
सल्यानका सात क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको मनोनयन सम्पन्न भएको छ। स्ववियु निर्वाचनका लागि जिल्लाका सात क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको मंगलबार मनोनयन दर्ता सम्पन्न भएको हो । प्रमुख विद्यार्थी संगठनहरू नेपाल विद्यार्थी संघ (नेविसंघ), अखिल क्रान्तिकारी, अनेरास्ववियु र विप्लव नेतृत्वको अखिल समाजवादीबिच प्रतिस्पर्धा हुने देखिएको छ ।
जिल्लाका तीन क्याम्पसमा भने सभापति निर्विरोध भएका छन्। वनगाड क्याम्पसमा अखिल क्रान्तिकारीका जीवन विष्ट, कपुरकोट बहुमुखी क्याम्पसमा नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीको सहमतिमा नेविसंघका झलक ओली निर्विरोध भएका छन् भने शारदा क्याम्पस, शंखमूलमा अखिल क्रान्तिकारीले उम्मेदवारी नदिएपछि नेविसंघ र अनेरास्ववियुको सहयोगमा अनेरास्ववियुका विश्व खड्का निर्विरोध भएका छन् ।
बाँकी चार क्याम्पसमा निर्वाचन हुने भएको छ। फारुला क्याम्पसमा अखिल क्रान्तिकारीकी हिमा शर्माले सभापतिमा उम्मेदवारी दिएका छिन् भने विप्लवनिकट अखिल समाजवादीबाट निशान देवकोटाले सभापतिमा उम्मेदवारी दिएका छन् । नेविसंघ, अनेरास्ववियुले उम्मेदवारी दिएको छैन । यस्तै, जनकल्याण क्याम्पस, थारमारेमा अखिल क्रान्तिकारीबाट गणेश ओलीले सभापतिमा उम्मेदवारी दिएका छन् भने नेविसंघ, अनेरास्ववियुबाट फलेन्द्र पुरीले सभापतिमा उम्मेदवारी दिएका छन् ।
शिवजन क्याम्पस अखिल क्रान्तिकारीबाट रोशन खड्काले सभापतिमा उम्मेदवारी दिएका छन् भने नेविसंघ, अनेरास्ववियुबाट सुरज हमाल सभापतिमा उम्मेदवारी दिएका छन् । यस्तै, सल्यान बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीबाट सभापतिमा शीतल कवरको उम्मेदवारी परेको छ भने नेविसंघ, अनेरास्ववियुबाट विशाल पुनले सभापतिमा उम्मेदवारी दिएका छन् । विप्लव अखिल समाजवादीको सभापतिको उम्मेदवारी राजेन्द्र खडकाको परेको छ ।
यसपटक जिल्लाका क्याम्पसहरूमा विद्यार्थी संगठनहरूबिच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । केही क्याम्पसहरूमा सहमतिका आधारमा उम्मेदवारी तोकिएको छ भने कतिपयमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।