मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ कार्तिक १७ बुधबार १९:४५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कार्यबाहक प्रधानमन्त्री खाण भन्छन्– बाढीपहिरोले ठूलो जनधनको क्षति पुर्‍याएका जिल्लालाई विपद क्षेत्र घोषणा गर्छौँ

Read Time : > 1 मिनेट
२०७८ कार्तिक १७ बुधबार १९:४५:००

कार्यबाहक प्रधानमन्त्री बालकृष्ण खाणले बाढीपहिरोले ठूलो जनधनको क्षति पु¥याएको सुदूरपश्चिमका डडेल्धुरा, बैतडी र बझाङलाई विपदग्रस्त क्षेत्र घोषणा गर्ने बताएका छन् । बुधबार हेलिकोप्टरमार्फत ती जिल्लाहरूको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेपछि उनले बझाङमा आयोजित कार्यक्रममा विपदग्रस्त क्षेत्र घोषणा गर्ने बताएका हुन् । 

कार्यबाहक प्रधानमन्त्री खाणले बाढीपहिरो प्रभावित पूर्वी पहाडी जिल्लाहरू इलाम, पाँचथरलगायतका प्रभावित जिल्लालाई पनि विपदग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने अवस्था रहेको बताए । उनले पीडितहरूलाई राहत दिने, घाइतेहरूको उपचारको व्यवस्था गर्ने र हराइरहेकाहरूको खोजी गर्ने कार्यलाई सरकारले निरन्तर रूपमा अघि बढाइरहेको पनि स्मरण गराए । 

सरकारले बाढीपहिरोमा परी मृत्यु भएकाका परिवारलाई १ लाख, हराइरहेकाका परिवारलाई २ लाख र घाइतेहरूको उपचारको व्यवस्था सरकारले गरिरहेको उनले बताए । उनले भने, ‘यो वर्षाको कारणले ठूलो जनधनको क्षति भएको छ । यसका लागि हामीले सर्वप्रथम खोज गर्ने, उद्धार गर्ने, राहत दिने र पुनर्वासको व्यवस्था गराउने हो । त्यसका साथसाथै यहाँ भत्केका बाटोहरू बनाउने, सिँचाइ बनाउने, तटबन्ध बनाउने र यो भूखण्डलाई पहाडलाई कसरी नभत्कने बनाउन सकिन्छ ? र, भत्कने यसका भौगर्भिक कारणहरू के छन् ? त्यसका लागि पनि हामीले खोज अनुसन्धानको काम गर्नुपर्दछ । र, खोजअनुसन्धानबाट निस्कने निष्कर्षअनुसार काम गर्नुपर्दछ । पीडितहरूले सबभन्दा पहिले मृतकका परिवारलाई राहत रकम दिन भन्नुभएको छ । त्यो सरकारले निर्णय गरिसकेको छ । १ जना मृतकका परिवारले १ लाख पाउनुहुन्छ । त्यस्तै, घाइतहरूलाई हामीले उपचारको व्यवस्था गर्ने हो, गरिराखेका छौँ । त्यस्तै, जो बेपत्ता हुनुभएको छ । हरेक बेपत्ता सदस्यका परिवारलाई २ लाख राहत दिनेछौँ । अब डडेल्धुरा, बैतडी, बझाङ, इलाम, पाँचथरलगायतका जिल्लाहरूलाई विपद क्षेत्रको रूपमा घोषणा गर्नुपर्दछ ।’

कार्यबाहक प्रधानमन्त्री खाणले बाढीपहिरोले भत्काएको सडक, सिँचाइलगायतका पूर्वाधार निर्माणको कामलाई पनि तत्काल अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।