Skip This
सहरभन्दा डाँडाकाँडामा रमाउँदै पर्यटक
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक १३ शनिबार
  • Sunday, 07 July, 2024
२o७८ कार्तिक १३ शनिबार o९:१५:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

सहरभन्दा डाँडाकाँडामा रमाउँदै पर्यटक

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक १३ शनिबार o९:१५:oo

पोखरावरिपरिका उच्च भेगमा होटेल, रिसोर्ट, होमस्टेलगायतका पूर्वाधारको विकास हुँदै गएपछि आन्तरिक पर्यटक मुख्य सहरमा भन्दा केही टाढा रमाउन थालेका छन् 

पर्वतका दीपक शर्मा सार्वजनिक बिदाको दिन पारेर परिवारसहित मेथलाङ उक्लिए । शर्माले पोखरा मुख्य सहरबाट तीन किलोमिटरको दूरीमा रहेको उत्तर–पश्चिमतर्फको मेथलाङको टापु रेस्ट्रो एन्ड कटेजमा पुगेर पिङ खेले, हातजस्तो बनाइएको संरचनामा बसेर फोटो खिचाए । उनी मात्र होइन, अहिले पोखरा बजार र हिमाल एकसाथ देख्न र स्वच्छताको अनुभव गर्न दैनिक हजारौँ मानिस पोखराको मेथलाङ, काहुँ, सराङकोट, अनदु, पुम्दी र रूपाकोटलगायतका क्षेत्रमा पुग्ने गरेका छन् । 

अघिल्लो हप्ता नवलपुरबाट साथीहरूसहित पोखरा घुम्न आएका विशाल अर्याल बिहीबार अनदुको डाँडामा रहेको विश्व शान्ति स्तूप र त्यसभन्दा पर रहेको पुम्दीकोटको विशाल महादेव मन्दिरपरिसर पुगे । पुम्दीकोट पुगेर हेर्दाको आनन्द आफूले बिर्सन नसक्ने उनको अनुभव छ । त्यसवेला पानी परिरहेकाले अझ राम्रोसँग दृश्य देख्न नपाएकोमा थकथकाउँदै उनले आकाश खुलेका वेला कुनै दिन पुगेर अझै धित मरुन्जेल दृश्यावलोकन गरेर फर्कने योजना साँचिरहेका छन् । ‘पुम्दीकोट र विश्व शान्ति स्तूपबाट हेर्दा ताल र सहरको दृश्य लोभलाग्दो छ । त्यही भएर यतिका मान्छे यहाँ आउँदा रहेछन्,’ अर्याल भन्छन्, ‘पानी परेकाले र बादल लागेकाले यसपालि हिमाल देख्न पाइएन । अर्कोपटक आएर दिनभर यहाँबाट हिमाल, ताल र पोखर नियाल्दै रमाउने रहर छ ।’

पोखरा २२ पुम्दीका स्थानीय भवानी बरालका अनुसार अहिले दिनहुँ दुई हजारभन्दा धेरै मानिस पुम्दीकोटको विशाल महादेव मन्दिरको अवलोकन गर्न पुग्ने गरेका छन् । उक्त स्थानमा होटेल पूर्वाधार बन्ने क्रममा रहेकाले पर्यटकहरू नजिकको होमस्टेमा बस्ने गरेका छन् । स्थानीयस्तरमा उत्पादन भएका फलफूल र तरकारी आजकल आउने आन्तरिक पर्यटकले गाउँबाटै लैजाने गरेका छन् । ‘यहाँ कति मानिस आउँछन् भन्ने ठ्याक्कै रेकर्ड राख्ने गरिएको छैन । तर, बिदाका दिनमा तीन हजारभन्दा धेरै नै आउँछन् । अन्य दिन भने केही कम आउँछन्,’ उनी भन्छन्, ‘यसरी यो डाँडामा मानिसहरू आउलान् भन्ने हामीले सोचेकै थिएनौँ । अहिले यहाँ जे उत्पादन हुन्छ, त्यो सबै आउने मानिसहरूले नै कोसेलीका रूपमा हात–हातमै लैजाने गरेका छन् ।’ कोभिड–१९ को कहर मत्थर भएसँगै पोखराका डाँडाहरूमा आन्तरिक पर्यटकको ओइरो नै लाग्ने गरेको छ । 

एउटा त्यस्तो समय थियो, पोखरामा पर्यटकीय क्षेत्र भन्नेबित्तिकै लेकसाइड मात्रै बुझिन्थ्यो । त्यसमा पनि गोरो छालालाई प्राथमिकता दिइन्थ्यो । नेपालीलाई पर्यटकका हिसाबले व्यवहार गर्ने प्रचलन र सोच नै थिएन । पोखराआसपासका डाँडामा राम्रा स्तरीय होटेलसहितका पर्यटकीय र दर्शनीय स्थलहरू सञ्चालनमा आएसँगै आँखैअगाडि सुन्दर हिमाल, हरियाली डाँडा, पोखरा सहरको दृश्यावलोकन गर्दै बस्न पाइने भएपछि पर्यटकको रोजाइमा वरपरका डाँडा पर्न थालेका हुन् । 

लेकसाइडका होटेलको पनि आफ्नै विशेषता रहेको जिकिर गर्दै यसरी डाँडाकाँडा पुगेर एक रात भए पनि लेकसाइड बस्न आउने पर्यटक धेरै नै रहेको उनी सुनाउँछन् । ‘सूर्योदयलगायतका दृश्यावलोकन डाँडामा लगेरै देखाउनुपर्छ । लेकसाइड बसेर फेरि अवलोकनका लागि झिसमिसे किन उकालो लाग्नु । त्योभन्दा अघिल्लै दिन डाँडैतिर गएर बसौँ भन्ने मनोविज्ञान पनि होला । तर, उहाँहरू फेरि भोलिपल्ट आएर लेकसाइडका होटेलमा बस्ने गर्नुभएको छ । यहाँको विशेषता बेग्लै छ,’ उनी भन्छन् ।  

१० हजार मानिसका लागि पूर्वाधार 
पोखराआसपासका पर्यटकीयस्तरका होटेलहरू र होमस्टेलगायतका पूर्वाधारहरूलाई हेर्ने हो भने मुख्य सहरभन्दा बाहिर १० हजारभन्दा धेरै पर्यटक राख्ने पूर्वाधार अहिले रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराई बताउँछन् । पर्यटकीयस्तरका तारे होटेलहरूमै पोखरावरपर दुई हजारभन्दा धेरै पर्यटक राख्ने बेड रहेको पश्चिमाञ्चल होटेल संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । साथै, होमस्टे र सामान्य होटेल पूर्वाधार धेरै नै बनेको उनको भनाइ छ । 

सोधपुछ गर्नेको चासो नै डाँडाकाँडा
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराई आन्तरिक पर्यटकले पोखराभन्दा थोरै बाहिर दुई–तीन किलोमिटर टाढा त्यस्तो होटेल छ–छैन भनेर सोध्न थालेको बताउँछन् । मुख्य सहर मानिसहरूले घुमघाम गरिसकेकाले पर्यटकलाई नयाँपन चाहिएको उनको बुझाइ छ । साथै, नेपाली पर्यटकका लागि अहिले स्थानीय स्वाद चाहिएको उनी बताउँछन् । ‘केही फरक ठाउँ, केही फरक र स्थानीय विशेषताको स्वाद आज पर्यटकले खोजिरहेका छन् ।

मुख्य सहरबाट केही बाहिरको स्थानमा पूर्वाधार बन्ने क्रम पनि त्यसै हिसाबले बढेको छ । त्यही भएर अहिले थोरै बाहिर पर्यटकको आकर्षण छ । यो अझै बढेर जान्छ,’ उनले भने । केही नयाँ खोज्ने मानिसको स्वाभाविक प्रकृति रहेको उनको टिप्पणी छ । अध्यक्ष भट्टराईले अहिले घान्द्रुक र धम्पुसलगायत वरपरका ठाउँमा जानेहरू अत्यधिक रहेको बताए । उनले भने, ‘पोखरावरपर घान्द्रुक, धम्पुस र यस्तै अन्य ठाउँ यतिवेला पर्यटकको रोजाइमा छ । हामीले पूर्वाधार निर्माणमा अझै ध्यान पु¥याउने हो भने पर्यटक त्यतातर्फ अझै धेरै जान्छन् ।’

ad
ad
ad
ad