चालू आवको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको नाफा २४ प्रतिशतले वृद्धि भएको छ । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकको नाफा तीन अर्ब ४९ करोड रुपैयाँले बढेर १८ अर्ब एक करोड रुपैयाँ पुगेको हो । बैंकहरूको खुद ब्याज आम्दानी १३ प्रतिशतले मात्रै बढे पनि शुल्कलगायतबाट हुने आम्दानी तथा सेयर र विनिमय कारोबारबाट हुने आम्दानीलगायतमा वृद्धि भएपछि नाफामा सुधार देखिएको हो ।
तीन महिनामा बैंकहरूको खुद ब्याज आम्दानी ३६ अर्ब ३३ करोड भएको छ । त्यस्तै, शुल्कबाट हुने आम्दानी २५ प्रतिशतले बढेर आठ अर्ब पाँच करोड र कारोबारबाट हुने आम्दानी ५ प्रतिशतले बढेर दुई अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । पाँच बैंकले भने यसअघि राखेको प्रावधानबाट राइट ब्याक गरेका छन् । मेगा, एनएमबि, प्रभु, प्राइम र एनसिसी बैंकले राइट ब्याक गरेका छन् । यस्तो राइट ब्याक चार करोडदेखि २९ करोड रुपैयाँसम्म छ ।
पाँच बैंकको नाफा अर्ब रुपैयाँभन्दा बढी छ भने चारवटा बैंकको नाफा २८ प्रतिशतसम्म घटेको छ । बैंकहरूको वितरणयोग्य नाफामा भने उल्लेख्य सुधार देखिएको छ । यसमा ७१ दशमलव ६६ प्रतिशतले वृद्धि भएर ६ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ । यद्यपि, १५ वाणिज्य बैंकको यस्तो वितरणयोग्य नाफा घटेको छ । बैंकहरूको कर्जा लगानी तीन महिनामै करिब ३२ प्रतिशतले बढेर ३९ खर्ब ७९ अर्ब रुपैयाँ पुुगेको छ ।
तर, निक्षेपको वृद्धि भने कम छ । निक्षेप १७ प्रतिशतले बढेर ४३ खर्ब चार अर्ब रुपैयाँ पुगेको छ । बैंकहरूको खराब कर्जा औसतमा एक दशमलव १७ प्रतिशत मात्रै छ । नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, कृषि विकास र राष्ट्रिय वाणिज्य बैंकको भने खराब कर्जा २ प्रतिशत माथि छ । ६ बैंकको कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ९० भन्दा माथि छ । मेगा, एनएमबि, कुमारी, हिमालयन, नेपाल एसबिआई र नेपाल इनभेष्टमेन्टको यो अनुपात तोकिएको भन्दा उच्च छ । यद्यपि, यो सीमा चालू आवभित्र ल्याए हुने व्यवस्था गरिएको छ ।
बैंकहरूको सेयरमा प्रतिफल (आरओई) करिब १ प्रतिशत बिन्दुले सुधार भएर १२ दशमलव ७६ प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी पनि औसतमा करिब २० प्रतिशतबाट बढेर २२ दशमलव ५६ प्रतिशत पुगेको छ ।
एनआइसी एसिया बैंक र कृषि विकास बैंकको खुद स्प्रेड दर (निक्षेप र कर्जाको ब्याजअन्तर) राष्ट्र बैंकले तोकेको ४ प्रतिशतभन्दा बढी छ । औसतमा यो ३ दशमलव २४ छ । बैंकहरूले ग्राहकलाई निक्षेपमा दिएको ब्याजमा अतिरिक्त ३ प्रतिशत थप लिएर कर्जा लगानी गरिरहेका छन् भन्ने यसले देखाउँछ ।