नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकता पाएजस्तै भूमिहीन सुकुमबासीहरूले लालपुर्जा पाउने प्रक्रिया छिट्टै सुरु हुने बताएका छन् । चितवनको माडी– ९ हनुमानझुलामा नागरिकता वितरण सहजीकरण कार्यक्रमको उद्घाटन गर्दै प्रचण्डले नयाँ सरकार र आयोगले चितवनका जनतालाई प्राथमिकतामा राखेर लालपुर्जा दिने काम अघि बढाएको बताएका हुन् ।
उनले भने, ‘मैले नयाँ सरकार गठन भएलगत्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री र आयोगका सदस्यहरूलाई चितवनका सुकुमबासी जनताको समस्यालाई प्राथमिकताको साथ अध्ययन गरेर सोको समाधानको निम्ति तदारुकतासाथ पहल गर्न कुरा गरेको छु । सोहीअनुसार उहाँहरू चितवन आएर सुझाब संकलन गरेर पनि जानुभएको छ । सम्भवतः छिट्टै भूमि आयोगले पूर्णता पाउनेछ र आज जसरी तपाईंहरूले नागरिकता प्राप्त गर्ने प्रक्रिया सुरु भएको छ त्यसरी नै लालपुर्जा पाउने पक्रिया पनि छिट्टै सुरु हुनेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु ।’
उनले सम्बोधनको क्रममा माडीको विकास निर्माण अघि बढिरहेको बताए । उनले औपचारिकतामा मात्र सीमित नहुने गरी नागरिकता नभएका सबै उमेर पुगेका नागरिकले नागरिकता पाउने गरी नगरपालिका र जिल्ला प्रशासनको समन्वयमा प्रक्रिया अघि बढाउनसमेत अनुरोध गरे ।