मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ कार्तिक ११ बिहीबार ११:२०:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

 २० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ कार्तिक ११ बिहीबार ११:२०:००

नेपाल राष्ट्र बैंकले आज  २० अर्बको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ । बैंकले यही कात्तिक २५ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको हो । बैंकिङ प्रणालीमा तरलता व्यवस्थापनमा समस्या देखिँदा तरलता प्रवाह गर्न केन्द्रीय बैंकले केही समय अघिदेखि निरन्तर गर्न रिपो जारी गर्दै आएको छ । बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका स्वीकृतप्राप्त बैंक वित्तीय संस्थाले भाग लिन पाउने बैंकले जनाएको छ ।

तरलता अभावले बैंक तथा वित्तीय संस्थामा निक्षेपको चाप परेको देखिन्छ । केन्द्रीय बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा बैंकहरूले कर्जा निक्षेप अनुपात ९० प्रतिशत कायम गर्नुपर्ने अवस्थाका व्यवस्थापनमा समेत बैंकलाई अप्ठ्यारो परेको देखिन्छ । राष्ट्र बैंकको तथ्यांकअनुसार हाल बैंकका औषत कर्जा निक्षेप अनुपात ८९ दशमलव १५ छ ।  बजारमा नयाँ निक्षेप नआएको र राष्ट्र बैंकले तोकेबमोजिम कर्जा निक्षेप अनुपात कायम गर्नुपर्नेलगायतका समस्याले बैंकले निक्षेपको ब्याजसमेत बढाउनुपरेको बैंकरहरू बताउँछन् ।

निक्षेप बढाउन र आफ्नो निक्षेप बाहिर जान नदिन बैंक तथा वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिकको सुरुवातमै निक्षेपमा दुई अंकको ब्याजदर तोकेका थिए । यसरी बैंक तथा वित्तीय संस्थाले ब्याजदर असाधारण  रूपमा बढाएको जनाउँदै व्यवस्थित गर्न राष्ट्र बैंकले तीनबुँदे निर्देशन नै जारी गरेको थियो । हाल अधिकांश बैंकले निक्षेपमा अधिकतम नौ दशमलव ३६ प्रतिशत ब्याज दिँदै आएका छन् । बैंकिङ प्रणालीमा तरलता असहज हुँदा राष्ट्र बैंकले लगातार रिपोमार्फत प्रणालीमा तरलता प्रवाह गर्दै आएको छ ।  यही कात्तिक ३ गते पनि बैंकले १० अर्बबराबरको सात दिन अवधिको रिपो जारी गरेको थियो ।

तरलताको व्यवस्थापन गर्न बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तरबैंक सापटी, अस्थायी तरलता सुविधाजस्ता उपकरणको प्रयोग गर्दछन् । केन्द्रीय बैंकको तथ्यांकअनुसार हाल अन्तरबैंक सापटीको दर चार दशमलव ९६ पुगेको छ । बुधबारसम्म बैंक वित्तीय संस्थाले रु. १० खर्ब ९१ अर्ब ६४ करोड ५० लाख अस्थायी तरलता सुविधाको प्रयोग गरेका छन् । बैंक तथा वित्तीय संस्थाले यस्ता उपकरणको निरन्तर प्रयोग गरिरहे पनि तरलता व्यवस्थापन सहज हुन सकेको छैन ।