१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार o६:४२:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सरकारले लगानी र सम्पत्ति सुरक्षाको ग्यारेन्टी लिन्छ : प्रधानमन्त्री

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o६:४२:oo

विकास निर्माणका लागि छुट्टै कानुनको आवश्यकता छ, त्यस्तो कानुन बन्दै छ : अर्थमन्त्री शर्मा

आर्थिक सुधार गर्न सबै किसिमका लाइसेन्सराजको खारेजी आवश्यक : योजना आयोगका उपाध्यक्ष पौडेल

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा लगानी र सम्पत्तिको सुरक्षाको ग्यारेन्टी सरकारले लिने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को रजतजयन्तीका अवसरमा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । ‘सरकार अनावश्यक नियन्त्रणको पक्षमा छैन, आवश्यक नियमन र सहजीकरणको पक्षमा छ, त्यसैले देश तथा विदेशका लगानीकर्तालाई ढुक्‍क भएर नेपालमा लगानी गर्न म आग्रह गर्दछु,’ प्रधानमन्त्री देउवाले बताए । 

लामो राजनीतिक उतारचढाव, भूकम्प, कोभिड– १९ संक्रमणलगायतका प्राकृतिक प्रकोपका कारणबाट अपेक्षित प्रतिफल प्राप्त गर्न नसकेको भन्दै उनले भने लामो समय यस्तै अवस्थामा रहन नसक्ने र छोटो समयमै मुलुकले मुहार फेर्ने गरी विकास गर्न सरकार लागिपरेको बताए । त्यसका लागि मुलुकमा बृहत् रूपको दोस्रो चरणको आर्थिक सुधार गर्न आवश्यक रहेको उनले बताए । ‘पहिलो चरणको सुधारले नेपाललाई समृद्ध बनाउने बाटो देखाएको छ । दोस्रो चरणको सुधारले नेपाललाई विकसित राष्ट्रको रूपमा स्थापित गर्न सहयोग पुर्‍याउनेछ,’ प्रधानमन्त्री देउवाले भने, ‘त्यसका लागि आवश्यक नीति, कानुन, रणनीति, योजना तथा संरचना निर्माणका लागि आवश्यक पूर्वाधार निर्माण हुनेछन् ।’ 

मुलुक अल्पविकसित मुलुकबाट स्तरोन्नति हुनु महत्वपूर्ण भए पनि अझै धेरै उन्नति गर्न बाँकी रहेको प्रधानमन्त्री देउवाको तर्क थियो । ‘लामो समयदेखि गरिब मुलुक बनेर बस्नुपर्दाको लघुताभासबाट मुक्ति पाउन पक्कै पनि स्तरोन्नतिको निर्णय महत्वपूर्ण छ, तर यो एक कक्षाबाट अर्को कक्षामा उक्लेजस्तै हो, पहिलो सिँढीबाट दोस्रो सिँढी चढेजस्तै हो, आर्थिक विकासकोे लक्ष्य प्राप्त गर्न अझै धेरै कक्षा पास गर्नुपर्नेछ, अरू धेरै सिँढी उक्लनुपर्ने छ ,’ देउवाले भने । 

सरकार तथा निजी क्षेत्रले गरेका कमीकमजोरीलाई उजागर गर्ने तथा राम्रा कामलाई जनसमक्ष ल्याउने काम आर्थिक पत्रकारहरूको प्रमुख भूमिका हुने भन्दै सेजनले आर्थिक पत्रकारहरूको क्षमता विकास एवं आर्थिक पत्रकारिताको उन्नयनमा गरेको योगदानको नेपाल सरकारले उच्च मूल्यांकन गरेको बताए ।त्यस्तै, उक्त कार्यक्रममा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले विकास निर्माणका लागि छुट्टै कानुनको आवश्यकता रहेको बताए । हरेक विकास निर्माणको काममा अदालतको ‘स्टे अर्डर’ले बाधा उत्पन्न गरेको भन्दै शर्माले भने, ‘सामान्य बाटो खन्दा अदालतबाट स्टे अर्डर हुन्छ, त्यसले बाटो बनाउन समस्या उत्पन्न हुन्छ । योसँगै जग्गा अधिग्रहण, वातावरणीय अध्ययन वर्षौँ लाग्नेलगायतका कुरा छन् यसका लागि छुट्टै विकास ऐनको आवश्यकता महसुस अहिले भएको छ ।’

अहिलेको खर्च प्रणालीले भनेअनुसार लक्ष्य प्राप्त नभइरहेकाले नयाँ विधि अवलम्बन गर्नुपर्नेमा शर्माले जोड दिए । नयाँ प्रणाली ल्याउनेबारे पनि छलफल भइरहेको भन्दै शर्माले भने, ‘अहिले जे छ, त्यही प्रणालीले भनेअनुसार खर्चको लक्ष्य प्राप्त नभइरहेको अवस्थामा नयाँ तरिका ल्याउनुपर्ने आवश्यकता पनि देखिएको छ ।’ 
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले दोस्रो चरणको सुधारका लागि मुख्य रूपमा चारवटा विषय महत्वपूर्ण रहेको बताए । ‘पहिलो– सबै किसिमको लाइसेन्सराजको खारेजी, दोस्रो– सार्वजनिक खरिद र सार्वजनिक योजनामा पारदर्शिता, तेस्रो– राज्यको सम्पत्तिको जगेर्ना तथा चौथो– बृहत् आर्थिक स्थायित्व,’ उनले बताए । 

बैंक बिमालगायत सबै किसिमको व्यवसायमा लाइसेन्सराज पूर्ण रूपमा हट्नुपर्ने डा. पौडेलले बताए । त्यस्तै, योजना छनौट गर्दा के–कस्ता मापदण्ड अपनाउने र केका आधारमा अघि बढाउने भन्नेमा ध्यान दिनुपर्ने उनले बताए । ‘खरिद प्रक्रियामा अझै पारदर्शिता आवश्यक छ,’ उनले बताए । सरकारले जलविद्युत् आयोजना, बैंक तथा वित्तीय संस्थाहरू स्टक एक्सचेन्ज चुनढुंगा वा सिमेन्ट उद्योगजस्ता सम्पत्ति राज्यकै सम्पत्ति भएको र त्यसको संरक्षणमा राज्यले ध्यान दिनुपर्ने उनले बताए । 

कार्यक्रममा सभासद् तथा उद्योगी विनोद चौधरीले दोस्रो चरणको सुधार अत्यन्तै आवश्यक रहेको बताए । त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ललगायतले बोलेका थिए । 

वाग्ले र उपाध्याय सम्मानित, न्यौपाने र कार्कीलाई सेजन अवार्ड
नेपाल आर्थिक पत्रकार समाज सेजनले पूर्वपत्रकारद्वय प्रा.डा. अच्युत वाग्ले र राजीव उपाध्यायलाई सम्मान गरेको छ । सेजनको रजतजयन्तीका अवसरमा उनीहरूलाई सम्मान गरिएको हो । मुलुकको आर्थिक पत्रकारिताको विकास तथा पत्रकारहरूको क्षमता अभिवृद्धिमा महŒवपूर्ण योगदान पु¥याएको भन्दै उनीहरूलाई सम्मान गरिएको हो ।

 त्यसैगरी, २०७८ सालको सेजन अवार्ड डिजिटल मिडियातर्फ हिमाल खबरका रमेशकुमार न्यौपाने र छापामाध्यमतर्फ अन्नपूर्ण पोष्टकी सुनिता कार्कीलाई प्रदान गरिएको छ । सेजनले दुई पत्रकारलाई ५०–५० हजार नगद पुरस्कार राशिसहित सम्मानपत्रसमेत प्रदान गरेको छ । त्यस्तै, एक लाख राशिको सञ्जय न्यौपाने फेलोसिप कारोबार दैनिककी सरस्वती ढकाललाई प्रदान गरिएको छ । 

२५ हजार राशिको जलविद्युत् फेलोसिप भने नागरिक दैनिकका हिमाल लम्सालले प्राप्त गरेका छन् । ०५४ सालमा स्थापित सेजनले विगत २५ वर्षदेखि आर्थिक पत्रकारको क्षमता विकास, अध्ययन अनुसन्धान तथा नीतिगत बहसमा काम गर्दै आएको छ ।

 

ad
ad