पदाधिकारीसहित दुई सय २५ सदस्यीय केन्द्रीय कमिटीमा प्रवेशका लागि कम्तीमा ६ सयदेखि आठ सय प्रतिनिधिको दौड
सर्वसम्मतको प्रयास सफल नभए एमाले दशौँ महाधिवेशनमा प्रतिनिधिको कम्तीमा एकतिहाइ संख्या केन्द्रीय सदस्यको उम्मेदवार बन्ने सम्भावना देखिएको छ । यसैलाई आकलन गरेर एमालेले निर्वाचनको तयारी पनि गरेको छ ।
आकांक्षीको संख्या उच्च छ : शेरबहादुर तामाङ केन्द्रीय कार्यालय सचिव
आकांक्षीको संख्या उच्च छ । तर, उम्मेदवारी मनोनयनसम्म पुग्दा संख्या स्वात्तै घट्न पनि सक्छ, अझ बढ्न पनि सक्छ । खुला उम्मेदवारी घोषणा नगरे पनि आकांक्षीले भित्रभित्रै चाहना प्रकट गरिरहनुभएकै छ । हामीले आकांक्षीको संख्या अनुमान गरेरै निर्वाचनका लागि भोटिङ मेसिनमा प्राविधिक पक्ष मिलाएर सेटअप गरिरहेका छौँ । उम्मेदवार सबैको नाम र फोटो राख्ने व्यवस्था गरिएको छ । आकांक्षीहरूमा सहमति हुँदा परिएन भने पनि ठीकै छ एउटा र अर्को यसपटक छाडिन्न भन्ने दुवैखाले मनोविज्ञान छ । यद्यपि, आमकार्यकर्तामा यसपटकको महाधिवेशनबाट सहमतिमै नेतृत्व चयन होस् भन्ने भावना देखिन्छ ।
नेतृत्वले महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास गरिरहेका कारण उद्घाटनको चार दिनअघिसम्म छिटफुटले मात्रै उम्मेदवारी घोषणा गरे पनि अधिकांश आकांक्षीले पार्टी नेताहरू र प्रतिनिधिहरूबीचमै आन्तरिक लबिङ सीमित गरेका छन् । अध्यक्ष केपी ओलीनिवासमा झिसमिसेदेखि मध्यरातसम्म र केन्द्रीय कार्यालय थापाथलीमा दिउँसो नेताहरूलाई भेटेर आकांक्षीहरूले आन्तरिक ‘लबिङ’ जारी राखेका छन् ।
१० देखि १२ मंसिरमा चितवनमा सम्पन्न हुने दशौँ महाधिवेशनमा पदेन र मनोनीतसहित एक हजार नौ सय ९९ जना प्रतिनिधि सहभागी हुने भनिएको थियो । तर, अन्तिमसम्म डेढ लाख संगठित सदस्य थपिएकाले प्रतिनिधि संख्या करिब दुई सयसम्म बढ्न सक्ने केन्द्रीय कार्यालयले जनाएको छ ।
आकांक्षीहरूको पछिल्लो ‘लबिङ’लाई समेत हेरेर पार्टी केन्द्रीय कार्यालयले उनीहरूमध्ये कम्तीमा तीसदेखि बढीमा ४० प्रतिशतसम्म उम्मेदवार बन्ने आकलनसहित निर्वाचनको तयारी गरिरहेको छ । यस हिसाबले हेर्दा पदाधिकारीसहित दुई सय २५ सदस्यीय केन्द्रीय कमिटी सदस्यका लागि कम्तीमा ६ सयदेखि आठ सय आकांक्षीहरूले उम्मेदवारीको तयारी गरेका छन् ।
सर्वसहमतिका लागि गृहकार्य चलिरहे पनि पदाधिकारीबाहेक केन्द्रीय कमिटी सदस्यमा आकांक्षी व्यवस्थापन धेरै जटिल रहेकाले मतदानको सम्भावनालाई ध्यान दिएरै निर्वाचन आयोगले तयारी गरिरहेको छ । केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले आकांक्षीको सूची उच्च रहेकाले निर्वाचनका लागि त्यसअनुसार नै भोटिङ मेसिनको प्राविधिक तयारी गरिरहेको जानकारी दिए ।
एमालेमा अहिले एक सय ९६ जनाको केन्द्रीय कमिटी रहेको छ । उनीहरूमध्ये तीन दर्जनजति नेता पदाधिकारीका आकांक्षी भए पनि कम्तीमा एक सय ५० जना पुरानै अनुहार दशौँ महाधिवेशनमा पनि उम्मेदवार बन्दै छन् । यसअघि केन्द्रीय सदस्यका लागि पटक–पटक प्रयास गरेर असफल भएकादेखि प्रदेश र जिल्लाको नेतृत्वमा बसेर काम गरेका सम्पर्क समन्वय कमिटी, प्रवास र जनसंगठनमा काम गरेका पदाधिकारी तहका नेताहरू, केन्द्रीय सदस्य नरहेका संघ र प्रदेशका सांसदहरूसहित करिब ६ सयआसपास नयाँ आकांक्षीले केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने मनस्थिति बनाएका छन् ।
महाधिवेशनबाट दुईतिहाइ एक सय ५० पुरुष, एकतिहाइ महिला अर्थात् ७५ जना केन्द्रीय सदस्यमा निर्वाचित हुनेछन् । उनीहरूमध्ये ६० पुरुष र ३८ महिला खुला क्षेत्रबाट तथा सात प्रदेशबाट २८ पुरुष र १४ महिलासहित ४२ जना केन्द्रीय सदस्य निर्वाचित हुँदै छन् । एमालेमा नौवटा क्षेत्रबाट केन्द्रीय सदस्य निर्वाचित हुँदै छन् ।
उच्च स्रोतका अनुसार केन्द्रीय कमिटी सदस्य सर्वसम्मत भएको खण्डमा एक सय ६० आसपास पुरानै केन्द्रीय सदस्य दोहोरिनेछन् भने करिब ७० जनाआसपासको संख्यामा मात्र नयाँ केन्द्रीय सदस्यले प्रवेश पाउनेछन् । त्यसका लागि शीर्ष तहमा विकल्पसहितको गृहकार्यसमेत भइरहेको उच्चस्रोतको दाबी छ । तर, आकांक्षीको संख्या बढ्दो रहेकाले चुनावी सम्भावना पनि अधिक रहेको नेताहरूको भनाइ छ ।
एमालेको विधानमा केन्द्रीय सदस्यका लागि १० वर्ष पार्टी सदस्य भएर केन्द्रीय कमिटी वा केन्द्रीय निकायको सदस्य वा प्रदेश कमिटीको सदस्य वा केन्द्रीय विभागको सदस्य वा जिल्ला कमिटीको पदाधिकारी वा जनसंगठनको केन्द्रीय पदाधिकारी भई एक कार्यकाल काम गरेको हुनुपर्ने योग्यता छ । तर, महिला, दलित, श्रमिक, अल्पसंख्यक, आदिवासी–जनजाति र अपांगता भएका व्यक्तिको हकमा एक कार्यकाल जिल्ला कमिटी वा त्यसभन्दा माथिल्लो कमिटीको सदस्य भई काम गरेको र सात वर्ष पार्टी सदस्य भई काम गरेको अनुभव हुनुपर्ने व्यवस्था छ ।
पार्टी बलियो बनाउन नयाँ पुस्ताको उपस्थिति जरुरी छ : डा. दीपकप्रकाश भट्ट नेता, एमाले
समाजवादको दिशामा अगाडि बढ्न र पार्टी एकता बलियो बनाउन पनि दशौँ महाधिवेशनबाट नयाँ पुस्ताको प्रभावशाली उपस्थिति केन्द्रीय कमिटीमा जरुरी छ । विभिन्न आन्दोलनको क्षेत्रमा काम गरेका युवाहरूको प्रवेश बढाउन यदि हामी कतै विधानमा चुकेका छौँ भने पनि सर्वोच्च महाधिवेशनबाट सच्याएर नयाँलाई अवसर दिनुपर्छ, त्यसका लागि नेतृत्वको ध्यानाकर्षण गराउन आवश्यकता पर्यो भने सबैले घचघच्याउनुपर्छ ।
७०–८० जना नयाँ अनुहार समेट्ने, केहीलाई विभिन्न आयोगमा पठाउने, प्रदेश अधिवेशनमा जिम्मेवारी दिने र आवश्यक परे विधान संशोधनमार्फत केन्द्रीय कमिटीको आकार बढाएर आकांक्षीलाई व्यवस्थापन गर्ने ओलीको योजना छ । पार्टी एकीकरणबाट नेकपा बन्दा ४१ जना मनोनीत केन्द्रीय सदस्य भएका थिए । उनीहरूमध्ये महेश बस्नेत, आनन्दप्रसाद पोखरेल, विष्णु रिजाल, गोकुल बाँस्कोटा, नरुलाल चौधरी, राजेन्द्र गौतम, डा. युवराज खतिवडा, रामेश्वर फुँयाल, देवी ज्ञवाली, डोरमणि पौडेललगायत सबैजसो महाधिवेशनबाटै निर्वाचित हुने गरी प्रतिस्पर्धाको तयारीमा छन् ।
यी हुन् नयाँ आकांक्षी
एमालेमा सातवटै प्रदेश, गैरभौगोलिक क्षेत्र, जनसंगठनबाट, विभिन्न क्लस्टरबाट नयाँ आकांक्षी छन् । केन्द्रीय सदस्यका नयाँ आकांक्षी डा. दीपक भट्टले पार्टी एकतापछि सम्पन्न पाँचौँ महाधिवेशनमा जस्तै दशौँ महाधिवेशनबाट नेतृत्वले एकीकरणको धार पक्रिएर एमालेमै रहेको पूर्वमाओवादी समूह, विभाजन अस्वीकार गर्दै दशबुँदे सहमति गरेर पार्टी एकताको पक्षमा उभिएको धारलाई समेटेर नेतृत्वले एकताको सन्देश दिन सक्नुपर्ने बताए । त्यसक्रममा आन्दोलनको विभिन्न क्षेत्रमा काम गरेका धेरै युवालाई केन्द्रीय कमिटीमा प्रवेशका लागि अवसर दिने कुरामा नेतृत्वसहित सबैले ध्यान दिनुपर्ने उनको भनाइ छ ।
‘समाजवादको दिशामा अगाडि बढ्न र पार्टी एकता बलियो बनाउन पनि दशौँ महाधिवेशनबाट नयाँ पुस्ताको प्रभावशाली उपस्थिति केन्द्रीय कमिटीमा जरुरी छ,’ भट्टले भने, ‘विभिन्न आन्दोलनको क्षेत्रमा काम गरेका युवाहरूको प्रवेश बढाउन यदि हामी कतै विधानमा चुकेका छौँ भने पनि सर्वोच्च महाधिवेशनबाट सच्याएर नयाँलाई अवसर दिनुपर्छ, त्यसका लागि नेतृत्वको ध्यानाकर्षण गराउन आवश्यकता प¥यो भने सबैले घचघच्याउनुपर्छ ।’
नयाँ आकांक्षीहरूमा विभिन्न क्षेत्रमा काम गरेका थुप्रै केन्द्रीय सदस्यको उम्मेदवारीका लागि दाबेदार छन् । रवीन्द्र अधिकारी, शिव गुरुङ, डा. दीपक भट्ट, विद्या भट्टराई, पदम गिरी, लालकुमार केसी, राजेन्द्र राई, भूमि त्रिपाठी, विद्यासुन्दर शाक्य, वसन्त नेम्वाङ, जय राई, नवराज सिलवाल, कोमल वली, नारायण सिलवाल, सोभियत ढकाल आकांक्षी छन् ।
त्यस्तै, भगवती न्यौपाने, नविना लामा, ऐन महर, रश्मी आचार्य, रमेश पौडेल, जनार्दन ढकाल, गगन विष्ट, राजेन्द्र अर्याल, किशोरविक्रम मल्ल, गणेश बस्नेत, रत्न गौतम, निर्मला शर्मा, राजीव पहारी, उषाकला राई, सरस्वती बस्नेत, केशव पाण्डे, प्रभा बराल, कल्पना थापा, नारायण खतिवडा, किरण पौडेल र दावा लामा आकांक्षी छन् ।
त्यस्तै, जगन्नाथ थपलिया, रणकुमारी बलमपाकीमगर, ईश्वरचन्द्र पोखरेल, श्याम बस्नेत, नरेन्द्र श्रेष्ठ, इन्द्र भण्डारी, शान्ति पाख्रिन, सुरेश नेपाल, सुभाष कर्माचार्य, सरिता न्यौपाने, अनन्त पौडेल, कृष्णभक्त पोखरेल, कृष्ण थापा, भीम कार्की, पुण्य पौडेल, विकास लम्साल, कल्पना चापागाईं, भक्त गुरुङ, भीमज्वाला राई, नारायण मरासिनी, सीता सुन्दास, मीन गुरुङ, मोहन रेग्मी आकांक्षी छन् ।
त्यस्तै, मुक्ति पाठक, नवराज शर्मा, भूपेन्द्र थापा, हरिकृष्ण श्रेष्ठ, गोविन्द नेपाली, इन्द्रलाल सापकोटा, हीरा केसी, डा. सूर्य पाठक, टासी गुरुङ, प्रेम तुलाचन, चन्द्रमोहन गौचन टुकराज सिग्देल, केदार सिग्देल, मायानाथ अधिकारी, जमिन्द्रमान घले, टुका हमाल, धनञ्जय दवाडी, रामशरण बस्नेत, सम्झना देवकोटा, तिलक महत, रोशन गाहामगर, अशोक ब्याञ्जू आकांक्षी छन् ।
त्यस्तै, तुलसी चौधरी, बलबहादुर सामसोहाङ, विनोद ढकाल, बलराम अधिकारी, शिव सुवेदी, बलबहादुर आचार्य, भोजप्रसाद श्रेष्ठ, भूमिश्वर ढकाल, चेतनारायण आचार्य, राधाकृष्ण कँडेल, झपिन्द्र जिसी, मधुकृष्ण पन्त, वसन्ती अधिकारी, रत्न खत्री, सूर्य ढकाल, गोमा आचार्य, सावित्रा अर्याल, नवीन रोका, दधिराम न्यौपाने, दिनेश पन्थी, चन्द्रबहादुर खड्का पनि आकांक्षी रहेका छन् । त्यस्तै, नयाँ आकांक्षीमै मेनुका काफ्ले, निलम खनाल, तुलसी न्यौपाने, छत्रपति प्याकुरेल, चन्द्रा श्रेष्ठ, नेल्सन शाही, बदनी कुँवारी, कौशिला खत्री, कमला ओली, मोहनमाया ढकाल, नवराज महतरा, ध्रुव शाही, भैरवसुन्दर श्रेष्ठलगायत रहेका छन् ।
महाधिवेशन स्थलमा ९२ वटा भोटिङ मेसिन, चार घन्टाभित्रै नतिजा आउने
भरतपुर/चितवनमा हुने आसन्न दशौँ महाधिवेशन ‘डिजिटलाइज्ड’ बनाउन खोजेको एमालेले मतदानका लागि ९० वटा भोटिङ मेसिन राख्ने भएको छ । नतिजा पनि मतदान सकिएको चार घन्टामै आउने जनाएको छ ।
९० बाहेक थप १० वटा मेसिन पनि ‘ब्याकअप’मा राख्ने र आवश्यक पर्दा सबै प्रयोगमा ल्याउन सकिने एमाले कानुन आयोगका प्रमुख विजय सुब्बाले बताए । उनका अनुसार हरेक मेसिनमा २० जनाका दरले मतदाता बाँडिनेछन् । भोट गर्न एकजना मतदातालाई कम्तीमा आधा घन्टा समय लाग्ने मेसिन निर्माण कम्पनी राम–लक्ष्मण इनोभेसनको आकलन छ ।
सुब्बाले भने, ‘दुई हजारजति मतदाता हुन्छन् । ९२ वटा मेसिनमा २० जनाका दरले मतदाताहरू भोटिङमा सामेल हुनेछन् । एकजनाले आधा घन्टा समय लिँदा १० देखि १२ घन्टामा मतदान सकिन्छ भन्ने हाम्रो आकलन छ ।’
नौ सय ९९ सम्म उम्मेदवारका लागि भोटिङ गर्न मिल्ने गरी सफ्टवेयर निर्माण गरिएको राम–लक्ष्मण इनोभेसनले जनाएको छ । कम्पनी सञ्चालकमध्येका एक रामप्रसाद रिमालले भने, ‘धेरैमा नौ सय ९९ जनासम्म उम्मेदवारलाई एउटा मेसिनले सपोर्ट गर्छ । उहाँहरूले भन्नुभएअनुसार त्यो सिस्टम पर्याप्त छ । यो मेसिन हामीले यहीँ बनाएको हो । नौ सय ९९ भन्दा बढी उम्मेदवार हुने चुनाव भयो भने ‘कस्टमाइज’ गर्न सकिन्छ । तर, हामीसँग त्यो मात्रै होइन, अन्तर्राष्ट्रिय स्तरको भोटिङ गर्नलाई पनि सिस्टम तयारी नै छ । त्यो भनेको ९९ हजार नौ सय ९९ हो ।’ सबै भोटिङ सकिएपछि आधिकारिक रूपमा नतिजा सार्वजनिक गरिनेछ ।