उनी प्रहरीको सम्पर्कमा पुगे, उनको कुराका आधारमा मृतक आशिष नै भएको प्रहरीलाई लाग्यो । तर, पछि आशिष नै फेला परेपछि प्रहरी अनुसन्धान फेरि शून्यमा झर्यो । स्थानीयसँग कुरा गर्दा एक माग्ने व्यक्ति केही दिनयता हराइरहेको बताए । तर, उनको फोटोसमेत कोहीसँग थिएन । एक स्थानीय पसलेले उनको श्रीमतीको नम्बर पत्ता लगाइदिए । श्रीमती उपचारका लागि भारत गएकाले उनको मोबाइल अफ थियो । श्रीमतीको नम्बरका आधारमा प्रहरीले उनको भतिजको नम्बर पत्ता लगायो, जहाँबाट प्रहरी अनुसन्धान निष्कर्षमा पुग्यो ।
सुरुमा प्रहरीले मृतकले वृद्धभत्ता लिने गरेको र त्यही पैसाका लागि हत्या भएको हुन सक्ने कोणबाट अनुसन्धान गर्यो, तर वास्तविकता फरक निस्कियो । भतिजले त्यो दिन खिचेको भिडियो देखाए, जसमा लगाएको कपडाको जल्न बाँकी केही अंश घटनास्थलमा भेटिएको थियो । भिडियोका आधारमा मृतक उनी नै पुष्टि भयो ।
त्यसपछि प्रहरी अनुसन्धान आशिषतर्फ केन्द्रित भयो । सोही घटना भएको वेला उनले आफू साथीकोमा बस्न गएको बताएका थिए । मृतकबारे केही जानकारी नभएको भनेर ढाँटेका थिए । घटना भएको वेला उनी साथीकोमा गएको कुरा शंका लागेर थप अनुसन्धान गर्दा अपराध महाशाखाका डिएसपी कृष्ण चन्द नेतृत्वको टोलीले घटना सुल्झाएको हो । अर्काेतर्फ सिसिटिभी फुटेजमा त्यो दिन उनले वृद्धलाई डोर्याएर लगेको भिडियोले पनि अनुसन्धानमा सहयोग गर्यो । पैसा चोर्न खोज्ने विवादलाई लिएर ७५ वर्षीय बाँनियाको हत्या भएको र १० दिन लामो अनुसन्धानपछि वास्तविकता पत्ता लागेको अपराध महाशाखाका एसपी कृष्ण पंगेनीले बताए ।