मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २८ बुधबार
  • Wednesday, 12 March, 2025
२o८१ फाल्गुण २८ बुधबार १८:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

निःशुल्क शिविरमा पाँच सय बढीको मुटु तथा मधुमेह जाँच

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण २८ बुधबार १८:o९:oo

सिराहाको लहान नगरपालिका– ४, यज्ञभूमिमा सञ्चालित दुईदिने मुटु तथा मधुमेह जाँच शिविरमा पाँच सयजना भन्दा बढी लाभान्वित भएका छन्।

नेपाल हृदय रोग निवारण संघ, कार्डियो डाइबेटिक सेन्टरद्वारा सञ्चालित दुईदिने निःशुल्क शिविरमा ५६० जनाको जाँच गरिएको हो। पछिल्लो तीन महिनादेखि सञ्चालित सेन्टरको २७ फागुनमा विधिवत् उद्घाटनसँगै आयोजित शिविरिमा मुटु र मधुमेह रोगको निःशुल्क जाँच गरिएको सेन्टरका कन्सल्टेन्ट फिजिसियन डा. संजयप्रसाद साहले जानकारी दिए।

लहान नगरप्रमुख महेशप्रसाद चौधरी र वरिष्ठ मुटु चिकित्सक डा. कुमुद धितालद्वारा संयुक्त रूपमा उद्घाटन गरिएको निःशुल्क शिविरमा मुटुको इसिजी, इको, ल्याबसहित औषधिसमेत वितरण गरिएको उनले बताए।

उनका अनुसार लहानका स्थानीय बासिन्दासमेत रहेका जर्मनीमा कार्यरत मुटु चिकित्सक डा. बालकृष्ण ओरग्यान चौधरीको विशेष पहलमा सञ्चालित शिविरमा सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र तथा जर्मनीबाट आएका विशेषज्ञ चिकित्सकहरूको टोलीले मुटु तथा मधुमेहको चेकजाँच गरेको थियो।

सुविधासम्पन्न अस्पताल बन्दै
संघको पहलमा मुटु तथा मधुमेहको आधुनिक जाँच र गुणस्तरीय उपचारका लागि २५० शय्याको सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ। संघद्वारा जर्मनीको ‘नेपाल मेड जर्मनी’ र ‘रोटरी क्लब कटुस’ अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको करिब दुई अर्ब रुपैयाँ आर्थिक सहयोगमा अस्पताल निर्माण प्रक्रिया थालिएको हो।

लहान– ४, यज्ञभूमिमा नगरपालिकाले उपलब्ध गराएको ११ बिघा सार्वजनिक जग्गामा बन्ने अस्पतालको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको जानकारी दिँदै उनले आगामी पाँच वर्षभित्र निर्माणसम्पन्न गरी सञ्चालन गर्ने लक्ष्य रहेको बताए। नगरपालिकाले उपलब्ध गराएको जग्गामा तत्कालका लागि दुईवटा भवन निर्माण गरी गत ४ माघदेखि मुटु तथा मधुमेहको ओपिडी सेवा सञ्चालन थालिएको छ।

नगरप्रमुख चौधरीले लहानमा ‘कार्डियो र डाइबेटिक सेन्टर’ सञ्चालन भएसँगै उपचारका लागि धरान, विराटनगर र काठमाडौंजस्ता ठाउँमा जानुपर्ने बाध्यता हटेको बताए।