१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक ११ बिहीबार
  • Saturday, 06 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक ११ बिहीबार १५:o५:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

चिनियाँ धानको बिउ रोपेका किसानको पीडा : धान भित्र्याउने समयमा बाला नै लागेन (भिडियो)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक ११ बिहीबार १५:o५:oo

तराईका किसानहरू बेमौसमी वर्षाका कारण धानबालीमा क्षति भएपछि निराश भइरहेको वेला उपत्यका आसपासका किसान पनि धानकै कारण निराश हुनुपरेको छ। भक्तपुर र ललितपुरका किसानले रोपेको धानमा बाला नलागेपछि यहाँका किसान चिन्तित बनेका हुन्। ललितपुरको चापागाउँ, लेले र भक्तपुरको चाँगुनारायण क्षेत्रका अधिकांश फाँटमा धानको बाला नै लागेको छैन। ललितपुर र भक्तपुरका किसानले चिनियाँ डिवाई २८ जातको धान रोपेका थिए। धेरैजसो किसानले चाइनिज धानको बिउ रोप्दा फसादमा परेका छन्।

गत वर्ष यही जातको धानले राम्रो उत्पादन दिएको थियो। यो वर्ष पनि किसानले सोही जातको धानको बिउ रोजेका थिए। तर, दुःख गरेर रोपेको धान उपत्पादन हुने वेलामा नफलेपछि किसानहरू मर्कामा परेका हुन्। चाँगुनाराण क्षेत्रमा करिब दुई सय रोपनीमा किसानहरूले यही जातको धान रोपेका थिए। तर, गाँजिएको धान उपत्पादन हुने वेलामा हरियो भएपछि किसानहरू निराश छन्। सयौँ रोपनी खेतमा रोपेको धानको बिउ नै खराब भएपछि उत्पादन नै नभएको किसानको गुनासो छ। धेरैजसो किसानलाई चाँगुनायारण नगरपालिकाले पनि बिउ वितरण गरेको थियो। 

नगरपालिकाले खुमलचार, खुमल दश, एघार र टाइचिन दुई सय ४२ जातको धान चार टन वितरण गरेको थियो। यसबाहेक अन्य धान किसानहरू आफैँले एग्रोभेटहरूबाट खरिद गरेर रोपेका थिए। डिवाई २८ जातको चाइनिज धान रोप्नेहरू मर्कामा परेका हुन्। जिल्लाभरि १५ सय रोपनी खेतमा डिवाई २८ जातको धान रोपिएको थियो। उक्त धान रोपिएको ठाउँमा उत्पादन नै नभएको चाँगुनारायण नगरपालिकाले जनाएको छ। नगरपालिकाका कृषि विकास शाखा प्रमुख श्रवणकुमार पासवानले आफूखुसी धानको बिउ लगाउँदा किसानहरू मर्कामा परेको बताए।  उनले यसबारेमा कृषि मन्त्रालयलाई नगरपालिकाले खबर गरेको र गलत बिउ वितरण गर्ने कम्पनीहरूलाई कारबाही हुने उनको भनाइ छ। ‘किसानहरू आफ्नै जिद्दीले ठगिएका हुन्, हामीले सिफारित तथा वितरण गरेको बिउ नरोप्नेहरू अहिले समस्यामा छन्,’ उनले भने। उनले किसानहरूको पीडालाई  कृषि मन्त्रालयमा पुर्‍याउने र उनीहरूलाई राहतकोसमेत व्यवस्था गर्न पहल गर्ने बताए। 

फल लागेर पाक्ने वेलामा धान हरियो हुँदै गएको ललितपुर चापागाउँका उदय देसारले बताए। उनले वरिपरिमा सबैले सोही जातको बिउ रोपेका कारण आफूले पनि त्यही रोप्दा घाटा भएको गुनासो गरे। उनले भने, ‘सबैतिर धान पाकिसकेको छ, तर यहाँका खेतमा धान हरियो छ, यसपटक धानको बिउको जात परिवर्तन गरेको डुबायो।’ उदयको मात्रै होइन, चापागाउँ तथा लेले क्षेत्रमा धेरैजसो किसानलाई यसपटक धानले बाला नहाल्दा चिन्ता बढेको छ। लेले र चापागाउँ क्षेत्रका रोपिएको धानमा बाला नै नलागेको स्थानीय अजय देसारले जानकारी दिए। उनले यस क्षेत्रको तीन सय रोपनी हाराहारी खेतमा रोपिएको धानको बाला रित्तै रहेको बताए। 

‘सबैतिर धान पाकेको छ, हामीकहाँ रोपेको धान पनि पाक्ने वेला भएको हो, तर यसपटक खेतमा जान मन लाग्दैन, बिउ खराब पर्नाले उत्पादन नै भएन,’ उनले सुनाए। फलेर पाक्ने वेलामा धान हरियो रहेपछि किसानहरू मर्कामा परेका छन्। किसानहरूका अनुसार ललितपुर लगनखेलस्थित काठमाडौं एग्रोबाट धेरैजसाले धानको बिउ खरिद गरेका थिए। भक्तपुर र ललितपुर किसानले उक्त धानको बिउलाई प्रतिकिलोको नाै रुपैयाँका दरले किनेका थिए। धेरै धान फल्ने आशामा नयाँ जातको धान रोपेका किसानहरूले धान नै नफल्दा दुःख व्यक्त गरेका छन्। 

गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले किसानले आफूखुसी गलत धानको बिउ रोप्न फसेको बताए। उनले करिब ११ सय रोपनीमा रोपिएको धानले उत्पादन नै नदिएको बताए। ‘नगरपालिकाले गत वर्ष वितरण गरेको, यसपटक हामीले वितरण गरेनौँ,’ उनले भने, ‘त्यसरी नफल्ने धानको बिउ वितरण गर्नेमाथि कारबाही हुन्छ।’
 

ad
ad
ad
ad