मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक ९ मंगलबार
  • Thursday, 19 December, 2024
मोहन विष्ट कञ्चनपुर
२o७८ कार्तिक ९ मंगलबार o६:३४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बाढीले झर्नाखोलाको पुल पहुँचमार्ग भत्कियो, स्थानीयलाई आवतजावतमा समस्या

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o७८ कार्तिक ९ मंगलबार o६:३४:oo

मनसुन सकिएपछि अनपेक्षित रूपमा परेको वर्षाले ल्याएको बाढीले कञ्चनपुरको झर्नाखोलाको पुल पहुँचमार्ग भत्किएको छ । बेलडाँडी गाउँपालिका– १ सरस्वती माविदेखि दुई कट्टा बस्ती जोड्ने झर्नाखोलामा रहेको बाढीले पुल पहुँचमार्ग भत्किएको हो ।  पुलको दायाँबायाँ सडक भत्किएसँगै स्थानीयलाई आवतजावतमा समस्या भइरहेको छ । स्थानीय दीपकराज जोशीले झर्नाखोलामा आएको बाढीले पुलको उत्तर र दक्षिणको सडक भत्काइदिएपछि आवतजावतमा समस्या भएको बताए । ‘खोलाले पुलको दुवैतर्फको सडक भत्काइदिएको छ,’ उनले भने, ‘खोलामा सिंगै पुल छ, ‘सडक पूरै भत्काइदियो ।’ स्थानीयलाई मात्र नभई विद्यार्थीलाई समेत समस्या भएको छ । सरस्वती माविसहित अन्य विद्यालयमा अध्ययनरत विद्यार्थीलाई घुमाउरो भएर विद्यालय जानुपर्ने बाध्यता छ । 

झर्नाखोलामा आएको बाढीले बेलडाँडी गाउँपालिका– १ र बेलौरी नगरपालिका– ९ उचो भागमा कटानी र होचो भागमा पटान गरिदिएको छ । बेलडाँडी गाउँपालिकाले गत आर्थिक वर्ष ०७७/७८ मा खोलामा कल्भर्ट निर्माणको योजना ल्याएको हो । चुरेसहित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भएर बग्ने झर्नाखोलाले पानीको बहाव धान्न नसक्ने सानो कल्भर्ट निर्माण योजना नै त्रुटिपूर्ण रहेको स्थानीयको भनाइ छ । खोला ठूलो छ, तर, पुल योजना सानो भएकाले सडक भत्किएर पुनः नागरिकलाई दुःख खेप्नुपर्ने बाध्यता सिर्जना भएको छ । 

गाउँपालिकाको अदूरदर्शिताका कारण नागरिकले विपद्को समस्या खेप्नुपरेको छ । बेलडाँडी गाउँपालिका प्रवक्ता अमरबहादुर खत्रीले आयोजना नै त्रुटिपूर्ण रहेको स्वीकार गरे ।  ‘नदीको बहावअनुरूप पुल निर्माण गर्नुपर्थ्याे, त्यो भएन,’ उनले भने, ‘आयोजना नै गलत हुँदा पुल भत्कियो, अब पुनर्निर्माण गर्छौँ ।’ तत्कालका लागि स्थानीयलाई आवतजावत गर्न अस्थायी प्रकृतिको पुनर्निर्माण गर्ने र पछि झर्नाखोलामा स्थायी प्रकृतिको पुल निर्माण गर्ने उनले बताए । स्थानीयले पुल भत्किएको विषयमा स्थानीय, प्रदेश र संघीय सरकार तिनका जनप्रतिनिधि कसैले समेत अनुगमन नगरिदिएको गुनासो पोखेका छन् । झर्नाखोलामा ०६५ सालदेखि बाढीले कटानी तथा पटानीको समस्याले हजारौँ बिघा उर्वरखेती नासिँदासमेत सरकारी निकायबाट त्यसको दीर्घकालीन समाधानमा चासोसमेत दिइएको छैन ।