मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर १३ सोमबार
  • Thursday, 19 December, 2024
२o७८ मङ्सिर १३ सोमबार ११:३७:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

स्याउ बगैँचा हेर्न शुल्क

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर १३ सोमबार ११:३७:oo

मनाङको चिसो हावापानीमा फलेको स्याउ सहरी क्षेत्रका उपभोक्ताका लागि ‘हटकेक’ नै हुन्छ । कतिपय व्यापारीले अन्तैबाट स्याउ ल्याएर मनाङ, मुस्ताङको भनेरसमेत बेच्ने गर्छन् ।  मनाङको यस्तो मीठो स्याउ फल्ने बगैँचा पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । स्याउ फल्ने यहाँका बगैँचा हेर्न आन्तरिक तथा बाह्य पर्यटक शुल्कसमेत तिर्न थालेका छन् । अन्नपूर्ण पदमार्गमा आएका विदेशी पर्यटकले स्याउ बगैँचा नछुटाउने गरेका छन् । 

विशेषगरी ङिस्याङ गाउँपालिका–१ भ्राताङको स्याउ बगैँचा आन्तरिक तथा बाहिरी पर्यटकको रोजाइमा पर्ने गरेको छ । अन्नपूर्ण पदमार्गसँगै मनाङ घुम्न आउनेहरू भ्राताङको स्याउ बगैँचा नघुमी नफर्कने गरेको पर्यटन व्यवसायीहरूको भनाइ छ । शुल्क तिरेर बगैँचा छिरेकाहरू यहाँ एकाध घन्टा रोकिने गरेका छन् । भ्राताङमा रहेको एग्रो मनाङ प्रालिले स्याउ बगैँचा हेर्न टिकटको व्यवस्था गरेको हो । एग्रो मनाङका अध्यक्ष समराज गुरुङका अनुसार स्याउ हेर्न आउनेको भिड लाग्न थालेपछि शुल्क लिन थालेको हो ।

उनले भने, ‘दिनहुँ ६०–७० जना आन्तरिक र ३०–४० जना विदेशी पर्यटक स्याउबारी हेर्न आउन थाले । यहीकारण उनले बगैँचा घुम्न, बगैँचामा फोटो खिच्न पाउने गरी आन्तरिक पर्यटकका लागि प्रतिव्यक्ति दुई सय र बाह्य पर्यटकका प्रतिव्यक्ति चार सय रुपैयाँ टिकट शुल्क तोकेका छन् । काठमाडाैंबाट मनाङ आएकी सुस्मा केसीले दुई सय रुपैयाँको टिकट काटेर बगैँचा घुमेको बताइन् । उनले भनिन्, ‘दुई सयको टिकटले स्याउबारी घुम्न पाएँ, पेटभरी स्याउ पनि खाएँ ।’ मनाङ घुम्न आएका लमजुङ राइनासका सुविन थापा पनि स्याउ बगैँचामा भेटिए । उनी स्याउ बगैँचा मनाङ एउटा गन्तव्यका रूपमा विकास भइरहेको बताउँछन् । ‘लटरम्म फलेको राताम्य स्याउ फार्ममा ‘सेल्फी’ लिएँ,’ उनले भने, ‘निकै ठूलो स्याउबारी रहेछ । यहाँ आइपुग्दा निकै खुसी लाग्यो ।’ 

एग्रो मनाङका अध्यक्ष गुरुङले विशेषगरी बिदाको समयमा स्याउ बगैँचा घुम्न आउनेको घुइँचो लाग्ने गरेको बताए । उनले भने, ‘केही घुम्न त केही स्याउ खेतीबारे जानकारी लिन आउँछन् ।’ टिकट काटेर स्याउबारीमा प्रवेश गरेका पर्यटकलाई उनीहरूको जिज्ञासाअनुसार स्याउबारे जानकारी, स्याउ रोप्ने तरिका, हुर्काउने विधि, टिप्ने तरिका, भण्डारण, फार्म हाउस साथै ग्रेडिङ प्रणालीबारे जानकारी दिने गरेको उनले बताए । 

 ७३५ रोपनीमा स्याउखेती
एग्रो मनाङको ७ सय ३५ रोपनी जग्गामा स्याउखेती गरेको छ । एग्रो मनाङले ६ वर्षअगाडि इटली र सर्भियाबाट स्याउका बिरुवा ल्याएर रोपेको हो । अघिल्लो एग्रो मनाङले ४५० टन स्याउ उत्पादन गरेको थियो । यस वर्ष पनि पाँच सय टन उत्पादन हुने अध्यक्ष गुरुङको अनुमान छ ।

स्याउ फर्ममा गाला, गोल्डेन र फुजी जातका स्याउ लगाइएको छ । स्याउलाई स्टोर गर्न भ्राताङ, बेँसीसहर र काठमाडौंमा कोल्डस्टोर बनाएको छ । एग्रो मनाङले समुद्री सतहदेखि दुई हजार नौ सय मिटर उचाइको भ्राताङमा ‘हाइडेन्सिटी’ प्रविधिमार्फत स्याउ फलाएको हो । मनाङका चार स्थानीय तहमध्ये नार्पाभूमिबाहेक चामे, नासों र मनाङ ङिस्याङ गाउँपालिकामा स्याउखेती हुँदै आएको छ ।