
व्यक्ति हत्यासम्बन्धी मुद्दा ‘सिभिल कोर्ट’मै फिर्ता गर्न सर्वोच्च अदालतले गरेको अन्तरिम आदेश कार्यान्वयनमा सेनाले अटेर गरेको छ । सैनिक जवान गंगाधर ढकालविरुद्धको हत्यासम्बन्धी मुद्दा सिभिल कोर्टमै फिर्ता गर्न गत १४ कात्तिकमा सर्वोच्चले अन्तरिम आदेश गरेको थियो ।
सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेल
ढकालविरुद्धको मुद्दामा सर्वोच्चले पूर्ण फैसला गरेको होइन, अन्तरिम आदेश मात्रै गरेको हो । पूर्ण फैसला आएपछि मुद्दाको पक्षमा के गर्ने हो त्यही वेला सेनाले निर्णय गर्नेछ ।
तर, सेना ढकालविरुद्धको मुद्दामा पूर्ण फैसला नआएको भन्दै सर्वोच्चको आदेश तत्काल कार्यान्वयन गर्ने पक्षमा छैन । *‘ढकालविरुद्धको मुद्दामा सर्वोच्चले पूर्ण फैसला गरेको होइन, अन्तरिम आदेश मात्रै गरेको हो । पूर्ण फैसला आएपछि मुद्दाको पक्षमा के गर्ने हो त्यही वेला सेनाले निर्णय गर्नेछ,’ सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले भने ।
गत ७ साउनमा धादिङ नीलकण्ठ– ७ का भरत गुरुङलाई गोली हानी हत्या गरेको अभियोगमा ढकाल पक्राउ परेका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको थियो । मुद्दाको अनुसन्धान पनि जिप्रका चितवनले नै गरेको थियो ।
जिल्ला अदालत चितवनमा थुनछेकको बहस चलिरहेका वेला सेनाका प्राड विभागका मेजर सरोज रेग्मी इजलासमा प्रवेश गरेका थिए । लगत्तै जिल्ला अदालतले ढकालको मुद्दा सैनिक अदालतलाई दिन आदेश गरेको थियो । गत १ भदौमा भएको उक्त आदेशविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय चितवन उच्च अदालत हेटौँडा पुगेको थियो । उच्चले पनि जिल्लाकै आदेश सदर गरेपछि सरकारी वकिल कार्यालय सर्वोच्च पुगेको थियो ।
जिल्ला र उच्च दुवैको आदेश बदर गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले मुद्दा सिभिल कोर्टमै फिर्ता गर्न अन्तरिम आदेश गरेको थियो । व्यक्ति हत्या र हतियार चोरीको अभियोग लागेका ढकाल अहिले सुन्धाराको जगन्नाथ देवलस्थित केन्द्रीय कारागारमा छन् । सैनिक अदालतको आदेशपछि ढकाललाई कारागार चलान गरिएको हो ।
सैनिक प्रवक्ता सहायक रथी पौडेलले भने, ‘अभियुक्त ढकाल सैनिक अदालतको आदेशमा जेल चलान भइसकेका छन् । जिल्ला अदालत चितवन र उच्च अदालत हेटौँडाले उक्त मुद्दा सेनालाई नै जिम्मा लगाएको हो । सर्वोच्चले जिल्ला र उच्चको सोही कागजात हेरेर अन्तरिम आदेश गरेको हो । पूर्ण फैसला होइन ।’
* सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलको भनाई अन्यथा हुन गएकोमा सच्याइएको छ - सम्पादक