![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/karnali2019-11-09-08-35-58.2020-01-28-10-28-44.jpeg)
कर्णाली प्रदेश सरकारले बेमौसमी वर्षाका कारणले अन्नबालीमा क्षति भएका किसानलाई राहत दिने निर्णय गरेको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शुक्रबार बसेको प्रदेश विपत् व्यवस्थापन परिषद्को बैठकले अन्नबालीमा क्षति पुगेका किसानलाई राहत दिने निर्णय गरेको हो।
अन्नबालीमा भएको क्षतिको यकिन विवरण संकलनपछि कृषकलाई क्षतिपूर्तिको व्यवस्था गर्ने निर्णय भएको कर्णाली प्रदेश सरकारका प्रवक्ता सीता नेपालीले बताइन्।
विपत् व्यवस्थापन परिषद्को बैठकले बाढीपहिरोलगायतको विपतमा परी निधन भएका व्यक्तिका परिवारलाई प्रदेश सरकारले गरेको सामूहिक विपत् दुर्घटना बिमाबाट प्राप्त हुने दुई लाख रुपैयाँ तत्काल उपलब्ध गराउने र विपतमा परी घाइते भएकाहरूको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने प्रवक्ता नेपालीले जानकारी दिइन्।
त्यस्तै, विपतका कारण अवरुद्ध भएका सडक, पुल, खानेपानी, सिँचाइ र विद्युत् पूर्वाधारको मर्मतसम्भार गरी तत्काल सुचारु गर्ने र पूर्ण रूपमा क्षति भएका घरहरूको विवरण संकलन गरी संघीय र स्थानीय सरकारसँग समन्वय गरी पुनर्निर्माण तथा पुनर्स्थापना गर्ने गर्ने प्रवक्ता नेपालीले बताइन्।
विपतका कारण क्षतिग्रस्त विद्यालय भवन र स्वास्थ्य चौकीका भवनको लगत संकलन गरी पुनर्निर्माणको व्यवस्था मिलाउने निर्णय भएको उनले जानकारी दिइन्।