१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o९:२६:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

पोखरा म्याराथनका  विजेताले चार लाख पाउने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:२६:oo

१६औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका विजेताले चार लाख रुपैयाँ पाउने भएको छ । प्रतियोगिता ७ फागुनमा पोखरामा हुँदै छ । पोखरेली पूर्वखेलाडीहरूको साझा संस्था भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजना हुने प्रतियोगिताको पुरस्कार राशि यो वर्ष दोब्बर बनाएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलन मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिएका छन् । 

नेपालको म्याराथन इतिहासमै पोखरा म्याराथनको पुरस्कार राशि सबैभन्दा धेरै रहेको आयोजकको दाबी छ । ४२.१ किमिको म्याराथनमा दोस्रोेले दुई लाख, तेस्रोले एक लाख र चौथो स्थानमा रहनेले ३० हजार रुपैयाँ पाउनेछन् । गत वर्ष पहिलोले दुई लाख, दोस्रोले एक लाख, तेस्रोले ७५ हजार र चौथो स्थानमा रहेकाले १५ हजार रुपैयाँ हात पारेका थिए । 

प्रतियोगितामा ६ विधा
म्याराथनमा ६ विधा छन् । महिलातर्फ २१ किमिको हाफ म्याराथन हुनेछ । यस विधाका विजेताले एक लाख, दोस्रोले ७५ हजार, तेस्रोले ५० हजार र चौथो स्थानमा आउने खेलाडीले १५ हजार रुपैयाँ हात पार्नेछन् । यसैगरी, प्रतियोगिताअन्तर्गत महिला र पुरुष १० किमि दौडसमेत हुनेछ । दुवैतर्फका विजेताले २० हजार, उपविजेताले १५ र तेस्रोले १५ हजार रुपैयाँ पाउनेछन् । ह्विलचियर र दृष्टिविहीन महिला र पुरुष दौडका विजेताले १० हजार रुपैयाँ पाउनेछन् । यसैगरी, दोस्रोले सात हजार र तेस्रोले पाँच हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ । यसैगरी, प्रतियोगिताअन्तर्गत छात्र–छात्रा पाँच किमि दौडसमेत हुनेछ । दुवैतर्फका प्रथमले १२ हजार, दोस्रोले १० हजार र तेस्रोले सात हजार रुपैयाँ हात पार्नेछन् । 

तीन वर्षको मुख्य प्रायोजक सुजल 
पोखराको प्रतिष्ठित औद्योगिक घराना लक्ष्मी ग्रुपअन्तर्गतको सुजल डेरीको मुख्य उत्पादन सफल दूधले म्याराथनलाई आगामी तीन वर्ष मुख्य प्रायोजन गर्ने भएको छ । ग्रुपका कार्यकारी निर्देशक सुनील श्रेष्ठ, निर्देशक, निरज श्रेष्ठ र मञ्चका अध्यक्ष पराजुलीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । लगातार ६ वर्षदेखि यस ग्रुपले मुख्य प्रायोजन गर्दै आएको छ । नयाँ सम्झौताअनुसार लक्ष्मी ग्रुपले आउँदो तीन वर्ष प्रतिसिजन सात लाख रुपैयाँ दिनेछ । यसअघि ग्रुपले मञ्चलाई मुख्य प्रायोजनबापत वार्षिक चार लाख ५० हजार दिँदै आएको थियो ।निर्देशक श्रेष्ठले पोखरालाई खेलकुद पर्यटनको राजधानीका रूपमा स्थापित गर्ने काममा सहयोग गर्न आफूहरू तयार रहेको बताए । ९३ लाख बजेट रहेको म्याराथनबाट एक करोड पाँच लाख आम्दानी गर्ने लक्ष्य राखेको छ ।

ad
ad