भजनी नगरपालिकाको लालबोझीका किसान सन्तराम चौधरीले गहुँबाली लगाउन खेत जोतेर ठीक्क पारेका छन्। तर, रासायनिक मल नपाउँदा उनले गहुँ छरेका छैनन्। मलका लागि उनी गाउँको जागरण कृषि सहकारीमा दैनिकजसो धाइरहेका उनलाई सहकारीले मल छैन भनेर फर्काइदिन्छ। यो सिजनमा मसुरो, तोरी र आलु लगाउँदा मल नपाएका चौधरीलाई मलविनै गहुँ छर्नुपर्ला कि भन्ने चिन्ता छ। ‘खेत जोतिसकेँ। मल पाएपछि एक/दुई दिनमै गहुँ छर्ने हो ।’ चौधरीले भने, ‘सहकारीमा मल आएकै छैन। मल नपाउँदा गहुँ छर्न ढिलो हुनेजस्तो छ ।’ पोहोर साल पनि गहुँ छर्ने वेला मल नपाएर समस्या भएको उनले बताए।
गौरीगंगा नगरपालिकास्थित बेरोजगार कृषक सहकारी संस्थामा मलका लागि दैनिकजसो कृषकको भिड लाग्ने गरेको छ। सहकारीका पदाधिकारी मल लिन धनगढीस्थित कृषि सामग्री कम्पनी लिमिटेडको कार्यालय धाइरहेका छन्। यो सहकारीले कृषि सामग्रीबाट ४० क्विन्टल युरिया मल मात्र पाएको छ। तर, थोरै मल पाएकाले वितरण गर्दा उल्टै समस्या हुने सहकारीका पदाधिकारी बताउँछन् ।
‘एउटै किसानलाई ५–७ क्विन्टलसम्म मल चाहिन्छ। ४० क्विन्टल लगेर कसलाई दिने, कसलाई नदिने।’ उक्त सहकारीका उपाध्यक्ष सिद्धराज सापकोटाले भने, ‘बाँड्दा लुछाचुडीले उल्टै झगडा पर्ला भन्ने डर छ।’ कृषि सामग्रीले थप मल केही दिनमा आइपुग्ने भनेर फर्काएको सापकोटाले बताए। तिहार मनाएपछि किसानलाई गहुँबाली लगाउनका लागि खेत जोत्न भ्याइनभ्याई छ। कात्तिक पहिलो साता भएको भारी वर्षाले यसपालि भने खेत नसुक्दा गहुँ छर्न केही ढिलो भएको हो। गहुँ छर्ने तयारीमा रहेका किसानले मल भने पाउन सकेका छैनन्। कैलालीमा रासायनिक मलको चरम अभाव छ।
अहिले मसुसो, तोरी र आलु लगाउँदा पनि मल नपाएको किसानको गुनासो छ। गत सिजनमा रोपाइँका वेला सहकारीमा घण्टौँसम्म लाइन लागेर आवश्यकताअनुसार मल नपाएका किसान यसपालि पनि त्यस्तै समस्या भोग्नुपर्ला भन्ने चिन्तामा छन्। सरकारी अनुदानको मल बिक्री गर्दै आएको कृषि सामग्रीमा मलको मौजदान न्यून छ। कार्यालयले यो सिजनका लागि पाँच हजार टन युरिया माग गरेको छ। तर अहिलेसम्म एक सय १५ टन मात्र आइपुगेको छ। यस्तै हिउँदे सिजनको बालीका लागि डिएपी मल अहिलेसम्म नआएको कृषि सामग्री कम्पनी लिमिटेको कार्यालय धनगढीका प्रमुख नवलसिंह बोगटीले जानकारी दिए। हिउँदे बालीका लागि यहाँ आवश्यक पर्नेछ हजार टन डिएपी मल केन्द्रसँग माग गरिएको उनले बताए।
‘युरिया केही आउन थालेको छ। डिएपी आएको छैन ’ बोगटीले भने, ‘किसानले मल मागिरहेका छन् तर हाम्रो गोदाम खाली छ।’ कैलालीमा करिब तीन सय सहकारीमार्फत् सरकारी अनुदानको मल किसानलाई बिक्री हुँदै आएको छ। अन्न उत्पादनको भण्डारको रूपमा रहेको यो जिल्लामा ३५ हजार हेक्टरमा गहुँ तथा २२ हजार हेक्टरमा मसुरो र तोरीखेती हुने गरेको कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ। सरकारी अनुदानको मल नपाएपछि सीमावर्ती क्षेत्रका कतिपय किसानले भारतबाट अवैध रूपमा मल ल्याउने गरेका छन्।