१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक ७ आइतबार ०७:४५:००
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

आज बारका पदाधिकारीले प्रधानन्यायाधीश जबरालाई भेट्दै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक ७ आइतबार ०७:४५:००

न्यायालय सुधारका लागि १५ दिनको अल्टिमेटम दिएको नेपाल बार एसोसिएसनका पदाधिकारीले आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा भेट्दै छन् । प्रधानन्यायाधीशको पछिल्लो विवादको विषयमा प्रस्ट हुन बारले स्वयं जबरालाई भेटेरै छलफल गर्न लागेको हो । 

आफ्ना कामकारबाहीका कारण प्रधानन्यायाधीश जबरा विभिन्न विवादमा तानिएका छन् । जबराका कारण सिंगो न्यायपालिका नै बदनाम भएको भन्दै पूर्वन्यायाधीश र कानुन व्यवसायीहरूले उनीमाथि छानबिन हुनुपर्ने माग गर्दै आएका छन् । आइतबार प्रधानन्यायाधीशलाई भेटेपछि पछिल्ला विषयमा आफ्नो धारणा बनाउने बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए । बारको शुक्रबार बसेको बैठकले सर्वाेच्चमा स्वचालित पेसी प्रणाली सुरु गर्न १५ दिनको अल्टिमेटम दिने निर्णय गरेको थियो । 

शुक्रबार नै पूर्वन्यायाधीश फोरमले प्रधानन्यायाधीशका कारण न्यायालयमाथिको विश्वास नै संकटमा परेको भन्दै उनले निकास दिनुपर्ने, नत्र संसद्ले छानबिन गर्नुपर्ने माग गरेका थिए । 

न्यायपालिकाभित्रै पनि प्रधानन्यायाधीशको पछिल्ला क्रियाकलापलाई लिएर असन्तुष्टि छ । उनको कार्यशैलीबाट सर्वोच्चकै न्यायाधीशसमेत सन्तुष्ट छैनन् । संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्धका रिटमाथिको आलटाल, ती नियुक्तिमा भागबन्डा खोजेको, विवादित फैसला गरेको र पछिल्लो समय मन्त्रिपरिषद् विस्तारमा पनि हिस्सा खोजेको आरोप लागेपछि उनीमाथि पद छाड्न चौतर्फी दबाब परेको छ ।