गुल्मीको रेसुंगा नगरपालिका– ८ का ४४ वर्षीय तिलक परियार त्यो घरमा फर्किएका छैनन्, जुन घरमा तीन छोरी गुमाए। दसैँ भर्खर सकियो। सबैले घर सिँगारेर चिटिक्क पारे, तर उनले घरतिर फर्किएर पनि हेरेनन्। पहिरोमा हुर्केका तीन छोरी गुमाए। ऋण खोजेर बनाएको घर क्षतविच्छेद बन्यो।
तिलकले गत असोज ५ गते राति घरमाथिबाट खसेको पहिरोमा १४ वर्षीया गंगा–जमुना र २१ वर्षीया छोरी भावनालाई गुमाए। छोरीहरू गुमाएपछि उनी घर फर्किएका छैनन्। ‘ठूलो दुःखले हुर्काएका छोरी नै छैनन्। मलाई त्यो ठाउँमा फर्किन मन छैन,’ उनले भने, ‘फुटेको कर्मले भत्किएको घर कसरी उठाऊँ ?’ तिलकको परिवारले तीन छोरीहरूको अभावमा मुखमै आएको दसैँ रोएरै बिताए।
तिलकले १२ वर्षको उमेरदेखि सिलाइकटाइको काम गर्दै आएका छन्। त्यही कामकै कारण गाउँबाट बजार आए। पाँच छोरीसहितको परिवारको व्यवस्थापन गरेर घर बनाउन निकै मुस्किल थियो। जात र ठूलो परिवारको कारण तम्घासमा कैयौँपटक कोठा पाएनन्। उनीसँग कोठाबाट निकालिनुपरेको तीता अनुभव छन्। जसका कारण ऋण गरेर भए पनि सानो पक्की घर बनाए। भूगोलले उनको घर सजिलोमा थिएन। न त समथरमा घडेरी किनेर घर बनाउने आर्थिक अवस्था नै थियो। ‘घरपरिवारको जोहोका बीच आर्थिक अवस्था सजिलो थिएन। त्यसैले अप्ठ्यारोमा घर बनाएँ,’ उनले भने, ‘जातले कोठा पाइनँ, विपन्नताले गर्दा राम्रो ठाउँमा घर बनाउन सकिनँ।’
चारजना छोरी एउटै कोठामा सुतेका थिए। अर्को कोठामा तिलक र श्रीमती लालमति थिए। राति एक्कासि घरमाथिबाट पहिरो खस्यो। ढोका फोरेर एक छोरीको बल्लतल्ल उद्धार गरे पनि अन्यलाई बचाउन सकेनन्। पीडामा रहेका परियार अझै व्यावसायिक जीवनमा फर्किन सकेका छैनन्। उनी अहिले जेठी छोरीकोमा बसेका छन्। घरका सामान लिन पनि गएका छैनन्। ‘अब मैले राम्रो ठाउँमा घर बनाउने कल्पना पनि गरेको छैन। पीडा भुल्न व्यवसायलाई नै अगाडि बढाउने हो,’ उनले भने, ‘म मनोरोगी नहुन पनि व्यवसाय अघि बढाउनुको अर्को विकल्प छैन।’