कात्तिक १ गतेदेखि परेको भारी वर्षाका कारण त्यहाँ पुगेका पर्यटक सडक अवरुद्ध हुँदा अलपत्र परेका छन् । मुगुमा हवाई उडान नहुँदा ताल्चा विमानस्थलमा पर्यटक अलपत्र परेका हुन् ।
कर्णालीमा उडान भर्दै आएका चारवटा हवाई सेवा प्रदायक कम्पनीले जहाज पूर्वतर्फ लगेकाले अहिले उडान ठप्प छ । लगातारको वर्षाले स्थलमार्ग पूर्ण रूपमा बन्द छ भने जहाज नचल्दा दसैँको बिदा मनाउन राराताल पुगेका पर्यटक सातादेखि अलपत्र परेका हुन् ।
बाँकेको नेपालगन्जका सृजन खत्री काठमाडौंबाट आएका आठजना साथीसँगै मोटरसाइकलमा रारा पुगेका थिए । बाटोमा मोटरसाइकल बिग्रिए । उनका साथीहरू जहाजमार्फत नेपालगन्ज आउनका लागि तीन दिनदेखि विमानस्थलमा विमानको प्रतीक्षामा छन् । ‘जहाज नआउँदा तीन दिनदेखि विमानस्थलमै अलपत्र परेका छौँ, पैसा पनि सकियो’, उनले भने, ‘एक सातादेखि विमान नपाएर धेरैजना यहीँ हुनुहुन्छ, उद्धारका लागि धेरै ठाउँमा फोनमार्फत गुहार्यौँ, अहिलेसम्म कसैले जवाफ दिएका छैनन् ।’
जल तथा मौसम विज्ञान विभागले शनिबारदेखि फेरि मौसममा खराबी आउने पूर्वानुमान गरेको छ । मौसममा खराबी आउनेबित्तिकै ताल्चामा विमान अवतरण हुँदैन । एक सयभन्दा बढी यात्रु विमानस्थलमा उद्धारको प्रतीक्षामा छौँ । आजसम्म उद्धार नभए अझै कति दिन भोकभोकै बस्नुपर्ने हो थाहा छैन । निरन्तरको वर्षाका कारण मौसममा सुधार नहुँदा सोमबारदेखि बुधबारसम्म यस विमानस्थलमा एउटै उडान भएन । बिहीबार जम्मा दुईवटा मात्रै उडान भए । राजधानी काठमाडौं र अन्य जिल्लाबाट प्याकेजमा आएका पर्यटकलाई हवाई उडान नहुँदा सास्ती भएको उनले बताए ।
विमानस्थलमा यात्रुको चाप थेगिनसक्नुको छ । सयभन्दा बढी यात्रु विमानस्थलमा विमानको पर्खाइमा छन् । हवाईमार्गमार्फत राराताल आउने अधिकांश पर्यटक एक रात बिताएर फर्किने गरी प्याकेज बनाएका हुन्छन् । एक सातादेखि उडान भर्न नपाउँदा समस्या भएको विमानस्थल प्रमुख विशाल वरुणले बताए ।
मुगुमा नेपाल वायुसेवा निगम, समिट एयर, तारा एयर र सीता एयरले उडान भर्दै आएका छन् । बाढीपहिराका कारण विभिन्न ठाउँको स्थलमार्ग अवरुद्ध हुँदा कर्णालीमा सञ्चालन हुने हवाई सेवा प्रदायक कम्पनीले जहाज पूर्व र सुदूरपश्चिमतर्फ लगेका छन् । सीताको जहाजमा खराबी आएर नेपालगन्जमा थन्किएको छ । समिटको जहाज सुदूरपश्चिम प्रदेशमा छ । ताराको जहाजले दैनिक एकदुई उडान मात्रै गर्दै आएको मुगु विमानस्थल कार्यालयले जनाएको छ ।