मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
धनगढीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदामबाट सिमकोट पठाउन ट्रकमा चामलका बोरा लोड गरिँदै
रमेश रावल सुर्खेत
२०७८ मङ्सिर ११ शनिबार ०६:००:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

स्थलमार्गबाट सिमकोटमा  चामल ढुवानी सुरु

Read Time : > 1 मिनेट
२०७८ मङ्सिर ११ शनिबार ०६:००:००

सुर्खेतबाट सय र कैलालीबाट ९० क्विन्टल चामल ट्रकमा पठाइयो

हुम्लाका लागि स्थलमार्ग भएर खाद्यान्न ढुवानी गर्न थालिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सुर्खेत गोदामले बुधबार तथा कैलाली गोदामले शुक्रबार चामल पठाएको हो । 

चामल ढुवानीको ठेक्का पाएका ठेकेदारले खाद्यको धनगढी मोहनपुरस्थित गोदामबाट ९० क्विन्टल र वीरेन्द्रनगरस्थित गोदामबाट सय क्विन्टल चामल पठाएका हुन् । कम्पनीका धनगढी क्षेत्रीय प्रमुख एन्जिला बस्नेतले हुम्ला सदरमुकाम सिमकोटका लागि ट्रकबाट ९० क्विन्टल चामल पठाइएको जानकारी दिइन् । चामल ढुवानीको ठेक्का पाएको गणेश ढुवानी सेवाले शुक्रबार बिहान चामल लगेको हो । आइतबार पनि चामल पठाइने बस्नेतले बताइन् ।

‘हुम्लाका लागि निर्धारण गरिएको कोटाको चामल हामीसँग मौज्दात छ । ढुवानीको ठेक्का पाएका व्यवसायीले स्थलमार्ग हुँदै ९० क्विन्टल चामल शुक्रबार पठाएका छन् । आइतबार थप चामल पठाउने तयारी छ,’ बस्नेतले नयाँ पत्रिकासँग भनिन्, ‘धनगढीबाट ढुवानी हुने गरी यस वर्ष सिमकोट र हुम्लाकै श्रीनगर डिपोका लागि सात–सात सय क्विन्टल चामलको कोटा निर्धारण गरिएको छ ।’ मोहनपुर गोदाममा १६ हजार क्विन्टल चामल मौज्दात छ । केन्द्रले अनुमति दिए हुम्लामा आवश्यकताअनुसार चामल पठाउन सकिने क्षेत्रीय प्रमुख बस्नेतले बताइन् । 

सुर्खेतबाट बुधबारै सय क्विन्टल चामल सिमकोट पठाइएको छ । स्थलमार्गबाट ढुवानी गर्नुपर्ने सात सय क्विन्टल चामलमध्ये एक सय क्विन्टल चामल बुधबार पठाइएकोे कम्पनीका कर्णाली प्रदेश प्रमुख माधव मिश्रले जानकारी दिए । 

‘स्थलमार्गबाट जाने सात सय क्विन्टल चामल अहिले ढुवानी भइरहेको छ । हवाईमार्गबाट जाने खाद्यान्न भने अहिले जान सकेको छैन । पठाउने विषयमा केन्द्रबाट जानकारी आएको छैन,’ प्रमुख मिश्रले भने । अदालतमा मुद्दा परेकाले हवाईमार्गबाट ढुवानी गर्नुपर्ने चामल पठाउन नसकिएको उनले बताए । 

लिमीमा खाद्यान्न ढुवानी गर्न ढिला गरिए सिंहदरबारभित्रै धर्ना बस्छौँ : पाल्जोर तामाङ, वडाध्यक्ष नाम्खा गाउँपालिका– ६, हुम्ला

भोकमरी भएको हुम्लाको लिमी क्षेत्रमा खाद्यान्न पुर्‍याउन सरकारले अलमल गरिरहेको छ । कहिले चिठीपत्रको प्रक्रिया नमिलेको भनिरहेको छ, कहिले हेलिकोप्टर बिग्रिएकाले समय लाग्छ भनिरहेको छ । गृह मन्त्रालयले शुक्रबारबाटै नै हिल्साबाट लिमीमा खाद्यान्न ढुवानी गर्ने भनेको थियो । त्यही भएर हेलिकोप्टरमा खाद्यान्न लोड गर्न लिमीबाट १२ जना स्थानीय हिल्सा पुगेर बसिरहनुभएको छ ।

हिमपातका कारण साथीहरूलाई हिल्सामा बस्न सजिलो छैन, तर सरकारले ढिलाइ गर्दा कहिलेसम्म बस्ने भन्ने अझै टुंगो भएन । सांसद छक्कबहादुर लामा र म शुक्रबार पनि हेलिकोप्टर कहिलेसम्म बन्छ र खाद्यान्न ढुवानी हुन्छ भनेर कुरा गर्न गृह मन्त्रालयमा गएका थियौँ । तर, गृहसचिव टेकनारायण पाण्डेले भेट गर्नै चाहेनन् । उनले ‘सबै प्रक्रिया सकिएको छ, अब चाँडै खाद्यान्न ढुवानी भइहाल्छ । कर्णालीको मुख्यमन्त्रीलाई पनि भनिसकेका छौँ । थप केही बुझ्नुपरे प्रवक्ता फणिन्द्रमणि पोखरेललाई भेट्नू’ भनेर सन्देश पठाए ।

प्रवक्ताले पनि एक घन्टा कुराए । उनले ढुवानीमा अझै एक–दुई दिन लाग्छ भने । हामीले लिमी क्षेत्रमा भोकमरी सुरु हुन लागेकाले ढिलाइ गर्नुहुँदैन भनेका छौँ । सरकारले ढिलाइ गर्‍यो हामी सिंहदरबारमै धर्नामा बस्छौँ । हामी मात्र बसेर भएन भने सिमकोटसम्म आएका लिमीका साथीहरूलाई पनि बोलाएर धर्ना दिन्छौँ ।