गृहमन्त्री बालकृष्ण खाणले विपतसँग जुध्न तीन तहकै सरकारबीच पर्याप्त समन्वय हुनुपर्ने बताएका छन्। विगतमा भएका धेरै विपतजन्य घटनाहरू समन्वयकै अभावका कारण भएको उल्लेख गर्दै उनले त्यसको रोकथामका लागि मिलेर पूर्वतयारीमा जुट्नुपर्ने बताएका हुन्।
उनले संघ, प्रदेश र स्थानीय तहले आपसी सहकार्य गर्दा जस्तोसुकै कठिन कार्य पनि सहजै गर्न सकिने बताए। गृहले विपत् व्यवस्थापनसम्बन्धी नीतिगत सुधारसम्बन्धी बैठक राखेको थियो। सो बैठकमा खाणले स्थानीय सरकारलाई अधिकार प्रत्यायोजन गरेर मात्रै नहुने भन्दै त्यसमा समन्वय अपरिहार्य भएको बताएका हुन्। ‘स्थानीय, प्रदेश र संघ एक्लैले गरेर पनि सक्दैन, विगतको अनुभव र अवस्थालाई हेर्दा विपत् जोखिम रोक्न त्यति प्रभावकारी भएको देखिन्न,’ उनले भने, ‘त्यसैले पर्याप्त समन्वय गरौँ।’
उनले गृहअन्तर्गतको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अहिले विपतकाे अवस्थाबारे अध्ययन गरिरहेको जानकारी दिए। विपतपछिको पुनर्निर्माणमा समन्वयको अभाव देखिएको बताउँदै गृहमन्त्री खाणले सुरक्षा निकायले जसरी अन्य सरकारी निकायबीच पनि विपत् व्यवस्थापनमा समन्वय गर्न आग्रह गरे।