मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २८ बुधबार
  • Wednesday, 12 March, 2025
२o८१ फाल्गुण २८ बुधबार १३:२२:oo
Read Time : > 1 मिनेट
समाचार

४० हजार लेनदेन विवादमा गोली हानेर हत्या गर्ने आरोपी सार्वजनिक   

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण २८ बुधबार १३:२२:oo

स्थानीय युवकमाथि गोली हानेर फरार रहेका दोगडाकेदार गाउँपालिका– ८ का कर्णबहादुर विष्टलाई प्रहरीले सार्वजनिक गरेको छ । गोली हानेर भागेका उनलाई दार्चुलाको दत्तुबाट पक्राउ गरिएकोमा बुधबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक (डिएसपी) मकेन्द्र मिश्रले गोली प्रहार गरी फरार भएको ६ दिनपछि अभियुक्तलाई दार्चुलाबाट पक्राउ गरी अनुसन्धान अघि बढाइएको बताए । ‘भरुवा बन्दुकले गोली हानेर फरार भएको सूचना प्राप्त भएलगत्तै प्रहरी परिचालन गरेका थियौँ,’ मिश्रले भने, ‘प्रतिवादी ‘स्याल’ भनेर चिनिने कर्णबहादुर विष्ट २३ गते पक्राउ परेका हुन् । १० दिन म्याद थपेर उनीमाथि अनुसन्धान भइरहेको छ ।’ 

लेनदेनको विषयमा झगडा हुँदा गत फागुन १७ गते दोगडाकेदार गउँपालिका– ८ कै २१ वर्षीय युवक सुरेन्द्र विष्टलाई गोली हानिएको थियो । गोली लागेर घाइते विष्टको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । 

पत्रकार सम्मेलनमा प्रहरीले दिएका जानकारीअनुसार फरार भएका विष्टले आफ्नो झोला फालेर हिँडेको, हतियार लुकाएर हिँडेको देखिएको छ । उनलाई पक्राउ गरेको दुई दिनपछि गोली लोड गरिएको अवस्थामा भरुवा बन्दुकसमेत फेला परेको प्रहरीले बताएकाे छ । 

 

विष्टमाथि कर्तव्य ज्यान तथा हात हतियार खरखजाना मुद्दा चलाउने गरी अनुसन्धान भइरहेको छ । उनीसँग रहेको भरुवा बन्दुक अवैध रहेको प्रहरीले जनाएको छ ।      
प्रारम्भिक अनुसन्धानका क्रममा मृतकले ४० हजार रुपैयाँ लिनुपर्ने र त्यही निहुँमा दुईजनाबिच झगडा परेको खुलेको छ । झगडाकै क्रममा आरोपी विष्टले घरबाट भरुवा बन्दुक ल्याएर पछाडिबाट गोली हान्दा खाना खाँदाखाँदै  सुरेन्द्र घटनास्थलमै ढलेका थिए । 

‘घटनाबारे सूचना आएलगत्तै सइको नेतृत्वमा १० जना खटाएका थियौँ, सबै सूचनाहरूका आधारमा आरोपी दार्चुलाबाट समातिएका हुन्,’ प्रहरी नायब उपरीक्षक मिश्रले भने । चार वर्षअघि पनि उनीमाथि हातहतियार मुद्दा रहेकाले हाल पक्राउ परेपछि सो विषयमा पनि अनुसन्धान थालिएको उनले बताए ।