गर्भशास्त्रमा स्नातक प्रदीप गौतमले आफूले पढेको विषयभन्दा फरक क्षेत्रलाई पेसा बनाए । पढाइअनुसारको काम गर्नेतर्फ उनको ध्यान नै गएन । तर, पढाइ सकेर आफ्नै गाउँमा केही गर्नुपर्छ भन्ने सोचलाई उनले कहिल्यै बिर्सेनन् ।
यही सोचलाई साकार गर्न बाग्लुङ नगरपालिका–७ का गौतम पढाइ सक्नासाथै गाउँ फर्किए । उनको योजनामा परिवारले पनि साथ थियो । घरकै आँगनबाट देखिने धौलागिरि हिमशृंखलालाई छेवैमा पार्ने गरी उनले रेस्टुरेन्ट खोले । उनको रेस्टुरेन्ट अहिले पञ्चकोट भ्रमणमा आउने पर्यटकले सधैँ भरिभराउ हुन्छ ।
बाग्लुङ नगरपालिका–६ को भान्सा र सिम हिमालले वरिपरिबाट घेरेकाले आफैँमा सुन्दर छ । तर पनि गाउँमा अवसर नहुँदा सुनसान जस्तै बनेको थियो । भान्साको शिरमा रहेको पञ्चकोट घुम्न आउनेबाहेक यहाँ बाहिरका अन्य मानिस मुस्किलले मात्रै गाउँमा आइपुग्थे । पञ्चकोटमा खाने बस्ने राम्रो सुविधा नहुँदा पर्यटकहरू धेरै बेर टिक्दैनथे । गौतमले पञ्चकोटनजिकै करिब ३० लाख लगानी गरेर रेस्टुरेन्ट सञ्चालनमा ल्याएपछि अर्गानिक खाना खानकै लागि पनि पञ्चकोट पुग्न थालेका छन् ।
पञ्चकोटको मानवनिर्मित विशाल मूर्ति र प्राकृतिक क्षेत्र अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकले बाह्रै महिना चहलपहल बढेको छ । पञ्चकोटमा पर्यटकीय संरचना निर्माण भएपछि यस क्षेत्रबाट बसाइँसराइसमेत रोकिएको छ । दुई वर्षयता मात्रै यस क्षेत्रमा दुई दर्जन होटेल तथा रेस्टुरेन्ट खुलिसकेका छन् । गौतमले भने, ‘मैले अन्तै लगानी गर्ने वातावरण खोजेको थिएँ, तर आँगनमै सम्भावना देखेपछि यतै लगानी गरेँ । आफ्नै गाउँ रमाइलो लाग्यो ।’
केही वर्षअघिसम्म पनि यहाँ मानिस घरजग्गा बेचेर तराई छिर्ने गर्थे । तर, पञ्चकोटको चर्चा चुलिएपछि बसाइँ सर्ने क्रम रोकिएको उनले बताए । बाग्लुङ नगरपालिका–६ का वडासचिव रुद्रबहादुर केसी पनि युवापुस्ताले आफ्नै गाउँमा लगानी गरेकोमा खुसी व्यक्त गर्छन् ।
मनोरम पञ्चकोटबाट आँखैअगाडि धौलागिरिसहित विभिन्न हिमशृंखलाको दृश्य हेर्न बाहिरको जिल्लाबाट समेत पर्यटक आउन थालेका छन् । जसका कारण गाउँको विकास हुन थालेको छ । पञ्चकोट पर्यटकीय क्षेत्रको रूपमा विकास भएपछि भान्सा क्षेत्रमा आरसिसी घर बन्न थालेका छन् । कुनै दिन बाँझो जमिन गरीखाने व्यक्ति पाउन कठिन हुने भान्सा क्षेत्रको जग्गा जमिन अहिले घडेरीको रूपमा बिक्री हुन थालेको सचिव केसीले बताए । पहिले दिउँसै चितुवा डुल्ने खरबारी पर्यटकीय क्षेत्र बनेपछि स्थानीय दंग छन् ।