मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक १४ आइतबार
  • Thursday, 19 December, 2024
हरिमाया प्रजा, फूलमाया प्रजा र सञ्चमाया प्रजा नागरिकता देखाउँदै ।
दीपक अधिकारी काठमाडाैं
२o७८ कार्तिक १४ आइतबार o८:३९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

वृद्ध उमेरमा नागरिकता पाएपछि खुसी भए हनुमानझुलावासी

Read Time : > 1 मिनेट
दीपक अधिकारी, काठमाडाैं
नयाँ पत्रिका
२o७८ कार्तिक १४ आइतबार o८:३९:oo

प्रशासनले गाउँमै पुगेर दिने भएपछि नागरिकता लिन चासो 

माडी नगरपालिका–९, हनुमानझुलाकी सञ्चमाया प्रजाको सहारा कोही छैन । माइतीबारे जानकारी नहुनु र श्रीमान् पनि साथमा नहुँदा उनको नागरिकता बन्न सकेको थिएन । 

००२ की उनलाई नागरिकताबारे ज्ञान पनि थिएन । उनकै छिमेकी ००५ की हरिमाया प्रजा मकवानपुरबाट ०५२ मा चितवनको माडी आएर बसिन् । तर, सरकारी निकायले मागेका कागजात पूरा गर्न नसक्दा उनले पनि आफ्नो नागरिकता लिन सकेकी थिइनन् । अहिलेसम्म उनीसँगै उनको परिवारको सदस्यले पनि नागरिकता बनाएका थिएनन् । 

हनुमानझुलाकी ००७ सालकी फूलमाया प्रजा सदरमुकाम जाने खर्च नहुँदा नागरिकता नबनाएको बताउँथिन् । तर, माडी नगरपालिकाको समन्वयमा भएको नागरिकता सहजीकरण कार्यक्रममार्फत उनीहरूजस्तै एक सय ८६ जना उमेर पुगेर पनि नागरिकता नपाएका नेपाली नागरिकले नागरिकता पाएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार नागरिकता पाउनेमा एक सय १६ वर्षका महिला र ७० वर्षका पुरुष छन् । उनका अनुसार ९० वर्षका वृद्धवृद्धासमेत पहिलोपटक नागरिकता लिन आएका थिए । यो क्षेत्रमा ६ सय २८ घरधुरी छ । बिहीबारदेखि सञ्चालन भएको कार्यक्रम सेवाग्राहीको भिड बढ्दै गएकाले तीन दिनसम्म सञ्चालन गरिएको थियो ।

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यक्रमको उद्घाटन गरेका थिए । माडी सदरमुकाम वसन्तपुर बजारदेखि ३५ किलोमिटर टाढा छ । यहाँ पुग्न पुल नभएका दर्जन बढी खोला र निकुञ्जभित्रको कच्ची बाटोको यात्रा तय गर्नुपर्छ । 

अहिले नागरिकता प्राप्त गरेका ज्येष्ठ नागरिकमा खुसीको सीमा छैन । ‘नागरिकता नपाएरै मर्छु जस्तो लागिरहेको थियो,’ हरिमाया प्रजाले भनिन्, ‘अब सिरानीमै नागरिकता राखेर सुत्छु ।’ उनले बुढेसकालमा भए पनि नेपाली नागरिक हुन पाएकोमा खुसी व्यक्त गरिन् । गाउँमै नागरिकता प्राप्त भएपछि उनीहरूले सामाजिक सुरक्षा भत्ता पाउने, यातायातमा छुट पाउनेलगायतका थप महत्वका बारेमा थाहा पाएका छन् । नागरिकता नहुँदा गाउँमा गठन हुने समूह, सहकारीका सेवा र मतदानबाट समेत उनीहरू वञ्चित थिए । 

उमेर, असहाय अपांगता, विकट ठाउँमा रहेका र प्रशासनको समेत पहुँच पुग्न कठिन भएका ठाउँहरूका व्यक्तिलाई केन्द्रित गरेर यो अभियान जिल्लाका सबै ठाउँमा चलाउने जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए । 

माडी नगरपालिका प्रमुख ठाकुरप्रसाद ढकालले जनतालाई घरआँगनमै सेवा दिने उद्देश्यले जिल्ला प्रशासन कार्यालयको सहयोगमा नागरिकता सहजीकरण कार्यक्रम गरेको बताए । नागरिकता लिने विपन्न परिवारलाई नगरबाटै निःशुल्क स्वास्थ्य बिमा गरिनेसमेत उनले जानकारी दिए । उमेर पुगेर पनि नागरिकता नलिएकालाई नागरिकताको महत्व दर्शाउने जनतालाई घरआँगनमै सेवा दिने उद्देश्यले सबै वडामा यो कार्यक्रम गरिने उनको भनाइ छ ।