मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
३८० वर्षदेखि नरोकिएको नाच । तस्बिर : दीपेन्द्र ढुंगाना
२०७८ कार्तिक २९ सोमबार ०७:४७:००
Read Time : > 2 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

कात्तिक नाच : तीन सय ८० वर्षदेखि चलिरहेको नाट्य महोत्सव

Read Time : > 2 मिनेट
२०७८ कार्तिक २९ सोमबार ०७:४७:००

पाटन दरबार क्षेत्रको कात्तिक डबलीमा गत बुधबारदेखि ‘कात्तिक नाच’ जारी छ । आगामी बिहीबारसम्म चल्ने नाचमा हरेक दिन फरक–फरक कथामा आधारित नाच देखाइन्छ । यो नाच मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले सुरु गरेदेखि हरेक कात्तिक महिनामा चल्दै आएको छ । सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ ‘कात्तिक नाच’ चलाएको जनविश्वास छ । नेपाल संवत् ७६१ अर्थात् वि.सं १६९७ मा ‘कात्तिक नाच’को प्रारम्भ भएको इतिहासमा उल्लेख छ । नाचको प्रमुख विशेषता भनेको २७ दिनसम्म फरक–फरक कथामा आधारित रहेर नाच देखाउनु हो । कात्तिक महिनामा देखाइने भएकाले यस नाचलाई ‘कात्तिक नाच’ भनिएको संस्कृतिविद्हरू बताउँछन् । 

कात्तिक नाच संरक्षण समितिका अध्यक्ष तथा कलाकार किरण चित्रकारका अनुसार मल्लकालीन राजा सिद्धिनरसिंहले ललितपुरका जनतालाई भय र त्रासमुक्त गर्न नाच देखाउन थालेको किंवदन्ती छ । यस नाचका सर्जक, स्रष्टा एवं प्रवर्तक सिद्धिनरसिंहका शिक्षागुरु पण्डित हरिवंश उपाध्याय र दीक्षागुरु विश्वनाथ उपाध्याय भएको उल्लेख छ । कात्तिक नाच सुरुमा पाँच दिन प्रदर्शन भएको थियो । सिद्धिनरसिंहका छोरा श्रीनिवास मल्लले ‘बाथःप्याखँ’ अर्थात् ‘लोक नाटक’, ‘सुदामा प्याखँ’ र ‘सुरदास प्याखँ’ थपेर यसलाई १५ दिन पुर्‍याए ।

गत बुधबारदेखि जारी कात्तिक नाचमा शीतज्वर–विषमज्वर युद्ध, महादेव र कृष्ण युद्ध, भैरवकुमारी महालक्ष्मी नृत्य, मधुकैटव वध, हिरण्याक्ष वध, नृसिंह अवतार नृत्यलगायत प्रस्तुत गर्न बाँकी छन्  

कात्तिक नाच नेपालको अमूर्त सम्पदा र परम्परागत संस्कृति भएकाले तीन सय ८० वर्षसम्म नरोकिएको अध्यक्ष चित्रकारको भनाइ छ । ‘हरेक दिनका नाचमा फरक–फरक विषयवस्तु प्रस्तुत गरिन्छ । आज देखाएको नाच भोलि देखाइँदैन । कात्तिक नाच धार्मिक र तान्त्रिक महत्वसँग पनि जोडिएको छ,’ उनले भने । यसलाई नेवार समुदायमा समावेशी नाचका रूपमा पनि  लिइन्छ । जुन जातीय सद्भाव कायम राख्ने माध्यम बनेको छ । मल्लकालीन समयमा ‘कात्तिक नाच’मा मैथिली भाषामा संवाद गरिन्थ्यो । तर, मैथिली भाषा नेवार समुदायमा नबुझिने भएकाले नेपाल भाषामा उल्था गर्न थालिएको हो ।
यस्तो छ कात्तिक नाचको इतिहास
‘कात्तिक नाच’ संसारकै सबैभन्दा लामो नाट्य महोत्सवका रूपमा चिनिएको नाचमा आबद्ध कलाकार प्रतावधर शर्माको दाबी छ । ‘२७ दिनसम्म कात्तिक नाच सञ्चालन हुने भएकाले संसारको सबैभन्दा लामो नाट्य महोत्सव भएको इतिहासमा पनि उल्लेख छ,’ उनी भन्छन्, ‘तर, अहिले नाचलाई आठ दिनमा खुम्च्याइएको छ । २००७ सालको जनक्रान्तिपछि यो नाटकलाई केही दिनमा खुम्च्याइयो । २००८ देखि ०३७ सालसम्म दुई दिन मात्रै देखाइयो । यी दुई दिनमा वराह र नरसिंह अवतार देखाइन्थ्यो ।’

कात्तिक नाचअन्तर्गत पाटन दरबार क्षेत्रमा शुक्रबार राति देखाइएको नाचको एक दृश्य 

कात्तिक नाच प्रबन्ध समिति गठन भएपछि ०३८ देखि ०६९ सम्म प्रत्येक वर्ष आठ दिन नाच प्रदर्शन भयो । ०७० सालमा दुई दिन वस्त्रहरण र बौद्धलीला थपेर १० दिन र ०७१ देखि ०७६ सम्म १२ दिन सञ्चालन भएको थियो । ०७७ सालमा कोभिड महामारीका कारण दुई दिन मात्रै नाच देखाइएको थियो । उनी भन्छन्, ‘२००६ सालयता २७ दिन नाच हुन सकेको छैन । २७ दिन गर्न एक वर्ष समय खर्चिनुपर्छ । नाचका लागि अभ्यासमा धेरै समय लाग्छ ।’

२७ दिनसम्म नाच सञ्चालन गर्न आर्थिक अभाव हुने कलाकार शर्माको भनाइ छ । एउटा नाच देखाउन कम्तीमा २० जना कलाकार चाहिन्छ । ‘हामीले कात्तिक नाचलाई जगेर्ना मात्रै गर्न खोजेका हौँ । यसलाई एक महिनासम्म सञ्चालन गर्न सकिने अवस्था छैन । कतैबाट आर्थिक सहयोग भए २७ दिनसम्म पनि गर्न सकिन्छ । अहिले हाम्रो बुताले मात्रै गरिरहेका छौँ,’ कलाकार शर्माले भने ।