१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर ६ सोमबार
  • Sunday, 29 September, 2024
२o७८ मङ्सिर ६ सोमबार १४:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस प्रदेश सभा अधिवेशन : रोल्पामा संस्थापनइतर पक्ष बलियो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर ६ सोमबार १४:१o:oo

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत रोल्पाको दुई प्रदेश क्षेत्रीय अधिवेशनमा दुर्गाबहादुर खड्का र गोपाल घर्तीमगर विजयी भएका छन् । सुलिचौरमा आइतबार र सोमबार भएको मतदान प्रक्रियाबाट प्रदेश सभा ‘क’ मा खड्का र प्रदेश सभा ‘ख’मा घर्तीमगर विजयी भएको कांग्रेसले जनाएको छ।

निर्वाचनका लागि पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले छुट्टाछुट्टै प्यानल बनाएका थिए। जिल्लामा देउवा पक्षतर्फ निवर्तमान जिल्ला सभापति कृष्णबहादुर घर्तीमगर र पौडेल पक्षतर्फ वर्तमान सभापति अमरसिंह पुनमगरको प्यानल थियो। रोल्पा कांग्रेसले स्थानीय तहको अधिवेशन सर्वसम्मत रूपले गरे पनि प्रदेश क्षेत्रीय निर्वाचनमा भने सर्वसम्मत गर्न सकेन। जिल्लामा दुई निर्वाचन क्षेत्रमा दुवै समूहले सभापति जितेका छन्। 

प्रदेश ‘क’मा देउवानिकट मानिने खड्काले निकटतम प्रतिस्पर्धी सिमबहादुर विष्टलाई १७ मतान्तरले पछि पार्दै सभापतिमा विजयी भएका छन्। प्रदेश सभा ‘क’मा जम्मा चार सय १८ मत खसेको थियो। १३औँ महाधिवेशनमा खड्कालाई पराजित गरेका विष्ट १४औँ महाधिवेशनमा खड्काबाटै पराजित भएका छन्। खड्का सभापतिमा निर्वाचित भए पनि उनको प्यानलले भने पराजय व्यहोर्नुपरेको छ।

प्रदेशसभा ‘ख’को घर्तीगाउँमा सम्पन्न निर्वाचनमा पौडेलनिकट गोपाल घर्तीमगर विजयी भएका छन्। निकटतम प्रतिस्पर्धी दिलमन बुढाथोकीलाई ६५ मतान्तरले पछि पार्दै घर्तीमगर विजयी भएका हुन्। जम्मा खसेको पाँच सय २९ मतमध्ये गोपाल घर्तीमगरले दुई सय ९२ र दिलमन बुढाथोकीले दुई सय २७ मत प्राप्त गरेका छन्। प्रदेश सभा ‘ख’मा सभापतिसहित सम्पूर्ण प्यानल नै पौडेल समूहले जितेको छ।