मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
सुरेन्द्र पाण्डे, सहसंयोजक, महाधिवेशन मूल व्यवस्थापन समिति
२०७८ मङ्सिर १० शुक्रबार ०७:५२:००
Read Time : > 2 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

दशौँ महाधिवेशनलाई सर्वसहमतिकै बनाउने प्रयास भइरहेको छ : सुरेन्द्र पाण्डे

Read Time : > 2 मिनेट
२०७८ मङ्सिर १० शुक्रबार ०७:५२:००

महाधिवेशन मूल व्यवस्थापन समितिको सहसंयोजक हुनुहुन्छ, तयारीसम्बन्धी के–के काम सकिए ?
प्रत्यक्ष र अप्रत्यक्ष दुवै तरिकाले महाधिवेशनको तयारी सम्पन्न गरेका छौँ । प्रतिनिधि छनोटको काम सम्पन्न भइसकेको छ । महाधिवेशनमा एक सय ६ जना मनोनीतसहित करिब २३ सय प्रतिनिधि सहभागी हुँदै हुनुहुन्छ । दोस्रो, उद्घाटनमा पाँच लाख जनसमुदाय सहभागी गराउने तयारी गरेका छौँ । सबै जिल्लाका विभिन्न ठाउँबाट जनसमुदाय उद्घाटनमा आउँदै हुनुहुन्छ । चितवनमा आवागमन धेरै बाक्लो भइसकेको छ । जता हेर्दा पनि महाधिवेशनमय माहौल छ । पाँच हजार स्वयंसेवक महाधिवेशन उद्घाटन व्यवस्थापनका लागि परिचालन गरिएको छ । तेस्रो, उद्घाटन समारोहको व्यवस्थापनका सन्दर्भमा चउरका सातवटा खण्डमध्ये उत्तरतिरको खण्डबाट भिआइपी प्रवेश गराएर मञ्चमा लैजान्छौँ । बाँकी खण्डहरूबाट महाधिवेशन प्रतिनिधि र जनसमुदायहरू प्रवेश गर्नुहुनेछ । 

महाधिवेशनको उद्घाटनमा पार्टी नेताहरू र विदेशी पाहुनाहरूको कस्तो सहभागिता हुँदै छ ? 
उद्घाटन समारोहमा सातवटा पार्टीका प्रमुख नेताहरू आउने निश्चित भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा आउँदै हुनुहुन्छ । नेकपा माओवादी केन्द्रबाट पनि नेता आउनुहुन्छ भन्ने जानकारी प्राप्त भएको छ, तर को आउनुहुन्छ, त्यो नाम उपलब्ध भइसकेको छैन । जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपाबाट महन्थ ठाकुर, राप्रपाबाट कमल थापा, राजमोबाट चित्रबहादुर केसी र नेमकिपाबाट पनि नेता सहभागी हुनुहुनेछ । त्यस्तै, विदेशी अतिथिहरू पनि आउनुभएको छ । उहाँहरूलाई हामीले खुलासत्रमा आसनग्रहण मात्र गराउनेछौँ । बन्दसत्रमा ११ मंसिर बिहान उहाँहरूले शुभकामना दिनुहुनेछ । उद्घाटनसत्रमा चाहिँ पार्टीका नेताहरूले मात्र बोल्नुहुनेछ ।

पाँच लाख जनसमूह उतार्ने तयारी छ भन्नुभयो, सुरक्षालगायतका प्राविधिक तयारी के छन् ? 
सुरक्षा–प्रबन्धका लागि मूलतः राज्यका सुरक्षाकर्मीहरू नै परिचालित हुनुभएको छ । सुरक्षा–व्यवस्थाका लागि जनपद प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरीको संख्या समन्वयमा विस्तार भएको छ । १३ ठाउँमा पार्किङको व्यवस्था गरेका छौँ । जिल्ला र त्यसभन्दा माथि एआइजी सहकुल थापाको नेतृत्वमा सुरक्षाकर्मी परिचालन भएको छ । गण्डकी र बागमती प्रदेशका डिआइजीहरू पनि अहिले सुरक्षा व्यवस्थापनका लागि चितवनमै खटिएर आउनुभएको छ । उहाँहरूले आ–आफ्नो प्रदेशको समन्वय गर्नुहुनेछ । त्यस्तै, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानबाट पनि एआइजीकै नेतृत्वमा सुरक्षा अधिकारीहरू आउनुभएको छ । कुनै सवारी बिग्रिएर बाटोमा आउन कठिन हुन्छ कि भन्ने लागेर उद्घाटनका लागि आउने गाडीलाई प्राथमिकता दिएर अरू हेभी गाडी ५ बजेसम्म रोकेर उद्घाटनसत्रका लागि आउने जनसमुदायलाई प्राथमिकता दिने गरी ट्राफिक प्रहरीले समन्वय गरिरहेको छ । 

उपस्थित जनसमुदायको स्वास्थ्य र सुरक्षालाई ख्याल गरेर दमकल, एम्बुलेन्सको व्यवस्था गरिएको छ । नदीमा केही भइहालेमा उद्धारका लागि मोटरबोटहरू तयारी हालतमा राखिएका छन् । ठाउँठाउँमा गाडी बिग्रिएको अवस्थामा साइड लगाउन क्रेनको व्यवस्था गरेका छौँ र सम्पूर्ण हिसाबले तयारी भएको छ । बन्दससत्रमा स्वागतद्वार बनेका छन्, सेभेन स्टार होटेलमा बन्दसत्र हुन्छ, मतदानस्थल पनि निर्माण गरिसकेका छौँ । 

महाधिवेशन सुरु भइसक्यो, अध्यक्षले सर्वसहमतिमै नेतृत्व चयन गर्ने भन्दै आउनुभए पनि अब त्यो सम्भावना टरेको हो ? 
त्यस्तो होइन, दशौँ महाधिवेशनलाई सर्वसहमतिकै बनाउने प्रयास चलिरहेकै छ । सबै नेताले पार्टीविशेष परिस्थितिमा रहेको हुनाले यसपटक नेतृत्वमा सर्वसहमति गरौँ र आउने चुनौतीलाई सम्बोधन गर्नेगरी जाऔँ भन्नुभएको छ । पार्टीलाई थप एकताबद्ध र सुदृढ गर्ने गरी एउटा स्पष्ट आह्वानका साथ महाधिवेशन सम्पन्न गर्नुपर्नेमा नेताहरूले जोड दिइरहनुभएको छ । 

उद्घाटनसत्रमा जनसमुदायलाई आगामी निर्वाचनमा एमाले एक्लैले जित्न किन आवश्यक छ, हाम्रासामु कस्ता जिम्मेवारी र चुनौती छन् भन्ने अवगत गराएर पार्टीलाई एकताबद्ध बनाउने उद्घोष गरिनेछ । त्यसबाट पार्टीका तमाम कार्यकर्ता, समर्थक, शुभेच्छुक सबै एउटा आत्मविश्वास र रक्तसञ्चारका साथ आ–आफ्ना जिम्मेवारीमा फर्किनेछन् । अहिले त्यो संकल्प पूरा गर्ने गरी नेतृत्व चुनिनुपर्छ र सहमतिबाटै भयो भने त्यसले नयाँ रक्तसञ्चार, उत्साह र बल प्रदान गर्नेछ भन्ने हिसाबले प्रयास भइरहेको छ । त्यसका लागि अझै समय आइसकेको छैन, समय आएपछि त्यो पनि हुनेछ ।