मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक ३० मंगलबार ०९:४४:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

गोरखा र नुवाकोटमा  ५० हजार घर पुनर्निर्माण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक ३० मंगलबार ०९:४४:००

भारत सरकारको आर्थिक सहयोगमा गोरखा र नुवाकोटमा ५० हजार घर पुनर्निर्माण सकिएको छ । ०७२ को भूकम्पले भत्काएका घर ६ वर्षमा पुनर्निर्माण भएको हो । सोमबार भारतीय दूतावास, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, युएनडिपी र युएनओपिएसले घर पुनर्निर्माण सम्पन्न भएको घोषणा गरेका हुन् । भूकम्पले ध्वस्त पारेका नुवाकोटका १० स्थानीय तहका २३ हजार ८८ घर र गोरखाका आठ स्थानीय तहका २६ हजार ९१२ घर पुनर्निर्माण सम्पन्न भएका हुन् । 

पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले तीन वर्षअघि सम्झौता भएका घर निर्धारित समयमै पुनर्निर्माण भएको बताए । प्राधिकरणले पुनर्निर्माणको अनुभव सुनाउन र अन्तर्राष्ट्रिय दातृनिकायको योगदानको कदर गर्न ७ देखि ९ डिसेम्बरसम्म अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको पनि उनले जानकारी दिए । पुनर्निर्माणका क्रममा अन्तर्राष्ट्रिय दातृनिकायले तीन अर्ब २१ अर्ब अमेरिकी डलर सहयोग सुनिश्चित गरेमध्ये तीन अर्ब १३ करोड डलरबराबरको सम्झौता भइसकेको पनि ज्ञवालीले बताए । ‘प्रतिबद्धता भएअनुसार ९७ दशमलव ५ प्रतिशत कार्यान्वयन भएको छ, यो हाम्रा लागि उत्साहजनक छ,’ ज्ञवालीले भने । 

भारतीय दूतावासकी उपनियोग प्रमुख नाम्ग्य सी खम्पाले नेपाल सरकारले अपनाएको घरधनी लक्षित पुनर्निर्माण पद्घतिअनुसार ५० हजार घर निर्माण सम्पन्न भएको जानकारी दिइन् । गोरखा र नुवाकोटका चार नगरपालिका र चौध गाउँपालिकाका भूकम्प प्रभावित लाभग्राहीले घर पाएकोमा भारत सरकार प्रसन्न भएको उनको भनाइ थियो । लाभग्राहीलाई सामाजिक–प्राविधिक सहजीकरण तथा परामर्श सेवा उपलब्ध गराउन २०१८ मार्चमा भारत सरकारले युएनडिपी र युएनओपिएसलाई पुनर्निर्माण परियोजनामा संलग्न गराएको थियो । 

भारतले पुनर्निर्माणका लागि १० करोड अमेरिकी डलर अनुदान र चौथो लाइन अफ क्रेडिटअन्तर्गतको पाँच करोड अमेरिकी डलर दिने प्रतिबद्धता जनाएको थियो । ‘गोरखा र नुवाकोटमा ५० हजार घर पुनर्निर्माण गर्न आर्थिक र प्राविधिक सहयोग प्रदान गर्न आवास क्षेत्रमा भूकम्पपछिको सहायता प्याकेजका रूपमा भारत सरकारले जम्मा १५ करोड अमेरिकी डलरको प्रतिबद्धता जनाएको थियो,’ भारतीय दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

पुनर्निर्माण परियोजनाबाट सिकेका पाठ÷अनुभवबारे सोमबार आयोजित कार्यक्रममा लाभग्राही स्थानीय बासिन्दा, स्थानीय तहका प्रमुखलगायतले अनुभव सुनाएका थिए । ‘भूकम्पबाट प्रभावित नेपालका कुल ११ जिल्लामा ७१ वटा शिक्षाको क्षेत्रसँग सम्बन्धित परियोजना, १३२ वटा स्वास्थ्य भवन तथा २८ वटा सांस्कृतिक सम्पदास्थलको पुनस्र्थापना÷प्रबलीकरणका लागि भारत सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग मिलेर काम गरिरहेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।