१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर १५ बुधबार ०८:१८:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

झिनो अंकले घट्यो नेप्से

लगानीकर्ता अनिर्णीत हुँदा कारोबार रकममा पनि गिरावट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर १५ बुधबार ०८:१८:००

नेप्से सूचक सामान्य अंकले घटेको छ । मौद्रिक नीतिपछि लगातार घटेको नेप्से सूचकको गिरावटको गति भने मंगलबार केही कम भएको छ । आइतबार र सोमबारको तुलनामा नेप्से सूचक साँघुरिँदै गएर सामान्य बन्ने प्रयासमा देखिएको छ । १.६४ अंकले घटेको नेप्सेमा लगानीकर्ता तत्काल निर्णयमा जानुभन्दा ‘पर्ख र हेर’को अवस्थामा देखिन्छन् । जसको कारण सेयर कारोबार रकम पनि घटेको छ ।  

कारोबारमा आएका १३ वटै समूहका सूचकमध्ये चारवटा समूहका सूचकमा लगानीकर्ता केही आकर्षित देखिएका छन् । विकास बैंक, फाइनान्स, जलविद्युत्, निर्जीवन बिमा समूहको सूचकमा लगानीकर्ताको आकर्षण बढ्न खोजेको छ । यी समूहको सूचकमा सामान्य सुधार आएको छ । ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्समा भने झिनो सुधार आएको छ ।

मंगलबार धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २५ कम्पनीको ६४ लाख ४७ हजार कित्ता–इकाइ सेयर खरिद–बिक्री हुँदा तीन अर्ब नौ करोड रुपैयाँको मात्र कारोबार हुन पुगेको छ । मंगलबार सर्वाधिक कारोबार आइसिएफसी फाइनान्सको १६ करोड दुई लाख रुपैयाँको कारोबार भएको छ । कम्पनीको अघिल्लो दुई कारोबार सर्किट मूल्यमा कारोबार भएकोमा मंगलबार भने ६ दशमलव १० प्रतिशतले मात्र बढेको छ । त्यसैगरी, महालक्ष्मी विकास बैैंक, हिमालयन डिस्टिलरी, नबिल बैंक, नेसनल हाइड्रोपावर कम्पनी, एनआइसी एसिया बैंक, मुक्तिनाथ विकास बैंक, अपि पावर कम्पनी, अरुण काबेली पावरको १३ करोड रुपैयाँदेखि पाँच करोड रुपैयाँसम्मको कारोबार भएको छ ।

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको सेयर भने ४ दशमलव ७७ प्रतिशतले घटेको छ । लाइफ इन्स्योरेन्स कम्पनीको २ दशमलव ८६ प्रतिशत, मितेरी डेभलपमेन्ट बैंकको २ दशमलव ७८ प्रतिशत, बैंक अफ काठमाडौंको २ दशमलव ७६ प्रतिशतले घटेको छ ।

 दुई कम्पनीको सेयर सर्किट मूल्यमा कारोबार
सामलिङ पावर कम्पनी, ङादी पावर कम्पनीको सेयर १० प्रतिशतले बढेर सर्किट मूल्यमा कारोबार भएको छ । तेह्रथुम पावर कम्पनीको ७ दशमलव ०८ प्रतिशत, युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावरको ६ दशमलव ४९ प्रतिशत, आइसिएफसी फाइनान्सको ६ दशमलव १० प्रतिशत, हिमाल दोलखा हाइड्रोपावर कम्पनीको ५ दशमलव ९५ प्रतिशतले बढेको छ ।

सेयर गतिविधि
-युनियन लाइफ इन्स्योरेन्सको सञ्चालकमा दिगम्बर झा नियुक्त भएका छन् । सञ्चालक देवीप्रसाद शर्माले राजीनामा दिएपछि रिक्त रहेको पदमा शर्मालाई नियुक्त गरिएको हो ।
-समिट लघुवित्त वित्तीय संस्थाले प्रस्ताव गरेको लाभांश साधारणसभाबाट पारित गरेको छ । संस्थाले २५ दशमलव २८ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । समिट लघुवित्त वित्तीय संस्था र सजिलो लघुवित्त वित्तीय संस्थाबीच मर्जर कायम भई एकीकृत काराबोर सुरुवात भएको हुँदा घोषणा गरेको लाभांशमा कर नलागेको संस्थाले जनाएको छ ।