मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ मङ्सिर ३ शुक्रबार १७:४०:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

मनाङमा स्याउ टिप्ने चटारो, यसवर्ष १० प्रतिशतले उत्पादन बढ्ने अनुमान

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर ३ शुक्रबार १७:४०:००

यतिवेला मनाङमा स्याउ टिप्ने चटारो छ। मनाङको ङिस्याङ–१ भ्राताङको स्याउ बगैंँचामा दैनिक स्याउ टिप्नेको भिड लागेको छ। एग्रो मनाङको उक्त स्याउ फार्ममा मात्रै दैनिक ४० कामदार स्याउ टिप्न खटिने गरेका छन्। ‘हाई डेन्सिटी’ प्रविधिको उक्त फार्मको ७३५ रोपनीमा स्याउ फलेको छ। 

बगैँचामा ‘गाला’ जातका स्याउ पाकेसँगै कामदारहरूको चटारो बढेको हो। ‘कामदारहरू बगैँचाका स्याउ टिप्न व्यस्त छन्,’ एग्रो मनाङ प्रा.लि.का अध्यक्ष समराज गुरुङले भने। उनका अनुसार स्याउ टिप्न खटिएका ४० कामदारले दैनिक ५ सय किलोसम्म स्याउ टिप्ने गरेका छन्। ‘गाला’, ‘गोल्डेन’, ‘फुजी’ जातका स्याउ लगाइएको यस फार्ममा अघिल्लो वर्ष ४ सय मेट्रिक टन स्याउ फलेको थियो। यसवर्ष ५ सय मेट्रिक टन अर्थात् १० प्रतिशत बढी स्याउ उत्पादन हुने अनुमान गरिएको छ। 

मनाङ ङिस्याङको भ्राताङमा मात्रै होइन, चामे गाउँपालिका र नासों गाउँपालिकाका किसान पनि स्याउ टिप्न व्यस्त छन्। अहिले मनाङबाट काठमाडौं, पोखरा मात्रै नभएर तराईसम्म सडक पहुँच पुगेको छ। यसले गर्दा मनाङको स्याउले बजार पाउन थालेको छ।

‘हिजो धेरै स्याउ फल्ने थिएन। त्यही पनि मनाङमै खपत हुन्थ्यो। केही ठाउँमा मदिरा बनाइन्थ्यो। अहिले सडक बनेपछि काठमाडौंका तारे होटेलसहित तराईमा मनाङको स्याउ पुगेको छ,’ मनाङका संघीय सांसद एवं एग्रो मनाङका संस्थापक पोल्देन छोपाङ गुरुङले भने। मनाङमा उत्पादित स्याउ लमजुङको  बेँसीसहर हुँदै पोखरा, चितवन र काठमाडौंसम्म खपत हुने गरेको छ।