मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ कार्तिक २५ बिहीबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक २५ बिहीबार १८:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सौराहाको होटेल सेभेन स्टारमा एमाले महाधिवेशनको बन्दसत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक २५ बिहीबार १८:२५:oo

नेकपा एमालेले दशौँ महाधिवेशनको बन्दसत्र चितवनको सौरहास्थित सेभेन स्टार होटेलमा गर्ने भएको छ। आगामी १० देखि १२ मंसिरसम्म चितवनमा आयोजना हुने महाधिवेशनको उद्घाटन नारायणी नदी किनारामा सकिएलगत्तै ११ मंसिरको बिहानैबाट एमालेले बन्दसत्र सुरु गर्नेछ।

दशौँ महाधिवेशन मूल व्यवस्थापन कमिटीका सदस्य तथा बागमती प्रदेश कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले सेभेन स्टार होटेलको प्रांगणमा मण्डला बनाएर बन्दसत्र सञ्चालन गर्ने निर्णय गरिएको जानकारी दिए।
 
महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, मूल व्यवस्थापन कमिटीका संयोजक रामबहादुर थापा ‘बादल’, सहसंयोजक सुरेन्द्र पाण्डे, प्रचार उपसमितिका संयोजक योगेश भट्टराई, सचिव प्रदीप ज्ञवाली र अध्यक्ष पोखरेलसहित मूल व्यवस्थापन समितिका सदस्यहरू तथा एमाले चितवनका नेताहरूले बिहीबार उद्घाटनस्थल नारायणी नदी किनार र बन्दसत्र सञ्चालन हुने सौराहाको प्रत्यक्ष अवलोकन गरेका छन्।

महाधिवेशनको प्रत्यक्ष प्रसारण गर्न छ ओटा डिस्प्ले
एमालेले महाधिवेशनको उद्घाटनमा विशेषतः बागमती प्रदेश र लुम्बिनी प्रदेशलाई केन्द्रित गरेर देशभरिबाट पाँच लाख जनसमुदाय उतार्ने दाबी गरेको छ। ‘नारायणी नदी किनारको उद्घाटनमा तीन लाख जनसमुदाय सहभागी हुनुहुनेछ, बाँकी जनसमुदायलाई नारायणगढका मूल सडक र नारायणी पारी नवलपुरसम्म कम्तीमा ६ ओटा डिस्प्ले राखेर उद्घाटन सत्रको प्रत्यक्ष प्रसारण गर्ने गरी व्यबस्थापन गर्ने तयारी छ’ बागमती अध्यक्ष पोखरेलले नयाँ पत्रिकासँग भने।

महाधिवेशनमा सहभागी हुने एक हजार ९९९ प्रतिनिधि, पर्यवेक्षक, स्वयंसेवक, पत्रकार, नेताहरूको सचिवालयमा कार्यरत सुरक्षाकर्मी र कर्मचारीसहित ३५ सयजनाका लागि एमालेले सौराहाका होटेलका कोठाहरू बुकिङ गरेको छ।