मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक १६ मंगलबार
  • Tuesday, 17 December, 2024
२o७८ कार्तिक १६ मंगलबार o७:४६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कर्णालीमा मुख्यमन्त्रीको दाबी पेस गर्न आह्वान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक १६ मंगलबार o७:४६:oo

कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेस गर्न प्रदेश सभा सदस्यलाई आह्वान गरेका छन् । प्रदेश प्रमुख कलौनीले प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई आज साँझ ७:३० बजेभित्र मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका हुन् । 

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपालको संविधानको धारा १६९ उपधारा १ (क) बमोजिम प्रदेश प्रमुखसमक्ष सोमबार साँझ ७:३० बजे राजीनामा दिएका थिए । प्रदेश प्रमुखले सोमबार नै उनको राजीनामा स्वीकृत गरी उक्त पदका लागि दाबी पेस गर्न प्रदेश सभा सदस्यलाई २४ घन्टाको समयसीमा दिएका हुन् । 

०७४ फागुन ३ गते मुख्यमन्त्री नियुक्त भएका शाहीले गत वैशाखमा विश्वासको मत लिने क्रममा नेपाली कांग्रेससँग भएको सत्तासमीकरणसम्बन्धी सहमति कार्यान्वयन गर्न राजीनामा दिएको उनीद्वारा जारी प्रेस वक्तव्यमा उल्लेख छ । प्रदेशदेखि केन्द्रीय सरकारमा प्रतिपक्षमा रहेको कांग्रेस सोही सहमतिअनुसार पहिलोपटक कर्णालीमा दुई मन्त्रीसहित सत्तामा पुगेको थियो ।

माओवादी केन्द्र, कांग्रेस र नेकपा (एकीकृत समाजवादी)बीच भएको सहमतिअनुसार कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही नयाँ मुख्यमन्त्री बन्ने बताइएको छ । कर्णाली प्रदेश सभामा माओवादी केन्द्रका १२, कांग्रेसका ६ र एकीकृत समाजवादीका तीन सांसद छन् ।