मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
बिहीबारको खेलमा कुवेतविरुद्ध विकेट लिएपछि खुसी मनाउँदै नेपाली टोली ।
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर १० शुक्रबार ०६:५८:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

कुवेतमाथि नेपालको सानदार जित

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर १० शुक्रबार ०६:५८:००

- आइसिसी महिला टी–२० विश्वकपअन्तर्गत एसियन छनोटमा नेपालले ९९ बलअघि नै कुवेतलाई नौ विकेटले हरायो

- पहिलो ब्याटिङ गरेको कुवेत १५.२ ओभरमा २७ रनमै समेटियो, प्रत्युत्तरमा नेपालले ३.३ ओभरमा एक विकेट गुमाउँदै २८ रन जोड्यो

नेपालले आइसिसी महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत एसियन छनोटमा लगातार दोस्रो खेलमा सानदार जित निकालेको छ । नेपाली महिला क्रिकेट टोलीले बिहीबार कुवेतमाथि नौ विकेटको जित निकाल्दा इनिङ्समा ९९ बल खेल्न बाँकी नै थियो । युएईको आइसिसिए २ मैदानमा पहिलो ब्याटिङ गरेको कुवेतले १५.२ ओभरमा २७ रनको न्यून योगफलमै समेटियो । प्रत्युत्तरमा नेपालले ३.३ ओभरमा एक विकेट गुमाउँदै २८ रन जोड्यो।

नेपाल आफ्नो पहिलो खेलमा हङकङसँग पराजित भएको थियो । दोस्रो खेलमा नेपालले भुटानमाथि सानदार जित निकालेको थियो । जितसँगै नेपालले ग्लोबल छनोटको आशा यथावत् नै राखेको छ । युएईले तीन खेलमा शतप्रतिशत जित निकाली सर्वाधिक ६ अंक जोडेको छ । युएई शीर्ष स्थानमा छ । नेपाल र हङकङले तीन खेलबाट समान चार अंक जोडेका छन् । रनरेटमा नेपाल दोस्रो तथा हङकङ तेस्रो स्थानमा छ ।

अंकतालिकामा कुवेतले खाता खोलेको छैन । कुवेतले खेलका तीनै खेल गुमाएको छ । मलेसिया र भुटानले तीन खेलमा समान एक जित निकालेका छन् । एसियन छनोटको शीर्ष स्थानमा रहने टोली ग्लोबल प्रतियोगितामा प्रवेश गर्ने प्रावधान छ । कुवेतमाथि फराकिलो सफलता निकाल्ने क्रममा नेपालकी कप्तान रुविना क्षेत्रीले १२ रन तथा इन्दु बर्माले १३ रनको योगदान दिएका थिए ।

ओपनर सीताले तेस्रो बलमै विकेट गुमाइन् 
सहज लक्ष्य पछ्याएको नेपालले इनिङ्सको ०.६ ओभरमा ओपनर सीता रानामगरको विकेट गुमाएको थियो । सीताले सामना गरेको तेस्रो बलमै आफ्नो विकेट गुमाइन् । उनी शून्य रनमा आउट भइन् । त्यसपछि रुविना र इन्दुबीच दोस्रो विकेटका लागि २७ रनको साझेदारी भयो । रुविना र इन्दुले समान एक चौका प्रहार गरे । कुवेतका लागि मारिया जास्भीले १५ रन खर्चेर एक विकेट लिइन् ।

यसअघि ब्याटिङ गरेको कुवेतले नेपालको कसिलो बलिङ सामना गर्न सकेन । नेपालका तीन बलरले उत्कृष्ट बलिङ स्पेल गर्दा कुवेतका ११ जना ब्याट्सम्यानले समग्रमा ९२ बल सामना गरे । १५.२ ओभरमा कुवेत अलआउट हुँदा प्रतिओभर १.७२ रनरेट मात्र रह्यो । नेपालकी संगीता राईले २.४ ओभरमा दुई रन मात्र खर्चेर सर्वाधिक तीन विकेट हात पारिन् । 

कप्तान रुविनाले दुई विकेट लिइन्
कप्तान रुविनाले तीन ओभरमा दुई मेडन राखी दुई विकेट लिइन् । उनले दुई मेडन ओभर गरिन् । नेपालका लागि करुणा भण्डारीले तीन ओभरमा आठ खर्चेर दुई तथा सरस्वती कुमारीले पाँच रन दिँदै एक विकेट हात पार्दा कुवेतका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्नै सकेनन् । 

कुवेतले इनिङ्सको १.१ ओभरमा विकेट गुमाउन सुरु गरेको थियो । इनिङ्सको ९.५ र ९.६ ओभरमा कुवेतले लगातार विकेट गुमाएको थियो । इनिङ्सको १५औँ ओभर र व्यक्तिगत तेस्रो ओभर फ्याक्न आएकी संगीताले चार बलको अन्तरमा तीन विकेट लिँदै कुवेतलाई २७ रनमा सीमित पारिन् । उनले १५.१ ओभरमा आकृति बोसे, १५.३ ओभरमा बलासुब्रमानी शान्ति र १५.४ ओभरमा ग्लेन्डा मेन्सेसको विकेट लिएकी हुन् । 

कुवेतको कमजोर ब्याटिङ प्रदर्शनमा ओपनर प्रयादा मुरलीले मात्र दोहोरो रन बनाइन् । ओपनरसमेत रहेकी मुरलीले २० बल सामना गरी सर्वाधिक १० रन जोड्दा दुई चौका प्रहार गरिन् । कुवेतका सात ब्याट्सम्यानले खाता नै खोलेनन् । कुवेतले २४ रनको योगफलमा तीन ब्याट्सम्यान गुमाएको थियो । तेस्रो क्रमकी ब्याट्सम्यान मार्याम ओमारले १९ बलमा सात रन तथा मारिया जास्भीले १४ बलमा पाँच रन बनाए । 

हङकङ चार विकेटले विजयी
प्रतियोगिताअन्तर्गत बिहीबारै हङकङले मलेसियालाई चार विकेटले हराएको छ । मलेसियाले पहिलो ब्याटिङ गरी पाँच विकेट गुमाएर एक सय एक रन जोडेको थियो । प्रत्युत्तरमा हङकङले १७.४ ओभरमा ६ विकेट गुमाउँदै एक सय दुई रन बनाउँदै छनोट चरणमा दोस्रो जित निकाल्यो ।