मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ कार्तिक २६ शुक्रबार
  • Sunday, 13 July, 2025
असोज तेस्रो साता कपिलवस्तुको कृष्णनगरमा हैजाको प्रकोप देखिएको थियो । अस्पतालमा ठाउँ अभाव भएपछि आँगन र चौतारोमा राखेरसमेत बिरामीको उपचार गरिएको थियो । फाइल तस्बिर
अर्जुन अधिकारी काठमाडाैं
२o७८ कार्तिक २६ शुक्रबार o६:o३:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कपिलवस्तुमा फैलिएको हैजा नियन्त्रण गर्न अमेरिकाबाट अढाई लाख डोज भ्याक्सिन आउँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक २६ शुक्रबार o६:o३:oo

आइतबारसम्म २,५२,३६३ डोज आउने, प्रभावित क्षेत्रका जनतालाई तत्काल दिइने

पाँच सातादेखि कपिलवस्तुमा फैलिएको हैजा नियन्त्रणमा नआएपछि सरकारले अमेरिकाबाट भ्याक्सिन मगाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अमेरिकाबाट आगामी आइतबारसम्म दुई लाख ५२ हजार तीन सय ६३ डोज हैजाविरुद्धको भ्याक्सिन आउने भएको छ । भ्याक्सिन आउनासाथ प्रभावित क्षेत्रका जनतालाई तत्काल खुवाइनेछ । 

स्वास्थ्य मन्त्रालयको अथक प्रयासले पनि कपिलवस्तुमा फैलिएको हैजा नियन्त्रणमा आउन नसकेपछि सरकारले खोप ल्याउने निर्णय गरेको हो । हैजाविरुद्धको खोप ‘ओरल कलेरा भ्याक्सिन’ नेपालले प्राप्त गरेको विश्व स्वास्थ्य संगठनको कलेरा विभागले जानकारी दिएको छ । 

गत १८ असोजदेखि कपिलवस्तुमा फैलिएको झाडापखालाबाट अहिलेसम्म ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसबीचमा १३ सय ५३ जना बिरामी परेका छन् । कपिलवस्तुमा सफा पानी तथा शौचालयको प्रयोगका साथै सरसफाइका लागि समुदायमा गतिविधि अहिले जारी छन् । 

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेलका अनुसार हाल एकजना मात्रै बिरामी अस्पतालमा उपचाररत छन् । तर, नयाँ बिरामी देखिने क्रम जारी छ । स्वास्थ्य मन्त्रालयका प्रवक्तासमेत रहेका डा. पौडेलका अनुसार अहिले पनि दैनिक तीनदेखि चारजना नयाँ हैजाका बिरामी थपिएका छन् । 

महामारी फैलिएको जानकारी पाएलगत्तै सरकारले केन्द्रबाट २१ असोजमा महामारी रोग विशेषज्ञ डा. शशि कँडेल, कौशलचन्द्र सुवेदी र डब्लुएचओका तर्फबाट डा. रविन गौतम सम्मिलित टोली प्रकोपजन्य स्थलको अध्ययन गर्न पठाइएको थियो । उक्त टोलीको अध्ययन–अनुसन्धानले हैजा पत्ता लगाए पनि नियन्त्रणमा समस्या भएपछि सरकारले अन्तर्राष्ट्रिय जगत्मा सहयोग मागेको हो । 

‘हैजा नियन्त्रण गर्न हामीले थुप्रै प्रयास गर्‍यौँ, तर सकिएन,’ निर्देशक डा. पौडेलले भने, ‘यसलाई नियन्त्रण गर्न भ्याक्सिन मात्रै विकल्प देखिएपछि हामीले ‘ग्लोबल स्टकपाइल’ रहेको कलेराविरुद्धको भ्याक्सिन माग गरेर प्रपोजल हालेका थियौँ ।’ 

हैजा नियन्त्रणमा नआएपछि अमेरिकाबाट खोप मगाएका हौँ : डा. कृष्णप्रसाद पौडेल

स्वास्थ्य मन्त्रालयको अथक प्रयासले पनि कपिलवस्तुमा फैलिएको हैजा नियन्त्रणमा आउन नसकेपछि सरकारले खोप ल्याउने निर्णय गरेको हो ।

‘हैजा नियन्त्रण गर्न हामीले थुप्रै प्रयास गर्‍यौँ, तर सकिएन,’ स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेलले भने, ‘यसलाई नियन्त्रण गर्न भ्याक्सिन मात्रै विकल्प देखिएपछि हामीले ‘ग्लोबल स्टकपाइल’ रहेको कलेराविरुद्धको भ्याक्सिन माग गरेर प्रपोजल हालेका थियौँ ।’ 

सरकारले कपिलवस्तुका प्रभावित क्षेत्रका दुई लाख ५२ हजार तीन सय ६३ जनालाई हैजाविरुद्ध भ्याक्सिन खुवाउने योजना बनाएको छ । कृष्णनगरमा ६० हजार सात सय ४३ जना, महाराजगन्जमा ५३ हजार एक सय ५६ जना, शिवराजमा ६४ हजार सात सय ७८ जना, विजयनगरमा ३५ हजार नौ सय तीनजना र यशोधारामा ३७ हजार सात सय ८३ जनालाई भ्याक्सिन खुवाउने सरकारको तयारी छ ।