१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक १० बुधबार १२:२७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गृहले गरेको एसएसपी सिंहको सरुवा रातारात उल्टियो, गृह प्रवक्ता भन्छन्– यसबारे थाहा छैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक १० बुधबार १२:२७:००

हाल काठमाडौं परिसरको कमान्ड सम्हालिरहेका एसएसपी अशोक सिंहलाई काज सरुवा गर्ने निर्णय मंगलबार गृहले गर्‍याे । उनलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पठाउने निर्णय भएको थियो। तर, अघिल्लो दिन मात्रै गृहले गरेको सरुवा बुधबार उल्टिएको छ।

गृह मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा सिंहको काज सरुवा रोकिएको हो। ‘उहाँलाई भैरहवामा पठाउने निर्णय भएको थियो, तर प्रधानमन्त्रीको अनिच्छा देखियो,’ स्रोतले भन्यो। स्रोतका अनुसार गृहले उनको सरुवा गरेपछि मंगलबार राति उक्त विषय देउवासमक्ष पुगेको थियो। सोही आधारमा देउवाले सरुवा रोकेको स्रोतको दाबी छ।

गृहले सिंहलाई भैरहवा पठाएर उनको ठाउँमा हाल केन्द्रीय अनुसन्धान ब्युरोमा रहेका एसएसपी सुदीप गिरीलाई काज सरुवा गरिसकेको थियो। सिंहको सरुवा उल्टिएपछि गिरीको सरुवा पनि रोकिएको छ। एसएसपी सिंहले करिब एक वर्षअघि काठमाडौं परिसर प्रमुखको जिम्मा पाएका थिए। उनी परिसर सरुवा भएको एक वर्ष पुग्न चार हप्ता मात्रै बाँकी छ। सामान्यतया सरकारले सुरक्षा निकायका अधिकारी तथा कर्मचारीको सरुवा एक–एक वर्षमा गर्छ। सोहीअनुसार सिंहको पनि सरुवा हुने समय आएको हो। 

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले भने यसबारे अनिभिज्ञता प्रकट गरे। उनले सिंहको सरुवाबारे आफूलाई पत्तो नभएको बताए। उनले भने, ‘यति गम्भीर विषयमा त मलाई जानकारी हुनुपर्ने हो, तर भित्रभित्रै निर्णय भएको रहेछ भने मलाई थाहा भएन।’