देशको सार्वभौमिकता, लोकतन्त्र र संविधानको रक्षाका साथै देशमा विकास ओलीका चुनावी एजेन्डा
एमाले अध्यक्ष केपी ओलीले आगामी तीनै तहको चुनावमा एकल बहुमत प्राप्त गर्ने गरी आफ्नो पार्टी चुनावी तयारीमा लागेको बताएका छन् । दशौँ महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना दिन आएका प्रमुख दलका शीर्ष नेताहरू मञ्चमा र नारायणीको किनारमा देशभरबाट ठूलो संख्यामा उपस्थित नेता–कार्यकर्तालाई सम्बोधन गर्दै प्रमुख विपक्षी दलका नेता ओलीले बहुमत हासिल गर्ने योजनासहित एमाले चुनावतिर प्रवेश गरेको सुनाए ।
चितवनलाई ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावका लागि प्रतिष्ठाको भूगोल बनाएका छन् । त्यही भूमिबाट ओलीले देशको सार्वभौमिकता, लोकतन्त्र र संविधानको रक्षाका साथै देशमा विकासको लहर ल्याउन पनि एमालेको एकल बहुमत आवश्यक रहेको बताए । उनले स्थानीय तहको चुनावमा भने एमालेले ५० प्रतिशत जित्नेसमेत दाबी गरे । आफ्नो सम्बोधनमा ओलीले अरू दिनजस्तो अन्य दललाई एक्लाएक्लै चुनाव लड्न भने चुनौती दिएनन् ।
उनले एमालेका चुनावी एजेन्डाबारे पनि स्पष्ट पार्ने कोसिस गरे । संविधानको गलत व्याख्या सच्याएर अगाडि बढ्न र देशमा विकासको लहर ल्याउन पनि एमालेको एकल बहुमत आवश्यक रहेको ओलीको भनाइ छ । दोस्रोपटक गरेको संसद् विघटन असंवैधानिक भन्दै सर्वोच्च अदालतले तत्कालीन विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि ओली प्रधानमन्त्रीबाट पदमुक्त भएका थिए । आगामी चुनावमा बहुमत ल्याएर सिंहदरबार फर्कने ओलीको योजना छ ।
‘कुनै न कुनै समयमा निकट भविष्यमा अब चुनावहरू आउँदै छन् । स्थानीय तहको चुनाव आउँदै छ, प्रदेश सभाको चुनाव आउँदै छ र संघीय चुनाव आउँदै छ । म हाम्रा कमरेड, समर्थक, शुभेच्छुक, आमनेपाली दिदीबहिनी, दाजुभाइलाई भन्न चाहन्छु– हामी अब चुनावको तयारीतर्फ पनि जानेछौँ । हामी जनमतको तयारी गर्नेछौँ । यस देशका लागि हामीले जनमतबाट एकल बहुमत ल्याउनुपर्नेछ,’ ओलीले एमालेको औचित्य र आफ्नो चुनावी तयारीबारे भने, ‘बहुमत एमालेका लागि होइन, देश बनाउनका लागि, देशको सार्वभौमको रक्षा गर्नका लागि, देशमा लोकतन्त्र फेरि गुम्न नपाओस् भनेर लोकतन्त्रको रक्षाका लागि र संविधानको रक्षा र कार्यान्वयनका लागि । र, संविधानको गलत व्याख्यालाई जनअभिमतबाट, जनादेशबाट सच्याएर अगाडि बढ्नका लागि एमालेले बहुमत ल्याउनुपर्दछ ।’
ओलीले आगामी चुनावपछि एमालेको सरकार बन्ने दाबी गर्दै स्थानीय तहमा आधा जित निकाल्ने बताए । ओलीले विकासलाई चुनावको मुख्य मुद्दासँग जोडे । ‘आउँदो चुनावपछि एमालेको सरकार बन्छ । र, एमालेले बाँकी रहेका विकासका कामलाई अगाडि बढाएर समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभिभारा पूरा गर्छ । स्थानीय तहका निर्वाचनमा पहिलेजस्तो ४० प्रतिशतभन्दा बढी भन्ने होइन, ५० प्रतिशतभन्दा बढी नेकपा एमालेले हासिल गर्नेछ,’ ओलीले भने ।
ओलीले चुनावी एजेन्डाका लागि सबैभन्दा महत्वका साथ उठाए, देशको सार्वभौमिकताको प्रश्न । भारतीय पक्षबाट अतिक्रमित नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानी फिर्ता लिनुपर्ने मुद्दालाई ओलीले चुनावी एजेन्डाका रूपमा प्रस्तुत गरे । ‘हामीले लिम्पियाधुरा, लिपुलेक, कालापानीको नक्सा छापेका छौँ । त्यसलाई संविधानको अंग बनाएका छौँ, तर त्यो जमिन हामीले फिर्ता लिनुपर्नेछ । संवादको माध्यमबाट हामी त्यो जमिन फिर्ता लिनेछौँ । फिर्ता लिएन भने फिर्ता नलिँदासम्म हामी ठगिएको, मिचिएको र हेपिएको भन्ने अनुभूति भइरहन्छ,’ ओलीले भने, ‘त्यसकारण समस्या समाधान गरेर हामी सही मित्रता, वास्तविक मित्रता र वास्तविक छिमेकीपन कायम गर्न चाहन्छौँ ।’
ओलीले आगामी चुनावमा राष्ट्रवादको मुद्दा उचाल्न सक्ने संकेत पनि गरे । ‘हामी सार्वभौम समानता चाहन्छौँ । ठूला राष्ट्र हुन् वा साना राष्ट्र हुन्, आकार–प्रकार, साइज, जनसंख्या, विकासमा अगाडि–पछाडि जे भए पनि सबै राष्ट्रहरूको सार्वभौमसत्ता समान छ, सबैले समानता मान्नुपर्छ भन्ने हामी ठान्दछौँ,’ ओलीले भारतको नामै नलिई भने, ‘पारस्परिक लाभ, पारस्परिक हित, पारस्परिक सम्मानका आधारमा हाम्रा छिमेक सम्बन्ध र अन्तर्राष्ट्रिय सम्बन्धहरू अगाडि बढ्छन् । हाम्रा छिमेकीहरूसँग कतिपय विषय अझै छलफलको माध्यमबाट टुंग्याउनुपर्नेछ । र म विश्वास गर्छु– छलफलको माध्यमबाट हामी छिमेकीहरूसँग समस्या समाधान गर्न सक्दछौँ ।’
ओलीले एमालेको चुनावी एजेन्डाका रूपमा शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई अगाडि सारे । विरोध र विद्वेषको राजनीतिबाट टाढा रहने ओलीको भनाइ थियो । ‘हामी शान्तिको पक्षमा छौँ । देशभित्र शान्ति स्थापना हुनुपर्दछ । हामी कुनै पनि बहानामा, कुनै पनि नाममा हिंसा हुने, आवेश–उत्तेजना फैलाउने, परस्परमा घृणा फैलाउने, जात–जात, धर्म–धर्म, भाषा–भाषा र भूगोल–भूगोलका बीचमा साम्प्रदायिक विद्वेष फैलाएर नेपाली जनतालाई विभाजित गर्ने कुराको विपक्षमा छौँ,’ ओलीले भने, ‘हामी सामाजिक सद्भावको पक्षमा छौँ । राष्ट्रिय एकताको पक्षमा छौँ । सहअस्तित्व र सहकार्यको पक्षमा छौँ । पारस्परिक सम्मान र एकताको पक्षमा छौँ । सबैलाई समान अधिकार र अवसर उपलब्ध गराउने पक्षमा छौँ । सामाजिक न्याय र समानता उपलब्ध गराउने पक्षमा छौँ । विद्वेष, विरोधको राजनीति होइन, हाम्रो नीति राष्ट्रिय एकताको हो ।’
पूर्वमाओवादी तप्कालाई आफूसँग जोडिराख्न ओलीले शान्ति–प्रक्रियाको विषयलाई पनि एमालेले चुनावी एजेन्डा बनाएर लैजाने स्पष्ट गरे । ‘अहिलेसम्म पनि शान्ति–प्रक्रिया टुंगिएको छैन । नेकपा माओवादी केन्द्र प्रचण्डजीको नेतृत्वमा छ । अहिले पनि शान्ति–प्रक्रिया किन टुंगो लगाउनुहुन्न उहाँहरू, किन घाइतेहरूको बन्दोबस्त गर्नुहुन्न, जेलमा रहेका झुटा मुद्दाहरू किन खारेज गर्नुहुन्न, किन घाइतेको उपचार हुँदैन, किन बहिर्गमित लडाकुको व्यवस्थापन हुँदैन ?’ ओलीले भने, ‘र, म भन्न चाहन्छु– अब यो महाधिवेशन अन्त्य हुनेबित्तिकै, महाधिवेशन सम्पन्न हुनेबित्तिकै हामी पूर्वलडाकुहरूको व्यवस्थापन गर्नेछौँ । पूर्वलडाकुहरू नेकपा (एमाले)मा प्रवेश गर्दै हुनुहुन्छ । र दशौँ हजारको संख्यामा हामी पूर्वलडाकुहरूलाई एमालेमा प्रवेश गराउँदै छौँ ।’ ओलीको इसारा प्रचण्डकै कारण यी काम टुंगिएनन् भन्ने थियो ।
ओलीले तराई–मधेसको मनोविज्ञान जित्ने गरी संविधान संशोधनको मुद्दालाई पनि खुला राख्ने चुनावको अर्को एजेन्डा बनाएका छन् । ओलीले आवश्यकता र औचित्यका आधारमा नेपालको संविधान संशोधन हुन सक्ने मान्यता एमाले पार्टीको रहेको स्पष्ट पारे । ‘त्यो नेपाली जनताका लागि आवश्यक पर्दा आवश्यकताअनुसार औचित्यका आधारमा संशोधन हुन सक्दछ । र नेपाली जनतालाई आवश्यक पर्दा, नेपालको विकासका लागि आवश्यक पर्दा संविधानमा आवश्यक संशोधन हुन सक्दछ । हामी त्यस मान्यतामा छौँ,’ ओलीले भने ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई पाँचदलीय गठबन्धनमा रहेका दलका नेताहरूले नै असहयोग गरेको ओलीको दाबी छ । ओलीले यस्तो असहयोग माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबाट भएको इसारा गरे । ओलीले आफूलाई काम गर्न नदिनेहरूले अहिले देउवाको खुट्टा समातेको आरोप लगाएका थिए । ‘म अहिलेको सरकारका सम्बन्धमा केही भन्न चाहन्नँ । सम्माननीय प्रधानमन्त्रीज्यूलाई आमन्त्रण गरेका छौँ, उहाँलाई मञ्चमा अतिथि बनाएर राखेर टिप्पणी गर्नु वाञ्छनीय पनि हुँदैन । प्रधानमन्त्रीज्यू सायद काम गर्न चाहनुहुन्थ्यो कि ! तर, प्रधानमन्त्रीजीलाई काम गर्न गाह्रो छ कि ! मलाई अप्ठ्यारो पार्नेहरू, मेरा खुट्टा तान्नेहरू आज उहाँका खुट्टा समातिराखेका छन्,’ उनले भने ।
ओलीले चुनावी मोर्चामा सफलता प्राप्त गर्ने गरी लोकतान्त्रिक अभ्यासका साथ महाधिवेशनलाई सम्पन्न गर्ने बताए । ‘सहमतिका साथ होस् अथवा लोकतान्त्रिक अभ्यास गरेर होस्, हामी अत्यन्तै सौहार्दपूर्ण वातावरणमा उच्चस्तरको समझदारी, सहमति, एकताका साथ र लोकतान्त्रिक अभ्यासका साथ महाधिवेशनलाई सम्पन्न गर्छौँ,’ ओलीले भने । १५–१७ असोजको विधान महाधिवेशनलगत्तै एमाले चुनावी तयारीमा लागेको थियो । राष्ट्रिय महाधिवेशनबाट पाँच वर्षका लागि केन्द्रीय नेतृत्व तय गरेर सम्पूर्ण शक्ति चुनावतिर लगाउने एमालेको योजना छ ।