मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक १४ आइतबार
  • Tuesday, 17 December, 2024
देवराज अर्याल
२o७८ कार्तिक १४ आइतबार o८:o८:oo
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अनुसन्धानको दायरामा मौलिक विचार

Read Time : > 4 मिनेट
देवराज अर्याल
नयाँ पत्रिका
२o७८ कार्तिक १४ आइतबार o८:o८:oo


अबका दिनमा नेपालको विश्वविद्यालय शिक्षामा नेपाली धरातलमा जन्मिएका सबै राजनीतिक विचार, दृष्टिकोण र सिद्धान्तहरूले विनापूर्वाग्रह प्रवेशको अवसर पाउनुपर्छ

मदन भण्डारीको जनताको बहुदलीय जनवाद, बिपी कोइरालाको समाजवाद, पृथ्वीनारायण शाहको देश एकीकरणको धार र महेन्द्रको राष्ट्रवादको सोचलाई नेपालको मौलिक धरातलमा विकसित ज्ञान–सिद्धान्तका रूपमा लिन सकिन्छ

विगत केही वर्षयता नेपालमा पनि अनुसन्धान कार्यलाई प्राथमिकतामा राख्न थालिएको छ । विगतमा अनुसन्धान गर्ने र गराउने संस्थाहरूको संख्या सीमित थियो । अनुसन्धान कार्यका लागि सीपयुक्त जनशक्ति, आवश्यक स्रोत–साधन, वातावरण, उत्प्रेरणा र परिपाटीको वास्तवमै अभाव थियो । तर, अहिले परिस्थिति बदलिएको छ । खासगरी, अनुसन्धान कार्य पठन–पाठन र सिकाइ प्रक्रियाभित्रकै अभिन्न अंग बनेर आएको छ ।

उच्च शिक्षा प्रदान गर्ने विभिन्न विश्वविद्यालय र कलेजहरूले पाठयक्रममार्फत अनुसन्धान कार्यलाई अनिवार्य अभ्यास बनाएका छन् । सरकारी निकाय र अन्य गैरसरकारी संस्थाहरूले पनि स्वतन्त्र ढंगबाट विभिन्न क्षेत्रमा अनुसन्धान कार्य गर्दै आएका छन् । आफैँले अनुसन्धान नगरे पनि अनुसन्धान गर्ने व्यक्ति र संस्थालाई न्यूनतमै भए पनि स्रोत÷वृत्ति उपलब्ध गराउने संस्थाहरू देखा पर्न थाल्नु उल्लेखनीय विषय हो । यही पंक्तिमा मदन भण्डारी फाउन्डेसन देखिएको छ । 

०६० सालमा स्थापित मदन भण्डारी फाउन्डेसनको प्रमुख उद्देश्य अनुसन्धान गराउने होइन । यो नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीको नाममा स्थापना भएको संस्था हो । यो संस्थाको पूर्ववर्ती रूप मदन भण्डारी अध्ययन तथा अनुसन्धान केन्द्र थियो, जुन ०५६ सालमै स्थापना भएको थियो । पछि फाउन्डेसन स्थापना भएपछि उक्त अध्ययन तथा अनुसन्धान केन्द्र फाउन्डेसनमै समाहित भयो । अनुसन्धान केन्द्रका कतिपय उद्देश्य फाउन्डेसनको पनि उद्देश्य बने । यस अर्थमा फाउन्डेसनले निर्धारित गरेका धेरै उद्देश्यमध्ये एउटा उद्देश्य मदन भण्डारीले अगाडि सारेका सोच, विचार र जनताको बहुदलीय जनवादको बारेमा अध्ययन, अनुसन्धान र विश्लेषण गर्ने पनि हो । यसै उद्देश्यअनुसार मदन भण्डारी फाउन्डेसनले अहिले अध्ययन अनुसन्धानमा सहयोग पु¥याउन अनुसन्धान वृत्ति स्थापना गरेको देखिन्छ ।

नेपालको राजनीनिक इतिहासमा मदन भण्डारीको स्थान उच्च राजनीतिक व्यक्तित्वका रूपमा स्थापित छ । भण्डारीको तत्कालीन समयमा कम्युनिस्ट आन्दोलनको मूलधार मानिएको नेकपा एमालेको प्रमुख नेता भएको आधार एकातिर छ भने अर्कोतिर राजनीतिमा नवीन विचार प्रतिपादकको पहिचान छ । पाँचौँ महाधिवेशनमा भण्डारीले पार्टीको कार्यक्रमको रूपमा प्रस्तुत गरेको जनताको बहुदलीय जनवाद आज मार्गदर्शक सिद्धान्तमा विकसित भएको छ ।

जसलाई नेकपा एमालेले मूल सिद्धान्तको रूपमा आत्मसात् गरिआएको छ । यस अर्थमा फाउन्डेसनका कामका दायरा र क्षेत्रहरूमा विशिष्टता हुनु स्वाभाविक हो । मदन भण्डारीेको विचार, सोच र सिद्धान्त समग्रतामा नेपालको राजनीतिप्रति नै लक्षित र समर्पित छ । यसको परिघेरा फराकिलो छ । तसर्थ, जनताको बहुदलीय जनवादको सिद्धान्तलाई बहुआयामिक दृष्टिकोणबाट अध्ययन, अनुसन्धान, विश्लेषण र संश्लेषण गरिनु वाञ्छनीय हुन्छ । सम्भवतः फाउन्डेसनको सोचाइ यस उद्देश्यमा संगतिपूर्ण भएकाले प्राज्ञिक अनुसन्धान प्राथमिकतामा परेको हुनुपर्छ । 

अनुसन्धान ज्ञान सिर्जनाको आधार हो । अनुसन्धानका लागि वैज्ञानिक विधि आवश्यक पर्छ । ज्ञान र सिद्धान्तको क्षेत्रमा नयाँ अवधारणाको स्थापना तथा पुराना ज्ञानहरूमा परिष्करण अनुसन्धानको उद्देश्य हो । अनुसन्धानमा तथ्यका माध्यमबाट सत्यको परीक्षण हुन्छ । यसका लागि वस्तुनिष्ठ, व्यवस्थित, प्रामाणिक र विश्वसनीय तथ्यहरूको खोजी, प्रस्तुति, विश्लेषण एवं संश्लेषणको आवश्यकता पर्छ । तथापि, यसका लागि अस्तित्वमा रहेका र क्रियान्वयनमा आइरहेका सिद्धान्तहरू मार्गदर्शक बन्छन् । ती सिद्धान्तको कसीमा विद्यमान परिस्थितिलाई मसिनो ढंगले घोटेर खोजी एवं विश्लेषण गर्नुपर्छ । 

जबजका लागि शोधवृत्ति

नेकपा एमालेको पाँचौँ महाधिवेशनपश्चात् मदन भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बुहलीय जनवादको सिद्धान्त प्रयोगमा आइरहेको छ । विश्व कम्युनिस्ट आन्दोलनमा नकारात्मक हलचल पैदा भइरहेका वेला नेपालमा जबजको कारणले गर्दा कम्युनिस्ट आन्दोलन सफलताको बिन्दुतर्फ अगाडि बढ्दै गएको दाबी छ । यति मात्र होइन, हतियारका माध्यमबाट सत्तामा जानुपर्छ भन्ने सोचाइ राख्ने शक्ति पनि प्रतिस्पर्धाको राजनीतिमा आइपुगेको धारणाले व्यापकता पाउँदै गएको छ । उल्लेखित दाबीहरूका पछाडि जबजको भूमिका यथार्थमा छ कि छैन त ? यसको सटिक उत्तरका लागि स्वतन्त्र एवं प्राज्ञिक अनुसन्धान आवश्यक छ । किनभने, जनताको बहुदलीय जनवाद नेपालको सन्दर्भमा क्रान्तिकारी र लोकतान्त्रिक धारको चिन्तनको संश्लेषित स्वरूप हो । फेरि पनि यसको प्रामाणिकताका लागि प्राज्ञिक अनुसन्धानको आवश्यकता हुन्छ । फराकिलो दृष्टिकोण, दायरा र क्षितिजमा गरिने बौद्धिक पर्यवेक्षण, सर्वेक्षण र विवेचनाबाट उक्त लक्ष्यमा पुग्न सकिन्छ ।

यतिवेला मदन भण्डारी फाउन्डेसनले त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गरी शोधवृत्ति उपलब्ध गराउने कार्यक्रम सार्वजनिक गरेको छ । स्नातकोत्तर, एमफिल र विद्यावारिधिका विद्यार्थीहरू उक्त शोधकार्यका लागि प्रतिस्पर्धी हुन सक्नेछन् । यसै वर्षदेखि सुरु हुने यो अनुसन्धान वृत्ति कार्यक्रमअन्तर्गत त्रिभुवन विश्वविद्यालयका आठवटा केन्द्रीय विभागहरू समाजशास्त्र, मानवशास्त्र, अर्थशास्त्र, पत्रकारिता, राजनीतिशास्त्र, जल तथा मौसम विज्ञान, इतिहास र श्रम अध्ययन केन्द्रीय विभागहरूसँग सम्झौता भएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध, नेपाली र अंग्रेजी केन्द्रीय विभागसँग पनि शोधवृत्तिको सम्झौताका लागि आवश्यक प्रक्रिया पूरा भइसकेको सम्बन्धित विभाग प्रमुखहरूले जानकारी दिएका छन् ।फाउन्डेसनले शोधवृत्ति कार्यलाई व्यवस्थित गर्न मदन भण्डारी फाउन्डेसन अध्ययन अनुसन्धान कार्यविधि ०७८ जारी गरेको छ । केन्द्रीय विभाग, फाउन्डेसन र विद्यार्थीहरूबीच सहजीकरणका लागि एउटा समन्वय समितिले काम गर्नेछ । खासगरी, प्रशासनिक प्रक्रिया मिलाउन र साहित्य पुनरावलोकनका लागि सामग्रीहरू खोजी गर्न समन्वय समितिले सहजीकरणको भूमिका निर्वाह गर्नेछ ।

शोधवृत्तिअन्तर्गत क्रमशः स्नातकोत्तरलाई ६० हजार, एमफिललाई एक लाख र पिएचडीलाई ३ लाख एकमुष्ट अनुदान प्रदान गरिने जनाइएको छ । यद्यपि, शोधप्रस्ताव छनोटमा भने निश्चित प्रकारको प्रावधान राखिएको छ । निश्चत रूपमा मदन भण्डारीका विविध आयाम, जनताको बहुदलीय जनवाद र यससँग सम्बन्धित क्षेत्र अनुसन्धानका लागि तोकिएको विषय÷क्षेत्र हुनेछन् । तथापि, विभिन्न प्रकारका विषय र विद्याको प्रकृतिअनुसार अवधारणात्मक संरचना तयार गर्नुपर्ने हुन्छ । यही विषयलाई पत्रकारिता र आमसञ्चारको शोधार्थीले राजनीतिक सञ्चारको आयामबाट विश्लेषण गर्न सक्छन् । सवालहरूको कभरेज, अन्तरवस्तुको विश्लेषण, प्रभाव, परिवर्तन र सान्दर्भिकताको दृष्टिकोणले अध्ययन गर्न सकिन्छ । त्यही विषयलाई इतिहासका विद्यार्थीले तुलनात्मकलगायतका अवधारणाहरूबाट अध्ययन गर्न सक्छन् । समाजशास्त्र, राजनीतिशास्त्रमा यो विषयको अझ बढी सम्भावना छ । यसैबाट जनताको बहुदलीय जनवादको सान्दर्भिकता र यसको प्रभावलाई आकलन गर्न सकिन्छ । 

अनुसन्धानका थप मौलिक क्षेत्र

मदन भण्डारी र जबजको बारेमा अनुसन्धानको सन्दर्भ चलिरहँदा बिपी कोइरालाको समाजवादको योगदान र सान्दर्भिकता अध्ययनलाई नजरअन्दाज गर्नु हुँदैन । यो देशको राजनीतिलाई निरंकुशताको कठघराबाट लोकतान्त्रिक आलोकमा ल्याउन र आर्थिक विकासको यात्रालाई सुरुवात गर्नमा समाजवादको चिन्तनधारले निश्चय नै भूमिका निर्वाह गरेको छ । तथापि, अनुसन्धानविनाको दाबी फगत अतिरञ्जना मात्र हुने भएकाले यो विषयमा पनि अनुसन्धानको आवश्यकता छ । भुल्न नहुने पक्ष के भने समाजवाद र जनताको बहुदलीय जनवादका बीचमा पनि केही खास सवालहरूमा तादाम्यता देखिन्छ । यसकारण राजनीतिक आग्रह र पूर्वाग्रहबाट अलि पृथक् राखेर अन्तर–वैचारिक तहबाट पनि अनुसन्धान आवश्यक छ । अबका दिनमा नेपालको विश्वविद्यालय शिक्षामा नेपाली धरातलमा जन्मिएका सबैले राजनीतिक विचार, दृष्टिकोण र सिद्धान्तहरूले विनापूर्वाग्रह प्रवेशको अवसर पाउनुपर्छ ।

नेपाल क्षेत्रफलको हिसाबले सानो भए पनि यहाँ राजनीति, आर्थिक र सामाजिक क्षेत्रमा केही नवीनतम् सिद्धान्त विकासित भएका छन् । मदन भण्डारीको जनताको बहुदलीय जनवाद, बिपी कोइरालाको समाजवाद, पृथ्वीनारायण शाहको देश एकीकरणको धार र महेन्द्रको राष्ट्रवादको सोचलाई नेपालको मौलिक धरातलमा विकसित ज्ञान सिद्धान्तका रूपमा लिन सकिन्छ । यसैगरी, अन्य क्रान्तिकारी चिन्तन र ज्ञान पद्धतिहरू पनि रहेका छन् । यी सोच, अवधारणा र सिद्धान्तलाई मूल प्रवाहीकरणमा विकसित गर्नका लागि यसका विविध आयामहरूको अनुसन्धान गर्नुपर्ने हुन्छ । यसमा मदन भण्डारी फाउन्डेसन मात्र होइन, बिपी कोइराला प्रतिष्ठान, जिपी कोइराला फाउन्डेसन एवं गणेशमान फाउन्डेसनलगायत अन्य संस्थाले पनि अग्रसरता लिए भने मौलिक सिद्धान्तहरूको विश्वव्यापीकरण अर्थात् मूल प्रवाहीकरणमा ठोस योगदान पुग्ने अपेक्षा राख्न सकिन्छ । 

वास्तवमा नेपाल पूर्वीय ज्ञान–सिद्धान्तको भूगोल हो । ज्ञानको गहिराइ र विहंगमताको आधारमा तुलना गर्दा एसियाली भूगोल निकै नै समृद्ध छ । तथापि, अहिलेका हाम्रा अनुसन्धानहरू युरोपेली ज्ञान–सिद्धान्तबाट बढ्ता प्रेरित छन् । जसकारण हाम्रा अनुसन्धान मौलिक ज्ञानको सिर्जना गर्नमा समर्थ हुन सकिरहेका छैनन् । यस्तो अवस्थामा अनुसन्धानको क्षेत्रमा रहेको पुरानो प्याराडाइममा नयाँ दृष्टिकोण, प्रयोग र अभ्यासको आवश्यकता छ । यो भनेको पूर्वीय ज्ञान र सिद्धान्तमा आधारित अनुसन्धान प्रवृत्तिलाई अगाडि बढाउने नै हो । (लेखक पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग, त्रिविका उपप्राध्यापक हुन्)